रिमेकको पछि बलिउड, सलमानदेखि सोनमसम्म गर्दैछन् विदेशी फिल्म रिमेक
मुम्बई - रिमेक फिल्म कम गर्ने अभिनेतामा पर्छन् ऋतिक रोशन । उनले सन् २०१४ मा हलिउड फिल्म ‘नाइट एन्ड डे’को रिमेक ‘ब्याङ ब्याङ’मा अभिनय गरेका थिए र यो फिल्म त्यो सालको कमाउने फिल्मध्ये एक थियो । तर यो साल रिलिज भएको ‘विक्रम वेधा’ले भने त्यो इतिहास दोहोर्याउन सकेन ।
सन् २०१७ मा रिलिज भएको सोही नामको यो फिल्मले बक्स अफिसमा पत्याउनै नसकिने गरी कम व्यापार गर्यो । तर ताजा खबरअनुसार ऋतिक रोशन फेरि एक पटक हलिउड रिमेकमा आँखा लगाइरहेका छन् । खबरअनुसार विशाल राना नामका एक निर्माताले सन् २००२ को सुपरहिट फिल्म ‘दि ट्रान्सपोर्टर’को रिमेक अधिकार खरिद गरेका छन् र फिल्मका लागि ऋतिक रोशन, टाइगर श्राफ र रनवीर सिंहलाई लिने गृहकार्य सुरु गरेका छन् । तर यी मध्ये कुनै अभिनेताले फिल्म खेल्ने सम्झौता गरेको खबर भने आइसकेको छैन ।
बलिउडमा विदेशी फिल्मको रिमके गर्ने परम्परा नौलो होइन । बलिउडले थुप्र्र विदेशी फिल्मलाई हिन्दी भाषामा बनाएको छ । तर पहिला यही काम अनधिकृत हुन्थ्यो भने अहिले निर्माताले रिमेक अधिकार लिएर यो काम गर्ने गरेका छन् । आउँदो वर्ष मात्र बलिउडमा आधा दर्जन बढी फिल्म आउँदैछन् जुन हलिउड र बाहिरको देशमा बनिसकेका फिल्म हुन् ।
लामो समयदेखि रिमेकको रुपमा चर्चा पाएको फिल्म हो ‘दि इन्टर्न’ । रबर्ट डी निरो र एनी ह्याथवे अभीनित यो फिल्मको बलिउड रिमेकमा अमिताभ बच्चन र दीपिका पादुकोनले अभिनय गरेका छन् । यो फिल्मको सुटिङ भइसकेको छ र सन् २०२३ मा प्रदर्शनमा आउने चर्चा छ ।
तेलगु फिल्म ‘अर्जुन रेड्डी’को रिमेक ‘कबिरसिंह’ले अकल्पनीय सफलता हात पारेपछि साहिद कपुरले तेलगुकै ‘जर्सी’को हिन्दी भर्सन पनि खेल्ने निर्णय गरेका थिए । तर यो फिल्मले बक्स अफिसमा ऐया पनि भन्न पाएन । तर साहिद फेरि एक पटक रिमेकको भरमा छन् र यसका लागि उनले छानेका छन् फ्रेन्च एक्सन फिल्म ‘ब्लड ड्याडी’ । यो फ्रेन्च फिल्म ‘स्लिपलेस नाइट’को रिमेक हो ।
आउँदो साल विवाह गरेर बच्चा जन्मिएपछि अभिनयबाट टाढिएकी सोनम कपुरले पनि अभिनयमा कमव्याक गर्दैछिन् । यसका लागि उनले छानेकी छिन् कोरियन फिल्म ‘दि ब्लाइन्ड’ । बलिउडमा यो फिल्म यही नाममा प्रदर्शन हुनेछ । सलमान खान अभीनित फिल्म जति झुर भए पनि सय करोड, दुई सय करोड कमाइहाल्छन् । तर सलमान खानले निर्माताको रुपमा भने यसरी कमाउने अवसर विरलै पाएका छन् । उनले निर्माण गरेका फिल्म धेरै जसो फ्लप नै भएका छन् ।
यसमा केही रिमेक पनि पर्छन् । जस्तो कि ‘हिरो’ । ज्याकी श्राफ र मिनाक्षी शेषाद्री अभीनित यो फिल्मलाई सलमान खानले रिमेक गरेका थिए तर फिल्मले सलमानलाई डुबायो । योबाहेक ‘नोटबुक’, ‘जय हो’ , ‘ट्युबलाइट’ आदि फिल्म पनि पर्छन् जसले उनको बैंक खाता घटाउने काम गरेका थिए । तर सलमानले फेरि एक पटक हलिउड फिल्मको रिमेक गर्ने तयारी गरेका छन् । यो फिल्मको नाम रहेको छ, ‘कोडा’ । यो फिल्ममा सलमानले आफ्नी भान्जी अलिजा अग्निहोत्रीलाई डेब्यू गराउने चर्चा छ ।