घटना-दुर्घटना

मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

इकागज | बैशाख १४, २०८१

गोरखा- पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग१३प ९३२५ नंको मोटरसाइकल गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका–११ स्थित चौधकिलो भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी मोटरसाइकल चालक सिरानचोक गाउँपालिका–७ नयाँसाँघु बस्दै आउनुभएका ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको उनले बताए । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट झन्डै २० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सीता गहतराजको घाइते भएकी छन् । उनको गोरखा अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।