घटना-दुर्घटना

सडक मार्ग मृत्युको पासो बन्दै, संसद्‌ले भन्दा सडकले राज्य खोज्दै

दुर्गा आचार्य | चैत १०, २०८०

दुर्घटना १

केही दिनअघि बागलुङको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा बस दुर्घटना भयो । रुकुम पूर्वबाट काठमाडौँ आउँदै गरेको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो ।

दुर्घटना २

सुनसरीको इटहरीबाट धरान हुँदै भोजपुरको चुहारसम्मका लागि हिँडेको को १ ज २५९३ नम्बरको बोलेरो दुर्घटना हुँदा आठ जनाको मृत्यु भयो । चैत १ गते उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा बोलेरो दुर्घटना भएको थियो ।

दुर्घटना ३ 

गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । बाटोको दुरावस्था र घुम्तीका कारण उक्त दुर्घटना भएको थियो ।

पछिल्लो समय मुलुकभर विभिन्न स्थानमा सडक दुर्घटनाका घटनाहरू वृद्धि हुँदै गइरहेका छन् । यसका मुख्य कारण साँघुरो सडक, अव्यवस्थित सडक, तीव्र गति, क्षमताभन्दा बढी यात्रु राख्ने, फितलो ट्राफिक चेकजाँच र ट्राफिक नियम उल्लंघन नै सडक दुर्घटना भएको विभिन्न समयमा सार्वजनिक भएका प्रतिवेदनले जनाएको छ ।

त्रासलाग्दो तथ्यांक

सडक सुरक्षामा संवेदनशील नहुँदा हरेक वर्ष सडक दुर्घटनाकै कारण थुप्रैले ज्यान गुमाउने गरेका छन् । मुख्यतया दुईपाङ्ग्रे र यात्रुवाहक सवारीसाधन दुर्घटना हुँदा मृत्यु हुने संख्या बढ्दै गएको छ । मानवीय क्षति धेरै गराउने सवारी साधनमा भने यात्रुवाहक सवारी साधनको संख्या धेरै रहेको छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार करिब ६ वर्षमा एक लाख १२ हजार २३१ वटा सवारीसाधन दुर्घटना भएका छन् । १४ हजार ९४ जनाले ज्यान गुमाएको र ३२ हजार १०२ जना गम्भीर घाइते छन् । ८६ हजार ७९६ जना साधारण घाइते भएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा जम्मा १३ हजार ३६६ सवारी साधनहरू दुर्घटनामा परेका थिए । दुई हजार ७८९ जनाको मृत्यु भएको थियो भने चार हजार ३७६ जना गम्भीर घाइते भएका थिए । २०७६/०७७ मा १५ हजार ५५४ सवारी साधन दुर्घटनामा परेका थिए । दुई हजार २५१ जनाको मृत्यु भएको थियो भने चार हजार ६१५ जना गम्भीर घाइते भए । 

आर्थिक वर्ष २०७७/७८ मा २० हजार ६४० सवारी साधन दुर्घटनामा परेका थिए भने दुई हजार ५०० जनाको मृत्यु भएको छ । ६ हजार ४४८ जना गम्भीर घाइते भएका थिए ।  यस्तै, २०७८/७९ मा २४ हजार ५३७ सवारी साधन दुर्घटनामा परेका थिए । दुई हजार ८८३ जनाको मृत्यु भएको थियो भने सात हजार २८२ जना गम्भीर घाइते भएका थिए । 

२०७९/०८० मा २३ हजार ५९७ वटा सवारी साधन दुर्घटनामा परेका छन् । जसमा दुई हजार ३६८ जनाको मृत्यु भएको छ भने पाँच हजार ७३८ जना गम्भीर घाइते भए ।

चालू आर्थिक वर्षको सात महिनामा १४ हजार ५३७ सवारी साधनहरू दुर्घटनामा परेका छन् । जसमा १ हजार ३०३ जनाको मृत्यु भएको छ भने तीन हजार ६४३ जना गम्भीर घाइते भएका छन् ।

किन बढ्याे दुर्घटना ?

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकाल सवारी दुर्घटना एउटै कारणले नहुने बताउँछन् । चालक, सवारी साधन, यात्रु, सडकको अवस्था, मौसम र चौपायाका कारण दुर्घटना बढेको उनको भनाइ छ ।

सडक सवारी विज्ञ आशिष गजुरेलले भने सडक प्रयोगकर्ताहरूले अनुशासन पालना नगर्दा सडक दुर्घटना बढेको बताए । सवारी साधनको अवस्था, सडक प्रयोगकर्ताको अनुशासन, सडकको दुरावस्था, नक्कली लाइसेन्स, ट्राफिक प्रहरी प्रविधि मैत्री नहुनु, गाडीको तीव्र गतिका कारण दुर्घटना बढेको उनको भनाइ छ । 

‘सवारी चालकले लागूपदार्थ, मादक पदार्थ खाने, लाइसेन्स नक्कली ल्याएर चलाउने, ओभरस्पिड, चालकको अहमता बढी हुँदा सवारी दुर्घटना बढेको छ,' उनले भने ।  

