हलिउड/बलिउड

१६ वर्षमै मर्लिन मुनरोले यसकारण गरेकी थिइन् विवाह

इकागज | असार २१, २०७९

अमेरिका :  मर्लिन मुनरोको जीवनीमा बनेको फिल्म ‘ब्लोन्ड’ केही समयपछि नेटफ्लिक्समा प्रदर्शन हुँदैछ । मर्लिनको भूमिका यो फिल्ममा एना डे आम्र्सले निर्वाह गरेकी छिन् । 

फिल्ममा अत्यधिक सफलता पाए पनि व्यक्तिगत जीवनमा सधैँ दुःख पाएकी मर्लिनले जीवनमा तीन चोटि विवाह गरिन् र तीनै सम्बन्धमा धोका पाइन् । ड्रग्स ओभर डोजका कारण उनको कलिलै उमेरमा मृत्यु भयो । तर कसै कसैले भने मर्लिनले आत्महत्या गरेको पनि भन्ने गरेका छन् । 

उनले पहिलो विवाह १६ वर्षको कलिलो उमेरमा गरेकी थिइन् । आफूभन्दा ५ वर्ष जेठो जेम्स डोरोथीसँग उनले विवाह गर्ने कारण प्रेम थिएन, स्वतन्त्रताको खोजी थियो । आफ्नी आमासँग चिनजानमा रहेका जेम्ससँग मर्लिनले भेटेको केही समयमा नै विवाह गरेकी थिइन् । 

मर्लिन सानोमा विभिन्न ‘फोस्टर होम’मा हुर्किएकी थिइन् । बाबु आमा नभएका वा भएर पनि पालन पोषण गर्न नसक्ने बच्चाहरूलाई ‘फोस्टर होम’मा राखेर हुर्काइन्थ्यो । तर ‘फोस्टर होम’मा रहँदा मर्लिनले अनेक हिंसा सहनु परेको थियो । उनले जेम्ससँग विवाह गर्न राजी हुनुको कारण यही ‘फोस्टर होम’ थियो । विवाह गरेर बाहिर निस्कन पाए स्वतन्त्र भएर बाँच्न पाइन्छ भन्ने मर्लिनको चाहाना थियो ।

नभन्दै विवाहपछि जेम्स–मर्लिन लसएन्जल्समा कोठा लिएर बस्न थाले । तर यसरी बस्न थालेको केही समयपछि नै जेम्स अमेरिकी नेभीमा भर्ना भएपछि मर्लिन र जेम्स छुट्टिए । यसरी छुट्टिएको केही समयपछि फोटोग्राफरको आँखामा परेपछि मर्लिन मोडलिङ हुँदै फिल्ममा प्रवेश गरेकी थिइन् ।  यसपछि थप दुई विवाह गरेकी मर्लिन बच्चा खेर गएपछि विरक्त हुँदै नशाको संगतमा पुगेकी थिइन् । यही नशा बढी भएपछि जगमगाउँदो फिल्म करिअर र जीवनबाट उनले बिदा लिएकी थिइन् । 
 

जुरीले खोले जोनीसँग एम्बरले मुद्दा हार्नुको रहस्य :  उनका गोहीका आँशुले हामीलाई वाक्क बनायो

इकागज | असार ४, २०७९

लसएन्जल्स - हलिउड अभिनेता जोनी डेप र एम्बर हर्डको मानहानीको मुद्दा एम्बरलाई हराउँदै छिनोफानो भयो त...