चिलिमेको बिजुली निर्यात गर्न भारतले दियो अनुमति

इकागज | कात्तिक १७, २०७९

काठमाडौंँ - भारतले वर्षायाम सकिएपछि २२ मेगावाटको चिलिमेको बिजुली निर्यात गर्ने अनुमति दिएको छ ।  भारतको केन्द्रीय विद्युत् प्राधिकरणले गत कात्तिक १४ गते नेपाल विद्युत् प्राधिकरणलाई पत्र लेखी चिलिमे विद्युत् गृहबाट उत्पादित बिजुली उसको डे अहेड ऊर्जा विनिमय (इनर्जी एक्सचेञ्ज) बजारमा अनुमति दिएको हो ।

प्राधिकरण स्रोतका अनुसार भारतीय प्राधिकणले गरेको निर्णयको लिखित जानकारी प्राधिकरणले हालै पाएको हो ।  चिलिमेसमेत गरी अब प्राधिकरणले आगामी अप्रिल महिनासम्म २८५.४४ मेगावाट बिजुली निर्यात गर्न पाउनेछ । २२ मेगावाटको जडित क्षमता भए पनि चुहावट कटाउँदा चिलिमेको वास्तविक कारोबार २१.४४ मेगावाट हुनेछ । 

निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युतगृहबाट उत्पादित १००.९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ । 

यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला,  २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरे पनि चिलिमेको मात्र अनुमति दिएको हो । अप्रिलपछि पनि निरन्तर निर्यात गर्न पुनः भारतको अनुमति चाहिन्छ । यस्तो अनुमति नदिएकै कारण यस वर्षको वर्षायाममा नेपालको करिब ८ सय मेगावाट बिजुली खेर गएको प्राधिकरणले जनाएको छ । 


प्राधिकरणले चिलिमेसहित निजी क्षेत्रका आठवटा उत्पादन केन्द्रबाट उत्पादित कुल २१२.७ मेगावाटको बिजुली बिक्रीका लागि उसको केन्द्रीय प्राधिकरणमा प्रस्ताव गरेको छ । गत जुलाईदेखि नेपालको विद्युत् प्रणालीमा आन्तरिक रुपमा खपत हुन नसकी केही बिजुली ‘जगेडा’ हुँदै आएको छ । तर यस्तो जगेडा यही नोभेम्बर अन्त्यसम्म मात्र हुनेछ ।

आगामी डिसेम्बरदेखि २ सय देखि ५५० मेगावाट बिजुली आयात गर्नका लागि प्राधिकरणले टेण्डर गरिसकेको छ । भारतका सरकारी कम्पनीको सिण्डिकेटमा नेपाललाई बिजुली बेच्न गरिएको प्रस्तावमा भारतको ऊर्जा विनिमय (आईईएक्स) को औसत मूल्यभन्दा प्रतियुनिट दोब्बर बढी राखिएको छ । प्रतियुनिट १६ रुपैयाँसम्म प्रस्तावित ती टेण्डरको मूल्यांकन भने नेपाल विद्युत प्राधिकरण गरेको छैन ।

अब आधा घण्टाअघि बिड गर्न पाउने
यसैगरी भारतले उसका ऊर्जा विनिमय बजारमा ‘रियल टाइम मार्केट’ मा पनि नेपाललाई प्रवेश गर्ने अनुमति दिने निर्णय गरेको छ । भारत सरकारका कर्मचारीहरुले प्राधिकरणका कर्मचारीहरुलाई यस्तो निर्णय भएका अनौपचारिक जानकारी दिएका छन् । यसअनुसार अबदेखि प्राधिकरणले आफूले बेच्न चाहेको बिजुलीको मूल्य र परिमाण आधा घण्टा अगाडि प्रस्ताव गर्न पाउनेछ । हालसम्म नेपाल विद्युत् प्राधिकरणले एक दिन अगाडि (डे अहेड मार्केट) मा मात्र प्रस्ताव गर्न पाउँदै आएको छ । 


 

जुम्लामा बाढीपहिरोले अवरुद्ध राष्ट्रिय प्रशारणलाइन सञ्चालनमा

इकागज | कात्तिक १२, २०७९

जुम्ला- बाढी पहिरोले अवरुद्ध भएको राष्ट्रिय प्रशारण लाइन सञ्चालनमा आएको छ । कर्णाली राजमार्गसँगै विद्युतसम...

रसुवागढी जलविद्युत् आयोजनाको विजुली उत्पादन यही वर्षभित्रै

इकागज | कात्तिक १२, २०७९

रसुवा- उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षमै विद्...

कांग्रेसको संकल्पपत्र : मासिक ५० किलोवाट आवर बिजुली निःशुल्क दिइने

इकागज | कात्तिक १२, २०७९

काठमाडौँ- सरकारले यसअघि घोषणा गरेजस्तै आगामी पाँच वर्षभित्र कूल दश हजार मेगावाट बिजुली उत्पादन गर्ने ल...