संघीय सरकारले सडक नबनाउँदा बुटवलका मेयर भए अलोकप्रिय

बुटवल - संघीय सरकारको क्षेत्राधिकारमा पर्ने बुटवलको मुख्य सडकका कारण बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी अलोकप्रिय बनेका छन् । संघ सरकारले बनाउनुपर्ने आयोजना समयमै नबनाइँदा यसको दोष नागरिक स्तरबाट बुटवलका मेयरले खेप्नुपरेको हो ।
स्थानीय तह निर्वाचनका लागि बुटवल उपमहानगरपालिका प्रमुखमा फेरि दोहोरिन चाहेका सुवेदीलाई यो सडक नै मुख्य तगारो बनेको छ । उपमहानगरको क्षेत्रभित्र पर्ने भित्री सडकहरूमा थुप्रै काम भए पनि मुख्य राजमार्ग क्षेत्र अस्तव्यस्त हुँदा बुटवलवासीले मेयरले केही गर्न नसकेको आरोप लगाउँदै आएका छन् । जसका कारण उनले टिकट पाउने सम्भावनासमेत कमजोर बनेको आंकलन गर्न थालिएको छ ।
रुपन्देहीको बुटवलमा सडक क्षेत्रभित्र परेका घरमा डिभिजन सडक कार्यालयले डोजर लगाएको भत्काएको एक वर्ष बित्यो । तर, घर भत्काएको ६ महिनासम्म ठेकेदार कम्पनीले सडक निर्माणको कामलाई अगाडि बढाउनुको साटो बेपत्ता भयो । त्यसपछि सम्पर्कमा आए पनि ठेकेदारले काम अगाडि बढाएन ।
यो सडक निर्माणको ठेक्का साढे तीन वर्षअघि नै द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो । कम्पनीका सञ्चालक सुमित श्रेष्ठले यसअघि अब काम अगाडि बढाउने प्रतिबद्धता जनाए पनि काम नगरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । 'अब असारपछि नयाँ टेण्डर प्रक्रिया सुरु हुन्छ,' उनले भने ।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम लामो समय रोकिएको थियो । पछिल्लो पटक सडक विस्तार आयोजनाले गत वर्षको पुसमा घरधनीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । उक्त म्यादमा केही घर धनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन सुरु गरे पनि केहीले अटेर गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी सडक मिचेर बनाएका घर टहरा भत्काइएको थियो ।
पछिल्लो रिट निवेदनमा गत वर्षको असार ९ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गतवर्षको पुस २० गते गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।
उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक क्षेत्र मिचेकोमा सबै घर भत्काइसकिएको छ । सडक निर्माणको जिम्मा पाएको कन्जनजंघा बिरुवा जेभिले पेश्कीस्वरुप आठ करोड रुपियाँ लगिसकेको छ । उसले ४१ करोड २३ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । आगामी असारसम्म सडक बिस्तारको काम सक्ने गरी ठेकेदारलाई कार्यादेश दिइएको थियो ।
स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा बुटवलकै बाटो देखाएर विपक्षीले ‘प्रहार’ गिरहेको छ । आफ्नै क्षेत्राधिकार नभएको सडककै कारण बुटवलका नगर प्रमुख सुवेदीले अपजस पाइरहेका छन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीका अनुसार मुख्य राजमार्ग क्षेत्रमा संघ सरकारले काममा ढिलाइ गरे पनि बुटवलका आन्तरिक बाइपास सडक भने सुन्दर बनेका छन् । नगर प्रमुख सुवेदीले अबको एक महिनामा मुख्य राजमार्ग बाहेक बुटवलका सबै बाटोहरू नाली सहित फराकिला र चिटिक्क बन्ने बताए ।
उनले बुटवलको सडकमा संघीय सरकारले, सडक विभागले ठेक्का लगाएका ठाउँमा दोहोरो खर्च गर्न नपाइने भएकाले आफैँले लगानी गर्न नसकेको बताए । 'यही सडकले बुटवलवासीलाई अन्याय भएपछि मैले संघीय सरकारलाई भनेको छु, ठेकेदारलाई निलम्बन गरेर बुटवललाई अख्तियारी दिनुस् । डेढ महिनामा सडक पिच हुन्छ । तर विभागले यो सुन्दैन,' उनले भने ।
एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा सडक बन्न नदिन गृहजिल्ला रुपन्देहीका काँग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले भूमिका खेलिरहेको पनि एमाले वृत्तमा चर्चा छ । 'विष्णु पौडेललाई असफल देखाउन गृहमन्त्री खाणले सडक बन्न नदिन सरकारमा बसेर भूमिका खेलिरहेको हाम्रो आशंका छ,' एमाले बुटवल उपमहानगरकमिटीका एक पदाधिकारीले भने । न्युज कारखाना

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया