पूर्वाधार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति

इकागज | फागुन २२, २०८०

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० प्रतिशत र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ । 

आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५० प्रतिशत काम सकिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार पूर्वी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी, बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न भागमा गरी १२ किलोमिटर दुईतर्फी र आठ किलोमिटर एकतर्फी खण्ड कालोपत्र सकिएको छ । 

आगामी वैशाख मसान्तसम्म दमौली बजारसम्म कालोपत्र गरिसक्ने लक्ष्य लिइएको छ । त्यसका लागि दमौली बजारमा सडक मापदण्डभित्रका घर भत्काउने काम जारी छ । दमौली बजारमा ७५ घरटहरा हटाइनेछ । अन्यत्र कामले गति लिए पनि दमौली बजारमा घर भत्काउन ढिलाइ हुँदा काम हुनसकेको थिएन । अहिले घरधनी स्वयंले घर भत्काउन सुरु गरिसकेकाले त्यसपछि दमौली खण्डमा पनि कामले गति लिने पाण्डेको भनाइ छ ।
 
पूर्वी खण्डका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । कुल ४१ दशमलव ४५ किमि लम्बाइको यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । सो खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । 

पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म पनि कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्र भइरहेको छ । पोखरा खण्डमा पनि केही दूरीमा कालोपत्र भएको छ । पश्चिम खण्डमा हालसम्म एकतर्फी छ किलोमिटर सडक कालोपत्र भएको छ । 

पश्चिम खण्डका इञ्जिनियर एवं आयोजनाका सूचना अधिकारी नारायण पौडेलले यस खण्डमा पनि कालोपत्रको कामलाई तीव्रता दिइएको बताए । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । 

यस खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म  छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो । रासस

काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम २०८३ चैत मसान्तभित्र सक्ने सरकारको दाबी

इकागज | फागुन १८, २०८०

काठमाडौँ - सरकारले काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम २०८३ चैत मसान्तभित्र सम्पन्न हुने दावी गरे...

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता

इकागज | फागुन १३, २०८०

म्याग्दी- बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ तिप्ल्याङमा घरटहरा हटाउन...

हुलाकी सडक सम्पन्न भए पनि मुआब्जा नपाएपछि बाराका पीडित आन्दोलित

इकागज | फागुन १०, २०८०

बारा- बाराको तामागढी-सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हालसम्म नपाएको ...