बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

भारतद्वारा विस्फोटक पदार्थ निर्यातमा रोक, नेपालका विकास निर्माण प्रभावित हुने

काठमाडाै– भारतले यही चैत ३० गतेदेखि लागू हुने गरी विस्फोटक पदार्थ निर्यातमा प्रतिबन्ध लगाएको छ । यसबाट विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने नेपालको पूर्वाधार विकास निर्माणका कार्य प्रभावित हुने भएको छ ।

भारतको पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले अर्काे सूचना जारी नभएसम्म क्लास–२ प्रकारको विस्फोटक पदार्थ निकासीमा रोक लगाउने निर्णय गरेको हो । भारतको उद्योग तथा आन्तरिक व्यापार प्रवद्र्धनका लागि अतिरिक्त सचिव, नयाँ दिल्लीको अध्यक्षतामा गत अप्रिल १२ मा बसेको बैठकको निर्णयअनुसार उक्त प्रतिबन्ध लगाइएको हो ।

‘क्लास–२ विस्फोटक पदार्थका सबै उत्पादक/निर्यातकर्तालाई थप निर्देशन नदिएसम्म दिइएको निर्यात अनुमतिपत्र विरुद्ध विस्फोटक पदार्थको निर्यातलाई स्थगनमा राख्न सल्लाह दिइन्छ,’ निर्णयमा छ । के कति कारणले विस्फोटक पदार्थ निकासीमा रोक लगाउनु परेको भन्नेबारे पत्रमा खुलाइएको छैन । 
भारतले निकासीमा रोक लगाएको क्लास–२ को विस्फोटक पदार्थ अन्तर्गत कालो पाउडर, सुरक्षा फ्यूज, प्रज्वलनशील तार, फ्यूज लाइटर र प्र्दर्शन आतशबाजी पर्छन् ।

विस्फोटक पदार्थ तीन प्रकारका मानिएको छ । क्लास–१ मा उच्च विस्फोटक पदार्थ डाइनामाइट, फ्ल्यास पाउडर पर्छन् । क्लास–३ मा अमोनियम नाइट्रेट फ्यूल तेलजस्ता विस्फोटन गराउने तत्वहरु हुन्छन् । 

भारतको यो निर्णयले नेपालमा जलविद्युत्, सडक, सुरुङ मार्गजस्ता भौतिक पूर्वाधार निर्माण प्रभावित हुने देखिएको छ । नेपाली सेनाले उत्पादन गर्ने विस्फोटक पदार्थको कच्चा पदार्थ पनि भारतबाटै आयात हुने गर्छ ।

नेपालमा हाल ३ हजार मेगावाटभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन छन् । तीमध्ये अधिकांश भूमिगत संचरना (विद्युत् गृह र सुरुङ) निर्माण गर्न विस्फोटक पदार्थ नभई हुँदैन ।