शिक्षा

उद्यमशीलताको विषयमा हल्ट प्राइज टक शृंखलाको दोस्रो सत्र सम्पन्न

इकागज | पुस २६, २०७९

काठमाडौंँ - हल्ट प्राइज एट आई.ओई पुल्चोक क्याम्पसले उद्यमशीलताको विषयमा दोस्रो सत्र सम्पन्न गरेको छ । आई.ओ.ई पुल्चोक क्याम्पसले परिकल्पनाको समूह विषयमा उद्यमशीलता टक सिरिजको दोस्रो सत्र सञ्चालन भएको हो ।

गत शनिबार इन्ट्रान्स क्याफे चाकुपाट ललितपुरमा भएको कार्यक्रममा आफ्नो समूहमा के-कस्ता मानिस राख्ने ? कार्य विभाजन कसरी गर्ने ? कार्यको निगरानी कसरी राख्ने ? लगायतका विविध विषयमा जानकारी दिइएको थियो । अन्तरक्रियात्मक रहेको उक्त कार्यक्रममा सहभागीहरूले आफ्ना अनुभवहरू व्यक्त गरेका थिए ।

निःशुल्क आयोजित उक्त सत्रमा वक्ताको रुपमा अर्बन गर्लका सह–संस्थापक किरण तिम्सिना र ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरीको उपस्थिति रहेको थियो । सो कार्यक्रको छलफलमा सहभागीलाई पुरस्कारको व्यवस्था समेत गरिएको थियो । कार्यक्रममा बोल्दै ह्याप्पी माइन्ड्सकी संस्थापक गिरीले बलियो टोली निर्माणको महत्त्वलाई जोड दिएकी थिइन् । टिम बलियो नहुँदा विभिन्न समस्याहरू सिर्जना हुने उल्लेख गर्दै उनले उद्यमको यात्रामा आएका चुनौतीहरूको बारेमा चर्चा गरिन् । उनले मनोवैज्ञानिक सुरक्षा, एसडब्लुओटी विश्लेषण, र टोली निर्माण गर्दा भएको परिदृश्यको बारेमा समेत सहभागीहरूलाई जानकारी गराएकी थिइन्।

अर्बन गर्लका सिटिओ तथा सह–संस्थापक किरण तिम्सिनाले प्रविधि र विश्वव्यापी श्रम शक्तिको भविष्यबीचको सम्बन्धमा आफ्नो दृष्टिकोण राखेका थिए ।

कार्यक्रममा बोल्दै उनले भने 'प्रविधिको विकास वा घट्दो विश्वव्यापी श्रम कार्यशक्तिको माध्यमबाट सम्भव भएसम्म मानिसलाई क्रमशः मेसिनहरूले प्रतिस्थापन गर्न बाध्य छन्। त्यसकारण, अब भविष्यमा टिक्ने मानवद्वारा व्यवस्थित उच्च कुशल मेकानिक निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ।'

सत्र जीवन्त छलफल र सहभागीहरू द्वारा व्यक्तिगत अनुभवहरूको सेयर गरिएको थियो। विद्यार्थीहरू दिगो विकास गर्न र केही चुनौतीपूर्ण विश्वव्यापी समस्याहरूमा सहयोग गर्न ऊर्जावान बनाउने उद्देश्यले सो सत्र आयोजना गरिएको थियो।