यता, यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मानवीय त्रुटि, सडक प्रयोगकर्ता, सडकमा बिस्कुन सुकाउने, डिभाइडर जता पायो त्यतै राख्ने र मेसिनरी कारणले दुर्घटना बढेको बताए । 

चालक किशोर पनेरुले बब्लिङ (पिचभित्र पानी वा ठूलो गाडीले हिँड्दा सडककाे साइडमा निस्किएको फाेका)का कारण सवारी दुर्घटना हुने गरेको बताए । ‘सडकमा हुने विभिन्न खाल्डोहरूको अनुमान नहुँदा यस्तो हुन्छ,’ उनले भने, ‘कहिलेकाही जोल्डिङमा परेर पनि सवारी दुर्घटना हुन्छ  ।’ सडक पुनर्निर्माणका क्रममा राखिएका सामग्रीहरूले पनि सवारी दुर्घटना हुने गरेकाे उनले बताए ।

दुर्घटनामा मर्ने नागरिकमाथि विभेद

सरकारले सडक दुर्घटनामा मृत्यु भएका नागरिकमाथि विभेद गरेको गजुरेलको आरोप छ । हवाई यात्रु मर्दा जाँचबुझ आयोग गठन गरेर दुर्घटनाको कारण खोजिन्छ तर सडक दुर्घटना किन भयो भनेर वास्तै नगरिने उनले बताए ।

सरकारले नै विभेदको नीति अंगीकार गरेको उनको आरोप छ । ‘प्लेन चढ्ने धनी वर्गले हो’ उनले भने, ‘सार्वजनिक यातायात चढ्ने गरिबले हो त्यसैले सरकारले खासै चासो राख्दैन ।’

महासंघका उपाध्यक्ष सिटौला नागरिकको जीवनमा सरकारले विभेद गरेको बताउँछन् । सडक दुर्घटनाबारे कुनै आयोगहरू बनाएर अध्ययन हुँदैन सरकारले नागरिकको मृत्युमाथि पनि विभेद गरेको उनले आरोप लगाए ।

‘हवाई सुरक्षालाई जति ध्यान दिइन्छ त्यति सडकलाई पनि दिनुपर्छ,' उनले भने, ‘सरकारचाहिँ जनताको जिउ धनको सुरक्षाका लागि भनिन्छ तर नागरिक मर्दा पनि विभेद गर्छ ।’

हवाई दुर्घटना हुँदा सरकारले तत्काल मन्त्रिपरिषद् बैठक डाँकेर जाँचबुझ आयोग गठन गर्ने परम्परा नै स्थापित छ । तर, सडक दुर्घटनाको भयानक स्वरूप देखिँदा सरकारले भने खासै ध्यान नदिएको सिटौला बताउँछन् । 

‘दुर्घटनामा अकालमा ज्यान गइरहेको छ, राज्यले ठूलो आर्थिक क्षति ब्यहोरिरहेको छ । तर, सरकारले भने यसलाई समस्या नै मानेको जस्तो देखिँदैन,' उनले भने । 

छैन सुरक्षित सडक

नेपालमा झन्डै ३३ हजार किलोमिटर बढी सडक छन् । जसमध्ये कालोपत्रे सडकको करिब १८ हजार किलोमिटर पुगेको छ । देशभर ग्राभेल सडकको ७ हजार ९५६ किलोमिटर र ८ हजार ६६४ किलोमिटर सडक कच्ची छ ।

मुख्य राजमार्गबाहेक ग्रामीण सडकहरू ग्राभेल र कच्ची छन् । तिनीहरू साँघुरा र उकालो छन । सडक मापदण्ड अनुसार बनेका छैनन् । ग्रामीण सडकहरू सवारी साधन हिँड्ने मात्रै हुन्छन् गुड्ने छैनन् । सवारी साधन हिँड्ने सडकमा तीव्र गतिमा सवारी साधन गुडाएपछि दुर्घटनाको जोखिम बढी हुने गजुरेल बताउँछन् ।

मोफसलका सडकका कुरा के गर्नु काठमाडौंको चन्द्रागिरिबाट मकवानपुरको चित्लाङ जोड्ने २२ किलोमिटर लामो गणेशमान सिंह मार्ग डरलाग्दो छ । थानकोटबाट सुरु हुने यो सडक चन्द्रागिरी पहाडसम्म उकालो छ, त्यसपछि ओरालो छ ।

सडकको अवस्था धेरै जोखिमपूर्ण भए पनि छोटो दूरी हुने भएकाले काठमाडौंबाट मकवानपुरको हेटौंडा, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्ला जाने जिपहरू यही सडकबाट चल्छन् । यति छोटो दुरीको सडकलाई पक्की बनाउने तर्फ सरकारको ध्यान जान नसक्दा नागरिकलाई धराप थापेको जस्तो मात्रै भएको छ ।

