प्रचण्डलाई दिलबहादुर रम्तेलको गाउँबाट एक गोरखाली मतदाताको चिठी

निशान निष्कर्ष | कात्तिक २८, २०७९

श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड, 
तपाईँलाई प्रथमतः आगामी संघीय चुनावमा जितको शुभकामना ।

म तपाईँको अहिलेको चुनावी क्षेत्र, गोरखा क्षेत्र नं. २ को बासिन्दा । त्यति मात्र होइन, म तपाईँको पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र (त्यतिबेला नेपाल कम्युनिस्ट पार्टी माओवादी) ले पहिलो सहिद जन्माएको जराङको माटोको बासिन्दा हुँ ।

जहाँ हरेक चुनावमा हामीलाई दिलबहादुर रम्लेतको रगतले पोल्छ र गाउँको विकास हेर्दा आँखाभरि उनै दिलबहादुर र हिजो तपाईँहरूले बाँड्नुभएको सपनाको याद आउँछ । हाम्रो गाउँमात्र होइन, हाल तपाईँले आफ्नो उम्मेदवारी दिनुभएको गोरखा क्षेत्र नं. २ धेरै सहिदहरू जन्माएको ठाउँ हो । तपाईँलाई यस विषयमा मैले जानकारी गराउन सम्भवतः आवश्यक छैन तर पनि मन नमान्दोरहेछ । मेरै माटोले पनि दिलबहादुर रम्लेत (जो पहिलो सहिद), गुणनिधि देवकोटा र कौशला गुरुङजस्ता वीर सहिदहरू जन्माएको छ । उहाँहरूको आत्मा आज पनि त्यही माटोमा तड्पिरहेको भान हुन्छ, जबजब यहाँको विकास र हामीले भोग्दै गरेको जीवनशैली हेर्छौँ । 

तपाईँले नेतृत्व गर्नुभएको जनयुद्ध र २०६२/६३ जनआन्दोलनबाट देशमा धेरै परिवर्तन भयो । सीमान्तकृत आवाजहरू राज्यको केन्द्रसम्म आउने आधारहरू बने र अहिले ती आवाजहरूले न्याय पाए पनि नपाए पनि उठ्न त पाएका छन् । राजतन्त्र फालिएर आज जनताकै सन्तान राष्ट्रपति र उपराष्ट्रपति हुन पाएका छन् (राज्य संयन्त्रको सम्पतिको भोग कसले कति गरे ? भन्ने सन्दर्भमा कुनै दिन बहस गरौँला) । सबैले आफ्नो स्वतन्त्रताको सदुपयोग गर्न पाएका छन् । 

हामी पनि त्यसका लागि खुसी छौँ । तपाईँ र माओवादी पार्टीको यस किसिमको योगदानलाई समाजले जुन तरिकाले हेरे पनि मेरो बुझाइमा परिवर्तनको जग जनयुद्ध हो । यसका लागि धेरै योद्धाहरूले आफ्नो वलिदानी दिए । ती वलिदानी दिनेहरूमा बौद्धिक वर्गमा गोरखा सम्भवतः सबैभन्दा अगाडि आउला । सुरेश वाग्ले (वासु), प्रेम ढकाल, आशाकाजी श्रेष्ठ, कमला भट्ट, विमला भट्ट, नन्दलाल श्रेष्ठ, कौशिला गुरुङ, गुणनिधि देवकोटा, भीमसेन पोखरेल (अझ अरु केही नाम छुटेका छन्) आदि व्यक्तित्व (जसलाई तपाईँको पार्टीले सहिद भनेको छ ।) हालको गोरखा क्षेत्र नं. २ ले नै जन्माएको हो भन्ने कुरा चाहिँ कमरेड तपाईँलाई यस पटकको चुनावी माहोलले पक्कै सम्झाएको होला । (यहाँ चुनावी क्षेत्र नं. १ बाट सहिद हुनुभएकाहरूको नाम अझ उल्लेख भएको छैन ।) यतिबेला तपाईँ आफै भन्दै हिँड्नुहुन्छ कि म एकै स्थानमा जमेर बस्ने मान्छे होइन त्यसैले यसपालि गोरखा आएको हुँ । के तपाईँ गोरखा आउनुको कारण एकै ठाउँमा नजम्नुमात्र हो कि यी सहिदहरूको सपना पूरा गर्न पनि हो ? यस प्रकारको प्रश्न हामी सबैको मनमा उब्जिएको छ । 

