शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

सरकारले तोक्‍यो गहुँको समर्थन मुल्य, किसानलाई फाइदा हुने अपेक्षा

काठमाडौँ : सरकारले चालू आर्थिक वर्षका गहुँको समर्थन मुल्य  तोकेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीण्टल तीन हजार एकसय ११ रुपैयाँ तोक्ने निर्णय गरेको हो ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा फागुन २० गते बसेको मन्त्रिपरिषद्‍बाट समर्थन मुल्य तोकिएको सरकारका प्रवक्ता तथा सञ्‍चारमन्त्री पार्वत गुरुङले आइतबार मन्त्रालयको नियमित पत्रकार सम्‍मेलनमा जानकारी दिए । 

चालु आर्थिक वर्षमा भारतबाट गहुँको आयात अस्वाभाविक मात्रामा भइरहेको छ । गहुँको समर्थन मुल्य बढाउँदा किसानले लाभ लिने अपेक्षा गरिएको छ । गत बैशाखमा सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको थियो । आर्थिक वर्ष ०७४/०७५ मा सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल २ हजार ५७१ रुपैयाँ तोकेको थियो ।

भन्सार विभागका अनुसार गहुँको मात्रै ६ अर्ब ५४ करोड रुपैयाँको आयात भएको थियो । जबकी पोहोर सात महिनामा ३ अर्ब ३ करोड रुपैयाँ बराबर गहुँ भित्रिएको थियो । गहुँको आयातमा यति ठुलो परिमाणमा बढेको यो पहिलोपटक भने होइन । गत आर्थिक वर्षमासमेत गहुँको वृद्धि अप्रत्याशित नै थियो ।  अघिल्ला आर्थिक वर्षका तथ्यांक हेर्दा औषत डेढ अर्ब रुपैयाँको मात्रै गहुँ भित्रिने गरेको उल्लेख छ  ।