'मट्टो की साइकिल' :  भारतले हेर्न नचाहेको आफ्नै कुरूप प्रतिविम्ब

शिशिर उप्रेती | मंसिर २५, २०७९

लामो र व्यग्र प्रतीक्षा पछि एम. गनी द्वारा लिखित र निर्देशित तथा प्रकाश झाद्वारा अभिनीत 'मट्टो की साइकिल' नामक चलचित्र, काठमान्डु इन्टरनेसनल माउन्टेन  फिल्म फेस्टिभल (किम्फ) को उद्घाटनको अन्तिम सत्रमा हेरियो। यो चलचित्रले भारतको विश्व शक्तिमा नव उदय, विकासको तीव्र प्रतिस्पर्धा र मानव विकासमा भारतको नेतृत्वदायी भूमिकाको चाहनामाथि महिषासुर झापड बजाएको छ। 'मट्टो की साइकिल' ले भारतीय यथार्थवादी सिनेमा निर्माणको क्षेत्रमा एउटा मजबुत स्तम्भ निर्माण गरेको छ । यो आजको भारतको राजनैतिक नेतृत्वले अस्वीकार गर्ने चित्र हो अथवा भनौँ भारतको राजनैतिक मूलधारले बिर्सिएको आफ्नै कुरूप प्रतिविम्ब।  
 
मट्टो भारतको कुनै दुर्गम गाउँको बासिन्दा हो। सिनेमा हरियो खेतको वाइड सटबाट सुरु हुन्छ जहाँ ४-५ जना साइकल लिएर कामबाट घर फर्कँदै गरेको दृश्य क्यामेराले कैद गरेको छ। मट्टोको साइकलको चेन फुस्किएको छ र साथीहरू हतार गरिरहेका छन्। मट्टोले चेन लगाउँदै गरेको साइकलको छेउबाटै तीव्र गतिमा धुलो उडाउँदै एउटा कार हुइँकिन्छ। मट्टो ज्यालादारीमा काम गर्ने निर्माण मजदुर हो। उ श्रीमती र दुई छोरीको पारिवारिक जिम्मेवारी काँधमा उठाएर लामो दूरी साइकलमा ज्यालादारी गर्न सहरसम्म दैनिक यात्रा गर्छ । उसको जीवनको सबै भन्दा महत्त्वपूर्ण र उपयोगी साधन साइकल हो जुन दुई दशक कुदाइसके पछि जीर्ण भइसकेको छ।  
 
मट्टोको जीवनमा ठूलो दुर्घटना हुन्छ। साइकल छेउमा राखेर तरकारी किन्दै गरेको मट्टोको साइकल ट्र्याक्टरको चक्काले किचेर पूर्ण रूपमा काम नलाग्ने हुन्छ । कसैको लागि यो सामान्य घटना हुन सक्छ तर मट्टोको जीवनमा अपूरणीय क्षति हुन्छ, दु:खको पहिरो खस्छ। ज्यालादारीमा काम गर्ने व्यक्ति साइकल नभएपछि एक महिनामा १२ दिन पनि काममा जान सक्दैन। अभाव झन् चुलिन्छ। अभाव र ऋण बीच मट्टोले नयाँ साइकल किन्ने निर्णय गर्छ। ऋणमाथि ऋण थप्छ। छोरीले ज्याला मजदुरी गरेर कमाएको ५ सय ८० रूपैयाँ , आफ्नो १००० र थप ब्याजमा लिएको पैसाले नयाँ साइकल घर आउँछ। परिवारमा क्षणिक भए पनि खुसीको बर्सात हुन्छ। खुसीको सास राम्ररी लिन नपाउँदै उसको नयाँ साइकल चोरी हुन्छ। उ माथि आकाश खस्छ। पिँजडामा कैद लोखर्के झैँ पीडामा यता उता छटपटाउनु बाहेक उसँग केही विकल्प बाँकी रहँदैन। 
 
सुखको सीमा हुन्छ तर दु:खको कुनै सीमा हुँदैन, सुख अस्थायी हुन्छ तर दुःख चीर स्थायी हुन्छ भन्ने भनाइ चरितार्थ गर्न सिनेमाको पात्र निर्माणमा निर्देशक एम. गनी प्रयोगात्मक रूपमा सफल भएका छन् । मट्टो (प्रकाश झा) एक योद्धा हो। उ अनवरत दु:खको पहाड चढिरहन्छ। भोकसँगको सङ्घर्षबाहेक उसको कुनै इच्छा र चाहना छैन। उ एक यथार्थवादी हिरो हो। मट्टो भोकले विक्षिप्त परिवारको पेट भर्न पहाडको टुप्पोसम्म अनन्त कालिन ढुङ्गो ठेली रहेको अल्बर्ट कामुको मिथकीय पात्र सिसिफस जस्तो लाग्छ। उ अर्नेष्ट हेमिङवेको बहादुर तर समाजले गलत परिभाषित गरेको निरर्थक पात्र सेन्टियागो पनि हो।