अध्यक्षज्यू, तपाईँले चुनाव लड्दै गर्दा तपाईँले पनि सुन्नुभएकै होला तपाईँ र बाबुराम भट्टराईमाथिका केही प्रतिक्रियाहरू । एकाथरिको प्रतिक्रिया छ, प्रचण्ड चितवनमा आफूलाई सुरक्षित नदेखेर गोरखा सुरक्षित स्थान खोज्न गएका हुन् । अर्काथरिको प्रतिक्रिया चाहिँ बाबुरामले आफ्नो छोरीलाई काठमाडौँ ७ बाट चुनावमा उम्मेदवार बनाउन प्रचण्डलाई गोरखा छोडेका हुन् । यिनीहरू नातावाद र कृपावादले चलेका मानिस हुन् । जनताको सुरक्षा र स्वार्थ हेर्नभन्दा आफ्नो सुरक्षा र स्वार्थ हेर्न यिनीहरू अग्रसर छन् । सरसर्ती हालको राजनीतिक वृत्तमा हेर्ने हो भने पनि तपाईँहरूमा यो प्रवृत्ति कहीँ न कहीँ देखिएको नै छ । हुन त तपाईँहरू यस कुरालाई हृदयबाट स्वीकार गर्नुहुन्न वा हृदयबाट स्वीकार गरेर पनि जनतामा सकेसम्म भ्रम छर्नुपर्छ र आफूहरू माथि पुग्नुपर्छ भन्ने मानसिकताले ग्रसित हुनुहुन्छ, त्यो तपाईंहरूको जिम्मा । 

तपाईँले नै आफ्नो उम्मेदवारी दिएपछि भन्नुभएको छ कि, गोरखा मैले अध्यापन गराएको जिल्ला हो । हो, म राम्ररी जान्दछु तपाईँले भीमोदय मा वि मा पढाउँदै गर्नुहुँदा विद्यालयमा शैक्षिक परिवर्तन र आरुटारमा राजनीतिक परिवर्तन गर्नुभएको कुरा । अर्को के कुरा पनि भन्नुभएको छ भने, युद्धकालमा राजनीतिको मुख्य थलो कुनै न कुनै रुपले गोरखालाई बनाएको हो । यस कुरामा पनि म सहमत छु । गोरखा माओवादी युद्धका लागि रोल्पा रुकुम जत्तिकै शक्तिशाली र क्रियाशील जिल्ला हो ।

आज पनि कहीँ माओवादी छ भने गोरखामा छ भन्ने कुरा त स्थानीय निर्वाचनले प्रस्टसँग देखाएको छ । ११ पालिकामा ९ पालिका जितेको र जम्मा मत परिणाम हेर्दा पनि गोरखामा माओवादी नै अगाडि रहेको हो । त्यसैले त सबैको अड्कल कहाँ गएर अड्कियो भने प्रचण्डले चितवनभन्दा गोरखा सुरक्षित देखे र गोरखा गएका हुन् । तपाईँलाई यो चुनावको पहिलो चुनौती नै यही भ्रम चिर्नुु हो र गोरखालाई विकासको बाटोमा डोर्‍याउनु हो ।

तपाईँ एक क्षेत्रलाई मात्र नभई पूरै देशलाई सम्हाल्न हिँड्नुभएको एक योद्धा, एक कमान्डर र एक नेता । तपाईँसँग धेरैको अपेक्षा होला तर यति चाहिँ के हो भने कुनै पनि नेताले आफूले चुनाव जितेको स्थानको विकास गर्न सकेमा देश आफैँ विकासको गतिमा लम्कन्छ र देशले मुहार फेर्छ । मैलै बुझ्ने भएपछि नै गोरखामा धेरै नेताहरू जन्मिए । पृथ्वीनारायण शाह, भीमसेन थापा, लखन थापा, जङगबहादुर कुँवर (राणा) को पुस्ता, राजेश्वर देवकोटा, कृष्णप्रसाद भट्टराईलगायतका राजनीतिक व्यक्तित्वहरू जन्मिएको माटो हो गोरखा ।

धेरै राजनीतिक उथलपुथलको आधार गोरखाले जन्माएको नेताहरू भएका छन् । तर पनि गोरखा किन राज्यको प्राथमिकतामा पर्दैन ? आम गोरखालीको आवाज हो यो । भन्दै आएको आधुनिक नेपालको इतिहास नै गोरखाको बाटोबाट, अझ भन्ने हो भने तपाईँले नै उम्मेदवारी दिनुभएको क्षेत्र नं. २ को लिगलिगकोटबाट भएको कुरा सानो कक्षामा पढ्ने भाइबहिनीहरूलाई पनि थाहा छ भने तपाईँजत्तिको मानिसलाई थाहा नहुने भन्ने कुरा नै भएन । त्यही माटोमा उभिएर चुनावको प्रचार गर्दै गर्दा तपाईँलाई गोरखाको विकास त्यति नै भए पुग्छ जस्तो लाग्छ होला र ? तपाईँको चुनावी क्षेत्रको दुर्गम स्थानमा पनि पुग्नुहोस् र एकपटक विछडिएको गोरखाको पीडालाई छाम्नुहोस् । तपाईँलाई कतै दुख्छ कि दुख्दैन आफैँ महसुस गर्नुहोला । 

