गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार
बुद्ध पूर्णिमादेखि व्यावसायिक उडानको थालनी
बुटवल – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पका रुपमा हेरिएको भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको छ। एरो थाइको जहाजबाट यो विमानस्थलमा क्यालिब्रेसन उडान सफल भएसँगै विमानस्थल उडानका लागि तयार भएको हो ।
परीक्षणपछि विमानस्थलमा राखिएको रुट, लाइटिङ, सञ्चार उपकरणहरुबारे विस्तृत रिर्पोट सार्वजनिक भएको हो । फागुन २६ गते एआईपी (एरोनटिक इन्फरमेसन पब्लिकेसन) रिर्पोट सार्वजनिक भएसँगै उडान भर्न इच्छुक स्वदेशी तथा विदेशी उडान कम्पनीका प्रतिनिधिहरु सम्पर्कमा आउन थालेका छन् । अब ठूलो विमानबाट बैशाख १ गते विमान स्थलमा उडान परीक्षण पनि हुँदैछ । त्यस लगत्तै यो विमानस्थल व्यावसायिक उडानका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बताए ।
नेपाल एयरलाइन्सको ठूलो जहाजबाट यो विमानस्थलमा परीक्षण हुने बताउँदै दाहालले भने, ‘१ वैशाखको परीक्षण र त्यसको प्रतिवेदन तयार भएसँगै विमानस्थल व्यावसायिक रुपमा सञ्चालनको सबै बाटो खुला हुनेछ ।’ उनले जेठ २ गतेदेखि भने सबै खालका अन्तराष्ट्रिय उडान भर्न तयारी भैरहेको बताए । उनले भने,‘अन्तराष्ट्रिय विमानहरु उडान अवतरण मात्र गरेर भएन त्यसका लागि काग्रो, क्याटरिङ देखि अध्यागमनसम्मका कामहरु अघि बढिरहेका छन्।’
उनका अनुसार कार्गोका लागि पारवाहन तथा गोदाम व्यवस्थापन लिमिटेडले जिम्मेवारी पाएको छ भने क्याटरिङका लागि सोल्टी होटलसँग सम्झौताको चरणमा छ । त्यसैगरी भन्सार र अध्यागमन कार्यालयसँग पनि कुरा भइरहेको र व्यावसायिक उडानको १५ दिनअघि नै आफ्ना पूर्वाधारहरु निमार्ण गरिसक्न भनिएको दाहालले बताए ।
सन् २०१४ मा सुरु भएको यो विमानस्थल आयोजना नेपालमा छिटो सम्पन्न हुने राष्ट्रिय गौरवको आयोजनाका रुपमा स्थापित भएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जेठदेखि दैनिक उडान हुने भएको छ । कुबेतबाट जजिरा एयरवेजले दैनिक उडान गर्ने गरी प्राधिकरणमा निवेदन दिएको छ भने नेपालकै नेपाल वायुसेवा निगम र हिमालयनले उठान भर्ने गरी तयारी थालिएको छ । त्यसैगरि विदेशी विभिन्न उडान कम्पनीका प्रतिनिधिहरु पनि दैनिक जसो विमानस्थल अवलोकन देखि छलफलमा आइरहेको महाप्रबन्धक दाहालले जानकारी दिए ।
उनले भने, ‘जजिराले त निवेदन नै पढाएको छ, सरकारी ध्वजावाहक भइहाल्यो। नेपालकै हिमालयनले चासो राखेको छ भने अन्य कम्पनीका प्रतिनिधिहरु पनि दैनिक जसो सम्पर्कमा आएका छन् । यसले गर्दा हामी निश्चित छौँ, कि पहिलो दिन जेठ २ गते नै १० वटाभन्दा बढी उडान भरिने छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने धेरै नेपालीले सिधा उडान गर्न सक्ने अपेक्षा गरिएको छ । जसले गर्दा नयाँ विमानस्थलले सजिलै उडानहरु पाउने आशा विमानस्थलका अधिकारीहरुको छ । सरकारले बुद्ध पूर्णिमाको दिन (२ जेठ) पारेर यो विमानस्थलमा नियमित उडान सुरु गर्ने घोषणा यसअघि नै गरेको थियो । त्यसका लागि अन्तिम छलफलका लागि भैरहवा विमानस्थलको उच्चस्तरीय टोली अहिले राजधानी काठमाडौं पुगेर छलफलमा जुटेको छ।
