दिगो विकास लक्ष्य हासिलका लागि सोध पुस्तक
सार्क मुलुकहरूले सहकार्य गरेर अघि बढे राष्ट्रसंघीय दिगो विकास लक्ष्य हासिल सहज : अध्ययन
काठमाडौँ - राष्ट्रसंघले २०३०को लक्ष्य राखेर अघि बढाएको दिगो विकास कार्यक्रमलाई कोभिड-१९ ले पारेको असरबारे यस क्षेत्रका विज्ञहरुले सोध सहितको पुस्तक सार्वजनिक भएको छ । विश्वलाई नै असहज परिस्थितिमा पुर्याएको कोभिडले यस क्षेत्रमा के कस्ता असर पार्यो भन्दै झण्डै दुई दर्जन विज्ञहरुले लामो समय लगाएर ‘इम्प्याक्ट अन कोभिड-१९ अफ एसडीजीज अफ साउथ एसिया’ नामक सोध पुस्तिका मंगलबार सार्वजनिक गरिएको हो ।
राष्ट्रसंघका पूर्वउपमहासचिव एवं पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य र युरोपेली महासंघ (ईयू) को काठमार्डौ स्थित दूतावासका नियोगका चार्ज डे अफेयर्स स्टेफन मेकनले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक पछि पूर्वसचिव आचार्यले सोध पुस्तकले सार्क भित्रको असरलाई मज्जाले केलाएको भन्दै यसबाट सरकार र राष्ट्रसंघ दुवैलाई सहज हुने बताए ।
यो अध्ययनमा कोभिडका कारण लक्ष्य हसिल गर्न सहज नहुने भन्दै देखाइएका कमजोरी र परेका प्रभावलाई सम्बोधन गर्न तर्फ सम्बन्धित मुलुकहरू लागि पर्न पर्ने उनले बताए । त्यसका लागि यो सोध निकै उपयोगी रहेको पनि बताए । कोभिडको वास्तविक असर अल्पविकसत मुलुकहरूमा नै परेको छ । त्यसमा पनि नेपाल जस्ता मुलुकहरूलाई लक्ष्यमा पुग्न सहज नरहेको भन्दै यस्ता विषयमा सबैको ध्यान जान आवश्यक रहेको उनले औल्याए ।
उनले समग्रतामा सन २०३० मा सामान्य अवस्थामा समेत लक्ष्य हासिल गर्न धौ धौ पर्ने भइरहेको अवस्थामा कोभिडले थलाएको विषय उजागर गरेका थिए । उनले सबैको सोधले केही न केही सुझाव दिएको र हरेक विधामा फरक फरक सोध गरेर एउटै पुस्तक बनेकोले यो सबैका लागि उपयोगी रहने पनि बताए ।
१७ फरक-फरक विधाका लक्ष्यहरूमा सार्कका सबै सदस्य मुलुकबाट प्रतिनिधित्व हुने गरि अध्ययन गराइएको थियो । नेपालबाट अधिक सोध गरिएको भए पनि सबै सदस्य मुलुकलाई नियालेर त्यसमा अध्ययन गरेर लक्ष्यमा पुग्ने सुझाव समेत दिइएको छ ।
कन्सोर्टियम अफ साउथ एसियन थिंक ट्यांक (कोसाट) र कोन्राड एड्नेअर स्टिफटुंगले अयोजना गरेको कार्यक्रममा दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा. निश्चलनाथ पाण्डेले यो अध्ययन गर्नुको कारण बुझाउँदै भएका अध्ययनको निचोडलाई आत्मसाथ गर्न सकेमा लक्ष्यमा सहज ढंगले पुग्ने बताए ।
२०३० को तार्गेटमा लक्ष्य हासिल गर्न सक्ने नदेखिएको र नेपाल जस्तो मुुलुकलाई कोभिडको असरले निकै असहजता हुने पनि उनले बताए । तर हामी जस्तो मुलुकलाई थप समस्या पर्ने भन्दै यसमा अहिलेदेखि गर्न पर्ने कार्यको सुझावहरु रहेको पनि उल्लेख गरे ।
पाण्डेले सोधले एउटा स्पष्ट सन्देश दिएको छ भन्दै भने, ‘एक्लै होइन सार्कले समग्रमा सहकार्य गरेर कलेक्टिभ रूपमा अघि बढे लक्ष्य हासिल गर्न थप सहयोग मिल्छ ।’ वर्तमान समय भनेको एकले अर्कोलाई औला देखाउने भन्दा पनि सहकार्य गर्दै आम नागरिकको स्वास्थ्य र जीवनस्तरमा सहजीकरण गर्ने रहेको बताए । उनले सार्कले समग्रमा एक भएर अघि बढ्न सकेमा काम हुने बताए ।
इयूका मेकनले सार्क मुलुकको विकासका लागि ईयू सधै सहकार्य गरेर अघि बढ्न चाहेको बताए । लक्ष्य हासिलमा पर्न सक्ने समस्यामा ईयूले सक्ने सहयोग गर्ने पनि बताए । सहकार्यबाट नै यस्ता महामारीलाई जित्दै लक्ष्यमा पुग्न पर्ने धारणा उनले राखे । महामारीले अल्पमात्र होइन विकसित मुलुक पनि समस्यामा परेको भन्दै यसमा सबैको सहकार्य अपरिहार्य रहेको बताए ।
कोन्राडका निर्देशक क्रिस्टाइन एक्लेले पनि सार्कले सहकार्य गरेर अघि बढ्न पर्नेमा जोड दिएका थिए । कार्यक्रममा पुस्तकमा हरेक लक्ष्यमा सोध गरेकालाई आफ्नो सोधको बारेमा बोल्न लगाइएको थियो । कतिपय भौतिक रूपमा उपस्थित थिए भने कतिपय जुमबाट । यसलाई आयोजकले हाइव्रिट कार्यक्रमको संज्ञा दिएका थिए ।
राष्ट्रसंघको १७ लक्ष्यहरु सहज रूपमा अघि बढाउन बाधक देखिएको कोभिड-१९ कै बीचमा पनि गरिवी, शिक्षा, भोक, स्वास्थ्य, उर्जा, सहकार्य, जस्ता सबै लक्ष्यलाई जितेर अघि बढ्न पर्ने बताएका थिए । नेपालबाट पूर्वराजदूत प्राध्यापक मोहन लोहनी, महेश भट्ट, उज्जवल उपाध्याय, कवि अधिकारी, अपेक्षा शाह, श्रेया खकुरेल, दिक्षा सिंहले अध्ययनको बारेमा बोलेका थिए । भारत, पाकिस्तान, मल्दिभ्स, बंगलादेशबाट जुममा सहभागी हुँदै धारणा राखेका थिए ।