गोरखाको माटोले धेरै अपेक्षा गरेको छैन । कम्तीमा गोरखामा रहेको अस्पतालको अवस्था हेर्नुहोला र त्यहाँ गोरखाको लेकबाट आउनुपर्ने बिरामीले पाउने उपचार र सुविधा हेर्नुहोला । चुम नुम्री गाउँपालिका आज पनि सदरमुकामसँग जोडिन सकेको छैन । बाटोमा सानो पहिरो गयो भने आज पनि गाउँमा कुनै पनि प्रकारको सम्पर्क हुन सक्दैन । तारेभीरहरू छिचोलेर जानुपर्ने गाउँहरू छन् । तपाईँ गोरखा २ बाट चुनावमा उम्मेदवार बन्नुहुँदै गर्दा समग्र गोरखाको प्रतिनिधि हो भन्ने बुझाइ आम मानिसमा रहन्छ । के तपाईँ यसैको अग्नि परीक्षा दिन तयार हुनुहुन्छ ? होइन भने तपाईँको उम्मेदवारीप्रति आम गोरखालीले खेद व्यक्त गर्ने दिन आउनेछ ।  

खोज्दै जाने हो भने तपाईँमाथि धेरै सवालहरू रहन्छन् । अरु त अरु, तपाईँले चुनावका लागि तयार पार्नुभएको प्रतिबद्धतापत्रमा आफ्नो निर्वाचन क्षेत्रमा आफूले जिते गर्ने कार्यहरूको सूचीमा कहाँनिर समेट्नुभयो दिलबहादुरको गाउँ र कहाँनिर न्याय दिन्छु भन्नुभयो ? यति धेरै चुनावीसभा गर्दा १० मिनेट पार्कमा टेक्नुभन्दा फेरि फर्केर किन जानुसक्नुभएन दिलबहादुरले रगत बगाएको माटोलाई छुन र त्यसलाई मुठ्ठीमा उठाएर हामीजस्ता जनताहरूको अगाडि आफूले गर्ने कामको विश्वास दिलाउन ? के आधार छ तपाईँलाई जराङबासी (दिलबहादुरको माटो) ले मत दिएर जिताउन ? दिलबहादुर रम्तेलको गाउँको बासिन्दाको नाताले यतिचाहिँ प्रश्न हो तपाईँसँग ।

के तपाईँ दिलबहादुरलाई सहिद बनाएको माटोको टीका लगाएर भन्न सक्नुहुन्छ, म गोरखालाई नमुना जिल्लाको रुपमा विकास गर्छु, त्यसमाथि दिलबहादुर जन्मिएको माटोलाई मूल्यवान बनाउँछु । यहाँका जनताहरू आज पनि प्राथमिक उपचारका लागि पनि दुई तीन घण्टा धाएर जानुपर्ने बाध्यता छ ।

यसको मनन तपाईँबाट हुन सक्छ र ? यहाँका जनताहरू आज पनि आफूले उत्पादन गरेको कृषि सामग्रीहरू कि त गाउँमा नै बाँडेर सक्छन् कि त कुहाएर फाल्न बाध्य छन् । के तपाईँ यसको व्यवस्थापन गर्न सक्नुहुन्छ ? यही माटो हो, जहाँबाट आज धेरै मानिसहरू गाउँ छाडेर कि सहर पसेका छन् कि विदेशिएका छन् । यहाँका जनतालाई गाउँ फर्कने अभियानमा तपाईँको सहभागिता रहन्छ ? कि हामीले फेरि अहिले धेरै मानिसहरूले अड्कलबाजी गरेजस्तै प्रचण्ड चितवनबाट हार्ने डरले गोरखामा सुरक्षित स्थान खोज्दै आएका रहेछन् भन्ने दिन आउने हो ? 

दिलबहादुर रम्तेलको गाउँबाट 
निशान निष्कर्ष
बारपाक सुलिकोट ८, गोरखा । 

निशानका अन्य लेखहरू

चीन-नेपाल रेल्वेको ‘युटोपिया’बाट कहिले बाहिर आउने ?

शौरभ राज पन्त | कात्तिक २४, २०७९

नेपालको प्रगतिका लागि चीनतिर झुक्दा नेपाली वामपन्थी नेताहरूलाई भावनात्मक र मनोवैज्ञानिक सहुलियत प्राप्त ...

चुनाव : टाट पल्टिन लागेको देश बचाउने कि सिध्याउने ?

सोमबहादुर थापा | कात्तिक २३, २०७९

राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा आआफ्नो दलको घोषण...

पाश्चात्य साइकोलोजी: मनोविज्ञान कि चित्तविज्ञान ?

गोविन्दशरण उपाध्याय | कात्तिक २१, २०७९

आजभोली मनोविज्ञानको निकै चर्चा हुन्छ। सन् १९०२ मा भारतीयले अंग्रेजीको साइकोलोजी भन्ने शब्दलाई मनोविज्ञा...

नेपालमा कानुनको शासन- लथालिङ्ग देशको भताभुङ्ग चाला

रवीन्द्र भट्टराई | कात्तिक १९, २०७९

निर्वाचनका मुखैमा देशको सरकारका अङ्ग र सार्वजनिक निकायको वैधता र वैधानिकताका आलोकमा न्याय, मानवअधिक...