पर्यटन

नेपाल भ्रमणको प्याकेज बनाउन मलेसियाका व्यवसायीलाई पर्यटन बोर्डको आग्रह

इकागज | पुस ५, २०७९

काठमाडौँ - नेपाल पर्यटन बोर्डले मलेसियाका पर्यटन व्यवसायीलाई नेपाल भ्रमण प्याकेज बनाउन आग्रह गरेको छ । पर्यटन बोर्डका सीइओ डा. धनन्जय रेग्मीले नाट्टासँगको सहकार्यमा मलेसिया क्वालालाम्पुर र पेनाङमा ‘नेपाल सेल्स मिसन २०२२’ कार्यक्रम सम्पन्न गर्दै मलेसियाका पर्यटन व्यवसायीलाई नेपाल विशेष प्याकेज बनाउन आग्रह गरेका हुन् ।
 
कार्यक्रममा बोर्डका सीइओ डा. रेग्मीसहितको टोलीले मलेसियाका पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै नेपाली पर्यटन व्यवसायीदेखि सरकारी अधिकारीसम्मले नेपाल घुम्नका लागि त्यहाँका पर्यटन व्यवसायी र पर्यटकलाई आह्वानसमेत गरेका थिए ।

बोर्डका सीइओ डा. रेग्मीको नेतृत्वमा मलेसियामा गएको नेपाली पर्यटन टोलीले मलेसियाको पर्यटकीय सहर पेनाङमा सोमबार औपचारिक कार्यक्रम नै गरेर नेपाल भ्रमणको प्याकेज बनाउनेतर्फ ध्यानाकर्षण गराएको थियो । विश्वमै एक उत्कृष्ट गन्तव्यका रुपमा नेपाल रहेको भन्दै टोलीले नेपाल भ्रमण पहिलो प्राथमिकतामा राख्न मलेसियाका पर्यटन व्यवसायीलाई आग्रहसमेत गरेको थियो ।

कार्यक्रमको बि–टु–बी सत्रमा नेपालका विभिन्न ट्राभल एजेन्टस् कम्पनीका संचालकहरूले मलेसियाका समकक्षी तथा व्यवसायीहरूसँग नेपालका आकर्षक गन्तब्य र पर्यटनका प्याकेजबारे छलफल तथा सम्झौता गरेका थिए । टोलीमा काठमाडौँ, पोखरा, नेपालगञ्जका पर्यटन व्यवसायीसमेत रहेका नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

काठमाडौँ र काठमाडौ उपत्यकाबाहिरका पर्यटन व्यवसायीसमेत बोर्डसँग मिलेर पहिलोपटक विदेशमा गएर कार्यक्रम गर्न सफल भएका हुन् । यसका लागि नाट्टाले विशेष संयोजनको काम गरेको हो । कार्यक्रममा बोर्डका सीइओ रेग्मीले कोभिडपछि अवस्था सामान्य बनेको र नेपालका पर्यटन व्यवसायी मलेसिया आएर आग्रह गरेकाले अब नेपाल भ्रमणको प्याकेज बनाउन दोहोर्‍याएका थिए ।

कार्यक्रममा बोर्डका सीइओ डा. रेग्मी नाट्टाका महासचिव कुमार थपलिया, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल लगायतको सहभागिता रहेको थियो । यस्तै नेपाली पर्यटन व्यवसायीतर्फ कोइली टुर्सबाट पुष्करराज पाठक, ड्रागन होलिडेजबाट जोशना आचार्य, जुगल होलिडेजबाट बिदुर खतिवडा, कान्तिपुर होलिडेजबाट दामोदर ढकाल, एनएमबी ट्राभलबाट सुदर्शन नेपाल, शशिज होलिडेज इन्टरनेश्नलबाट युविका भण्डारी र स्पोर्टस् टुर्स एण्ड ट्राभलबाट राजेन्द्र जिसी (मिलन)को सहभागिता रहेको थियो ।

नेपाल पर्यटन बोर्डले पहिलोपटक काठमाडौँ उपत्यका र उपत्यका बाहिरका पर्यटन व्यवसायीलाई लिएर मलेसियामा कार्यक्रम गर्दै त्यहाँका नागरिक तथा व्यवसायीलाई नेपाल घुम्न निम्तोसमेत दिएको छ ।

महाकाली तटीय क्षेत्र : उहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

इकागज | पुस ३, २०७९

महेन्द्रनगर- विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका न...

भैरहवा विमानस्थलबाट उडानका लागि निगमको गृहकार्य सुरु

इकागज | मंसिर २४, २०७९

काठमाडौँ- नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका ला...

करोडौँको लगानीमा बनेका मेलम्चीका होटल पर्यटकको प्रतीक्षामा

इकागज | मंसिर २४, २०७९

सिन्धुपाल्चोक-  मेलम्ची बजारमा पक्की घर तथा सुविधासम्पन्न होटल निर्माणले आन्तरिक तथा बाह्य पर्यटकहरूको...