कास्कीमा बर्सेनि बढ्दैछ सवारी कारबाही
पोखरा- गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीमा सवारी कारबाहीको संख्या बढिरहेको छ । सवारीका संख्या बढ्नु र नियम मिचेर सवारी चलाएका कारण कास्कीमा दिनानुदिन सयौं सवारी चालक कारबाहीमा परिरहेका छन् ।
जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ५५ हजार बढी सवारी कारबाहीमा परेका छन् । त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा सवारी कारबाहीको संख्या २६ हजार ९ सय ९५ थियो । एक वर्षको अन्तरालमा जिल्लामा दोब्बरको संख्यामा सवारी कारबाहीमा परेका हुन् ।
आर्थिक वर्ष २०७८/७९ मा ५५ हजार ८ सय ३५ सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीमा एक वर्ष भित्रमा दुई तथा चार पाङ्ग्रे गरी सो संख्यामा सवारी कारबाहीमा परेका हुन् । यो बीचमा ९ हजार १ सय ११ ट्रक/टिपर, ११ हजार ३ सय १७ बस, १३ हजार २ सय ७४ कार/जिप तथा २ हजार २ सय ८५ ट्याक्टर कारबाहीमा परेका थिए । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी समातिएका थिए । एक वर्ष भित्रमा १९ हजार ६ सय ४८ वटा दुई पाङ्ग्रे सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए ।
जिल्लामा सोही अवधिमा मादक पदार्थ सेवन (मापसे) का कारबाही पनि ४ हजार ७ सय ६ रहेका छन् । मापसेमा मोटरसाइकल सबैभन्दा बढी दुई हजार सात सय ४१ कारबाहीमा परेका छन् भने कार/जीप एक हजार नौ सय ६५ रहेका छन् । यस्तै ट्राफिकका अनुसार सबैभन्दा धेरै जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गर्नेहरु पनि कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले नियम पालना नगर्ने तथा सवारी चालक अनुमति (लाइसेन्स)लगायत कागजात नभएकालाई पनि कारबाही गरेको हो ।
गत आर्थिक वर्षमा ९८ वटा सवारी दुर्घटनामा परेका छन् । सो दुर्घटनाबाट ५५ जनाको ज्यान गएको वरिष्ठ प्रहरी नायव निरीक्षक पाठकले जानकारी दिए । त्यसमा ४७ जना पुरुष र ८ जना महिला छन् । यस्तै गत आर्थिक वर्षमा ७९ जना गम्भीर घाइते र १३ जना सामान्य घाइते भएको पाठकले बताए । लकडाउन खुलेसँगै सवारीको चहलपहल बढेकाले गत वर्ष कारबाही र दुर्घटनाको संख्या बढी भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ मा ६४ वटा दुर्घटनामा ४३ जनाको मृत्यु भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा सवारी कारबाहीबाट ३ करोड ८५ लाख ९२ हजार राजस्व संकलन भएको छ । त्यो भन्दा अघिल्लो वर्ष २०७७/७८ मा सवारी कारबाहीबाट १ करोड ९० लाख ५९ हजार ७ सय राजस्व संकलन भएको थियो ।
सवारी दुर्घटना र जरिवाना कम गर्नका लागि ट्राफिक कार्यालयले विभिन्न सचेतनाका कार्यक्रम गरेपनि न्यूनीकरण नभएको ट्राफिक कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक पाठकले जानकारी दिए । कार्यालयले विभिन्न कार्यक्रम गरी ५ लाख ८३ हजार ६ सय २८ जनालाई सचेतना कार्यक्रममा सहभागी गराएको जनाकारी दिएको छ ।
यस वर्ष पनि दुर्घटना न्यूनीकरणका लागि जनचेतनाका कार्यक्रमसँगै रात्रीकालिन मापसे चेकिङ, ट्राफिक चिह्न राख्न र खाल्डाखुल्डी पुर्न सम्बन्धित निकायमा पहल गर्ने कार्यक्रम गर्ने योजना रहेको वरिष्ठ प्रहरी नायव निरीक्षक पाठकले जानकारी दिए ।