कुनै पनि पात्र सिनेमा स्क्रिनमा देखिनका लागि मात्र देखिएका छैनन्। पात्रहरू जब अर्थपूर्ण हुन्छन् र प्रासङ्गिक लाग्छन् तब सिनेमामा समग्र चरित्र चित्रण सुन्दर बन्छ। मट्टो की साइकिल त्यसको उदाहरण हो।

उ हाम्रै समाजमा पाइने कवि दिनेश अधिकारीको हर्क बहादुर पनि हो। एक छिनको लागि शास्त्रीय सिनेमाको हेरोइक पात्रलाई बिर्सिदिने हो भने मट्टो संसार भरिका गरिब मजदुरहरूको प्रतिनिधि हिरो हो। एरिस्टोटलको परिभाषाबाट मृत्यु र त्रासदीय दोषबाहेक अरू सबै गुण भएको ट्र्याजिक हिरो हो उ । मट्टोको चरित्र निर्माणमा निर्देशकले पूर्णत: न्याय गरेका छन् । मट्टोबाहेक उसकी श्रीमती, दुई छोरी, साइकल मेकानिक, नेता, प्रधानको चरित्रमा पनि निर्देशकले जीवन भरिदिएका छन्। कुनै पनि पात्र सिनेमा स्क्रिनमा देखिनका लागि मात्र देखिएका छैनन्। पात्रहरू जब अर्थपूर्ण हुन्छन् र प्रासङ्गिक लाग्छन् तब सिनेमामा समग्र चरित्र चित्रण सुन्दर बन्छ। मट्टो की साइकिल त्यसको उदाहरण हो।  
   
कथाको संरचनाको हिसाबले पनि सिनेमा निक्कै सशक्त छ । कथाले सुरुदेखि अन्त्यसम्म नै दर्शकलाई बाँधेर राख्छ। कथामा आउने क्रमबद्ध द्वन्द्वले दर्शकको ध्यान भङ्ग हुन दिँदैन। मट्टोको जीवनमा आउने एक पछि अर्को समस्यामा दर्शक यसरी समाहित हुन्छन् कि उनीहरू भावनात्मक सकसबाट बाहिर निस्कन पाँउदैनन्। मानव जीवनको यो नै अन्तिम दु:ख हो भनेर बसेका दर्शकलाई अर्को झन् ठूलो दु:खको खाडलमा खसाइ दिन्छ सिनेमाको कथाले। पुरानो साइकलको चेन फुस्किएको सानो समस्याबाट सुरु भएको सिनेमा नयाँ साइकल हराएको झन् ठूलो समस्यामा गएर सकिन्छ। सामान्यतया सिनेमाले लिनियर कथाको विकास क्रममा एक्सपोजिसन, राइजिङ एक्सन, क्लाइमेक्स, फलिङ एक्सन र रिजोलुसन प्रस्तुत गर्छ तर यो सिनेमा कन्फ्लिक्टबाट सुरु भएर क्लाइमेक्समा सकिन्छ । यसमा न त फलिङ एक्सन छ न रिजोलुसन नै। अर्थात् यसले कन्भेन्सनल कथा वाचनको संरचनालाई पूर्णत: भङ्ग गरेको छ।
 
नवीनताको कसीमा पनि यो सिनेमा खरो उत्रिएको छ । भारतको कुनै दुर्गम गाउँको निर्माण मजदुरको कथा वाचन पूर्णतया नयाँ नभए पनि मौलिक र सृजनशील छ। कथामा सृजना गरिएको परिस्थितिहरू उम्दा छन् । संवाद र भाषिक गहनताले कथाको भावलाई मजबुत बनाएको छ । कलाकारहरूले ग्रामिण भोजपुरी भाषामा गरेका सम्वादहरूले त्यही समाज र परिवेशमा दर्शकलाई पुर्‍याइदिन्छ। यस सिनेमाले बलिउडको कन्भेन्सनल कथा वाचनलाई चुनौती दिँदै सुन्दर र फरक दृश्य भाषाको निर्माण गरेको छ।  
 