ट्राफिक प्रहरीको व्यवहार

कहिलेकाँही ट्राफिक प्रहरीको अहमताले पनि दुर्घटना हुने गरेका छन् । केही दिनअघि कोटेश्वरमा भएको दुर्घटनामा ट्राफिक प्रहरीले समेत ज्यान गुमाएका थिए । गजुरेलका अनुसार ट्राफिक प्रहरीमा मानवीय  व्यवहारको समस्या छ । आवश्यक ठाउँमा आफ्नो स्वभाव देखाउने गरेका छन् । कोटेश्वर दुर्घटनालाई मात्रै लिएर ट्राफिक प्रहरीको बद्‌नाम गर्न नहुने उनी बताउँछन् ।

यता चालक पनेरु ट्राफिक प्रहरीहरू कारबाही गर्नभन्दा पनि थोरै घुसमा बिक्री हुँदा पनि दुर्घटना बढेको आराेप लगाउँछन् । ‘सवारी चेकजाँच गर्दा समस्या आए सवारी साधनलाई कारबाही पो गर्ने हो,’ उनले भने, ‘थोरै पैसा लिएर ट्राफिक प्रहरीले छाड्दा अलि पर गएर सवारी दुर्घटना भएको पाइन्छ ।’ 

नेपाल प्रहरीका प्रवक्ता ढकालले प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चालकलाई जनचेतना फैलाउने, तालिमहरू सञ्चालन गर्ने, ट्राफिक नियम लागू गर्ने गरिरहेको बताए । ट्राफिक नियम पालना गराउन तीव्र रुपमा लागि परेकाे उनको भनाइ छ ।  

'पछिल्लो समय प्रहरीले ट्राफिक सचेतनाका अभियान पनि बढाएको छ,' उनले भने, 'दुर्घटनालाई पूर्णतयाः रोक्न नसकिए पनि क्षति कम गर्न लागिपरेका छौँ ।'

न्यूनीकरणका लागि के गर्ने ?

सरकार सडक दुर्घटनाप्रति संवेदनशील नभएको गजुरेल बताउँछन् ।  'सुरक्षित सडक निर्माण राज्यको प्राथमिकतामा नै परेन,' उनले भने, 'सडक बनाउने काम मात्र भयो, सुरक्षित सडक निर्माणतर्फ कहिल्यै सरकारको ध्यान पुगेन ।' यात्रुलाई बचाउने सडकभन्दा गाडी गुडाउने सडक बनेको उनले बताए ।

सडक सुरक्षा गर्न सडक सुरक्षा परिषद्लाई गठन गरेर मात्रै हुँदैन कानुन बनाएर क्रियाशील बनाउन उनले माग गरे । २४सैँ घण्टा सडक सुरक्षा हेर्ने निकाय खडा गर्न उनले सुझाए ।

‘सडक सुधार गर्ने, सवारी साधनको चेकजाँच तीव्र रुपले गर्ने, प्रविधि मैत्री हुने, दुर्घटनापछिकाे उद्धार संयन्त्रलाई बलियो बनाउनुपर्छ,' उनले भने, ‘सवारी चालक र अन्य  सडक प्रयोगकर्तालाई तालिम दिने, गोष्ठीहरू गर्ने, सकारात्मक हुनलाई तालिमहरू दिने , नियमको विषयमा प्रचार प्रसार गर्ने र नियम मिच्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’

महासंघका उपाध्यक्ष सिटाैला सरकारले छुट्टै डेस्क बनाएर दुर्घटना नियमन गर्ने निकाय बनाउनुपर्ने बताउँछन् । 'किन, के कारण दुर्घटना भयाे कुनै अध्ययन हुँदैन,' उनले भने, सरकारले छुट्टै संयन्त्त बनाएर सिरियस भएर लाग्नुपर्छ । 

यातायात मन्त्रालयका प्रवक्ता उमेशविन्दु श्रेष्ठले सडक दुर्घटना र मानवीय क्षति न्यूनीकरण गर्न सडक सुरक्षा परिषद् अत्यावश्यक रहे पनि कानुन नहुँदा यसले काम गर्न नसकेको बताए ।  २० हजार बढी सवारी  दुर्घटना हुँदा दुई हजार पाँच सय जनाले ज्यान गुमाउने उनको भनाइ छ ।

उपचारका क्रममा मृत्यु हुनेको संख्या यकिन राख्न नसकेको उनले बताए । उनले भने, ‘यसलाई न्यूनीकरण गर्ने भनेको सडक सुरक्षा परिषद्ले नै हो । यो गठन पनि भएको छ । सञ्चालनका लागि कानुन नै बनेको छैन । बजेट पनि छैन ।’

बेलबारी घटना : आमा मारेर बुबाले आत्महत्या गरेपछि ‘टुहुरो’ भए ८ वर्षीय बबिन

इकागज | चैत ७, २०८०

विराटनगर -  बेलबारीका ८ वर्षीय बबिन लिम्बू। उनी ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बू...

नर्स हत्या प्रकरणमा संलग्न रहेका प्रेमी होटलमा झुण्डिएको अवस्थामा भेटिए

इकागज | चैत ५, २०८०

काठमाडाैँ - माेरङ​काे विराटनगरमा एक स्टाफ नर्स हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी झुण्डिएको अवस्थामा फेल...