धनुषामा अढाई बजेसम्म ४२ प्रतिशत मतदान
जनकपुरधाम- धनुषामा दिउँसाे अढाई बजेसम्म ४२ प्रतिशत मतदान भएको छ ।
जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर अहिलेसम्म कूल ४२ प्रतिशतसम्म मतदान सम्पन्न भएको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन् ।
प्याकुरेलले जिल्लामा निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरू र उम्मेदवारलाई अहिलेसम्म कुनै किसिमको भौतिक क्षति नपुगेको बताए । उनले मतगणना आज राति १० बजेदेखि नै गरिने भएकाले त्यसका तयारी स्वरूप मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको जानकारी दिए ।
'जिल्लाभरिमा शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको हामीले पाएका छौँ,’ उनले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ । दिउँसो २ बजेर ३० मिनेटसम्म ४२ प्रतिशतसम्म मतदान भएको छ ।
जिल्लाको ३२२ मतदान स्थलका ६०५ मतदान केन्द्रमार्फत बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान कार्य जारी रहेको छ ।
यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ मतदाता रहेका छन् । जिल्लामा अतिसंवेदनशील १९४, संवेदनशील १११ र १७ वटा सामान्य मतदानस्थल रहेका छन् ।