सिनेमाको अर्को सशक्त पाटो यसको सिनेम्याटोग्राफी हो। चन्दन कौलीले सिनेमामा क्यामेराको कामले कथालाई थप मजबुत र अर्थपूर्ण बनाउन सकिन्छ भनेर प्रमाणित गरेका छन्। क्यामेराको सही कोण, लेन्सको सटिक प्रयोग र पर्दामा लेन्सले कभर गर्ने एरियाले सिनेमाको भावलाई खास योगदान गरेको छ। परिवार र व्यक्तिको सङ्कुचनलाई क्लोज एन्ड न्यारो सर्ट तथा सामाजिक परिवर्तन र विकास देखाउन वाइड सर्टको प्रयोग गरिएको छ। केही खुसीका क्षणहरू देखाउन उज्यालो पृष्ठभूमिमा सुमधुर सङ्गीत बजाइएको छ। कथाको विकास क्रमको गति र क्यामेराको गति मिलेकाले सट, सिन र ड्रामाटिक सिक्वेन्सहरूको प्रभावकारिता बढाइदिएको छ। कथाको इन्टेन्सिटी बढ्दा क्यामेराको गति तीव्र छ भने कथा अलि सुस्ताउँदा क्यामेराको गति पनि सुस्ताएको महसुस हुन्छ । समग्रमा क्यामेराले कैद गरेको दृश्यहरूले मट्टोले भोगेको गरिबीको सकस दर्शकलाई महसुस गराउन सफल भएको छ । सिनेमा सुरूहुँदा मट्टोको घर जस्तो थियो अन्त्य हुँदा पनि केही परिवर्तन छैन बाँकी सबै कुरा र संरचनाहरू परिवर्तन भएका छन् । सहर परिवर्तन भएको छ। बाहिरको बाटो फराकिलो भएका छन्, छिमेकीको घर, चुनाव जितेको प्रधानको घर, नेताको घर आदि सबै परिवर्तन भएका छन्। सुन्दर सिनेम्याटोग्राफीले मट्टोको सोफोकेसन दर्शकलाई महसुस गराउन सफल भएको छ।

सिनेमा 'मट्टो की साइकिल' ले केही सैद्धान्तिक डिस्कोर्स पनि सतहमा ल्याएको छ। सिनेमाले भारतको विश्व शक्तिमा हुँदै गरेको उदय र पुँजिवादी अर्थतन्त्रको धज्जी उडाएको छ। भारतीय राजनीतिको मूल जडमा रहेको भनाइ र गराइ बीचको फरक र नागरिकको अपेक्षा र वास्तविकताको बेमेल सिनेमाको मूल द्वन्द्व हो। सिनेमाले आजको भारतको धनी र गरिब बीचको खाडल र वर्ग सङ्घर्षलाई गज्जबसँग प्रस्तुत गरेको छ। पुँजिवादी अर्थ व्यवस्थाको अनुवांशिक उपज नव धनाढ्यहरू हो। शाषितबाट अचानक शासक भएका नव धनाढ्यहरू झन् क्रूर भएर समाजमा शासन गर्न थाल्छन् अनि गरिबीको जाँतोमा थप पिसिन्छन् मट्टोहरू । यो अनवरत चलिरहने गरिबीको दुष्चक्र हो। मट्टो एक्जिस्टेन्सियल हिरो हो तर उसको अस्तित्व निरर्थक लाग्छ । उ बिहान बेलुकाको छाक टार्ने बाहेक केही सोच्न सक्दैन। राज्यले सुलभ रुपमा उपलब्ध गराउनु पर्ने शिक्षा, स्वास्थ्य जस्ता कुरा उसको पहुँच बाहिर छन्। छोरीहरू स्कुल जाँदैनन्, श्रीमतीको उपचार गर्न ऋण लिन्छ, साइकल किन्न ऋण। उ केवल बाँच्नको लागि बाँचिरहेको छ, कम आफ्नो लागि र बढी परिवारको लागि ।

शाषितबाट अचानक शासक भएका नव धनाढ्यहरू झन् क्रूर भएर समाजमा शासन गर्न थाल्छन् अनि गरिबीको जाँतोमा थप पिसिन्छन् मट्टोहरू 

सिनेमाका केही उम्दा दृश्यहरू हृदय विदारक छन्। मट्टोको घरमा चर्पी छैन उ खेतमा जान्छ तर भारतमा 'स्वच्छ भारत अभियान' चलिरहेको छ। खेतमा दिसा गर्न बसेकाहरूलाई लट्ठी लिएर धपाउँदै गरेको दृश्यले चरम विरोधाभास प्रस्तुत गरेको छ। नयाँ साइकल किन्न नसकेर २० वर्ष पुरानो साइकलमा नयाँ घण्टी र सिट कभर हालेको दृश्यले मन छुन्छ । अस्पतालमा राखेको बिरामी श्रीमतीलाई फलफूल खुवाउन सबै भन्दा सस्तो १ पाउ फल किनेको दृश्यले गरिबीको हद प्रस्तुत गर्छ।पुरानो साइकल ट्र्याक्टरले किचाउँदा र नयाँ साइकल हराउँदाको मट्टोको पीडाले सास फेर्न गाह्रो बनाइ दिन्छ । सिनेमाको अन्तिम दृश्यांश सबैभन्दा सशक्त छ। मट्टोको चरम पीडामा कसैले चासो नदेखाए पछि निराश भएर घर फर्कँदै गरेको बेला स्कुले केटाकेटीहरू भारतको झन्डा बोकेर 'सारे जहाँ से अच्छा हिन्दुस्तां हमारा' भन्ने गीत गाउँदै आइरहेका हुन्छन्। मट्टो जस्ता करोडौँ निरिह नागरिकहरूको लागि हिन्दुस्तान कसरी संसारकै सबैभन्दा राम्रो देश हो भन्ने चरम विरोधाभासमा सिनेमा सकिन्छ।
 
