त्रिचन्द्रलाई जोगाउन माग गर्दै नागरिक सरोकार समूहले भेट्याे प्रधानमन्त्री
काठमाडौँ- नागरिक सरोकार समूहको प्रतिनिधि मण्डलले त्रिचन्द्र कलेजलाई जाेगाई दिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीलाई भेट गर्दै समूहको प्रतिनिधि मण्डलले त्रिचन्द्र कलेजको भौतिक संरचना धराशायी हुनबाट जोगाउन र यसको जमिनमा थप अतिक्रमण हुन नदिन माग गरेका हुन् । संयोजक डा मधु घिमिरेको नेतृत्वमा गएको उक्त प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार वयोवृद्ध डा. मृगेन्द्र राज पाण्डे, पूर्व मन्त्री डा प्रकाश चन्द्र लोहनी, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमा, प्रा सुरेश राज चालिसे लगायतका सदस्यहरू रहेका थिए ।
१०३ वर्ष पहिलेको यो पुरातात्त्विक भवन २०७२ साल वैशाख १२ गते गएको भुईँचालोपछि भग्नावशेष भइ अहिले छोडिएको अवस्था छ । यसो हुन नदिन यो भवनको जीर्णोद्धार गरी पहिलेकै रूपमा ल्याउन सरकारले यथाशक्य चाँडो कार्यको थालनी गर्नुपर्ने र सो कार्य सरोकारवालासँग पनि परामर्श र समन्वय गरी स्वीकृत गुरु योजना अन्तर्गत हुनुपर्ने आवश्यकता प्रधानमन्त्रीलाई अवगत गराएकाे छ । नेपाली चेतना उध्रिएको यो थलोको संरक्षण गाँस्ने-टाल्ने र पटके तरिकाबाट हुन नसक्ने ब्यहोरा पनि अवगत गराएकाे छ ।
नेपालको वास्तुकलाको टाइम लाइन २ हजार वर्ष अगाडिको लुम्बिनीमा रहेको अशोक स्तम्भबाट सुरु भएर नेपालको पहिलो सिमेन्ट ढलान गरिएको भवन 'सरस्वती सदन ' मा आई पुग्दाको सो भवन त्रिचन्द्र क्याम्पस परिसरमा भित्र रहेको हुँदा यो सम्पूर्ण क्षेत्र दरबार स्कुलदेखि रानी पोखरी हुँदै घण्टाघरसम्मलाई प्राज्ञिक र पर्यटन क्षेत्रको रूपमा विकास गरिनु पर्ने अवधारणा पनि प्रतिनिधि मण्डलले अवगत गरायो ।
साे समूहले त्रिचन्द्रको बागबजार, जमल र लैनचौरका जमिनहरू यस अन्तर्गत नै राखिनु पर्नेमा पनि जोड दियाे । प्रधानमन्त्री देउवाले आफू यसबारे सचेत रहेको र सरकारले सरोकार समूहसँग आवश्यक परामर्श गरी संरक्षण गर्ने वचन प्रतिनिधि मण्डललाई दिएका छन् ।