आकस्मिक अवतरणको समस्या समाधान
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुुरु हुने भए पनि नेपालका लागि वैकल्पिक विमानस्थलको समस्या पनि अब सधैँका लागि समाधान हुने भएको छ । विगतमा छिमेकी मुलुकहरुमा हारगुहार गरेर आकस्मिक अवतरण गर्नु पर्ने समस्या रहेको थियो । तर अब त्रिभुवन विमानस्थलमा अवतरणमा समस्या आए भैरहवाबाट त्यो समस्याको समाधान हुने भएको छ । कारण वशः त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसेकका हवाइजहाजले वैकल्पिक विमानस्थलको खोजीमा बंगलादेशको ढाका वा भारतका विभिन्न विमानस्थलमा जानु पर्ने बाध्यता थियो । अब भने यो बाध्यता हट्ने दाहालको विश्वास छ ।
‘विदेशबाट आएको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले वैकल्पिक विमानस्थलका रुपमा स्वभाविक रुपमा गौतमबुद्ध विमानस्थल छान्नेछन्,’ उनले भने, ‘अन्य कम्पनीका जहाजले पनि आपतकालिन अवस्थामा विकल्प पाउने छन् ।’ सामान्यतया गन्तव्य विमानस्थलमा अवतरणको समस्या भएमा विकल्पमा कुन विमानस्थलमा जाने भन्ने योजना वायुसेवा कम्पनीले अगाडि नै गरेका हुन्छन् । यो अवस्थामा अब नेपाल भित्रै दोस्रो अन्तर्राष्ट्रिय सुविधासम्पन्न विमानस्थल तयार भएको छ । जसमा त्रिभुवन विमानस्थलमा जस्तै सबै सुविधा उपलब्ध हुने छ ।
स्थानीयमा खुसीको सञ्चार
लामो समयको प्रतिक्षापछि भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थल तयार भएसँगै स्थानीयहरुमा खुसीको सञ्चार भएको छ । यही विमानस्थल निमार्णको आशाले लगानी गरेका पर्यटन व्यवसायीदेखि उद्योगी व्यापारीहरु उत्साहित देखिएका छन् ।
उनीहरुले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएमा यो क्षेत्रको अर्थ पर्यटनमा प्रत्यक्ष फाइदा पुग्ने बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले भैरहवा विमानस्थलबाट अन्तरष्ट्रिय उडानको सुरुवात हुनु धेरै खुसीको कुरा भएको बताए । उनले भने, ‘यो भन्दा बढी खुसीको कुरा उद्योगी व्यवसायीहरुलाई अरु के हुन सक्छ र , यसले पक्कै पनि यो क्षेत्रको आर्थिक तथा पर्यटकिय हिसाबले धेरे फरक पर्ने छ ।’
त्यस्तै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले लामो समयदेखि यही विमानस्थल निमार्ण सुरु भएको देखेर अर्बौ लगानी गरेका पर्यटन व्यवसायीहरु निकै उत्साहित भएको बताए । उनले भने, ‘यहि दिनका लागि घर खेत गरेर लगानी गरेका छौं आशा छ अब यो क्षेत्रको पर्यटन व्यवसाय चलायमान हुने छ ।’
विमानस्थल निमार्ण सुुरु भएपछि यो क्षेत्रमा पाँच तारेदेखि विभिन्न खालका होटलहरु निमार्ण भएका छन् । कोभिडका कारण नराम्रोसँग प्रभावित भएका व्यवसायीहरु अन्तर्राष्ट्रिय उडानको समाचारले निकै उत्साहित देखिएका छन् ।