सिनेमाको अर्को प्रयोग पात्रहरूको मनोविज्ञानमा देख्न सकिन्छ । निर्देशकले साना साना विषयवस्तु र परिस्थितिमा पात्रहरूको मन मस्तिष्क भित्र छिरेर पात्रको अभिव्यक्तिको मनोवैज्ञानिक प्रभाव देखाएका छन्। पुरानो साइकलको क्षति र नयाँ साइकलको चोरी लगभग उस्तै लाग्ने दृश्य भए पनि पीडाको अभिव्यक्तिको हिसाबले आकाश जमिनको फरक देखाइएको छ। साइकल जीर्ण छ तर मट्टोले नयाँ घण्टी र सिट कभर फेर्छ। यस घटनाको आशय मट्टोले जीवनमा नयाँपन वा परिवर्तन खोजिरहेको र उसको पट्यारलाग्दो दैनिकीमा चाहेको ब्रेकथ्रू हो। त्यही नयाँ घण्टी सानी छोरीले बारम्बार बजाएपछि गिलासको झट्टी हानेको दृश्यले उसको मनोवैज्ञानिक विचलन प्रस्तुत गरेको छ। सिनेमामा प्रयोग गरिएको कस्टयुम, सिनेमाको आर्ट डिजाइन र मेकअपले दर्शकलाई अत्यन्त प्रभावित गर्ने छन् । मट्टोको परिवारको चरम गरिबीको लागि जुन गाउँ र सेटको चयन गरिएको छ, उम्दा छ । गरिबले भोग्ने जीवनको विभत्सता कलात्मक तरिकाले प्रस्तुत गर्न कम चुनौतीको सामना गर्नु परेन होला निर्माण समूहलाई ?
 
यो सिनेमा कमर्सियल सिनेमा पक्कै हैन तर १ घन्टा ३५ मिनेटको सिनेमामा कमर्सियल सिनेमामा हुनु पर्ने थुप्रै विशेषता छन्। टिपिकल बलिउड सिनेमामा हुने जस्ता गीत नृत्य र मेलो ड्रामा हेर्न पाइँदैन। दुई वटा महत्त्वपूर्ण सिनहरू एकदमै प्रेडिक्टेबल छन्। कथालाई अघि बढाउन निर्देशकले अब यो पुरानो साइकल केही न केही हुन्छ भनेर सोचिरहेकै बेला ट्र्याक्टरले किचाइदिन्छन। अर्को दृष्यमा नयाँ सइकल किने ल्याएपछि साइकल हराँउछ वा क्षति हुन्छ भनेर सोचिरहेको बेला साइकल लुटिन्छ। गरिबी अभिसाप हो भन्ने कुरामा दुई मत छैन तर यो विषयलाई सिनेमामा अतिशयोक्तिपूर्ण तरिकाले प्रस्तुत गरिएको छ। समग्रमा 'मट्टो की साइकिल' हेर्नै पर्ने सिनेमाको श्रेणीमा पर्छ। 

कर्मचारीतन्त्र जनताको ‘डार्लिङ्’ हैन, दल विशेषको अनुचर जस्तो

उमेशप्रसाद मैनाली | मंसिर २५, २०७९

राजनीति र प्रशासनको सम्बन्ध लामो समयदेखि बहसको विषय भइरहेको छ । राज्यको आविष्कारदेखि नै कुनै न कुनै रा...

कानुन व्यवसायी स्वतन्त्र न्यायपालिकाको रक्षक कि राजनीतिक दलका प्रतिनिधि ?

रवीन्द्र भट्टराई | मंसिर २४, २०७९

मानवअधिकार विश्वव्यापी घोषणापत्र जारी भएको ७५ औँ महोत्सव सन् २०२३ डिसेम्बर १० मा गर्ने गरी संयुक्त राष्ट्...

अपाङ्गता भएका किशोरीहरूको मर्यादित महिनावारी, कसको हो जिम्मेवारी ?

सरिता लामिछाने | मंसिर २२, २०७९

नेपाली परिवेशमा महिनावारीलाई अझै पनि सहजै स्विकारेको पाइँदैन । अझै पनि नेपालको कतिपय भूभागमा छाउपड...