नुवाकोटको थानसिङे लोहनी
कति टाढा, कति नजिक छ नुवाकोट, मुलुकको राजधानीबाट । जति जोडिएको छ, त्योभन्दा धेरै पिछडिएको छ, अहिले पनि । केही गाउँहरू यस्ता पनि छन् जुन बादल पारिको देश जस्तो छ । दुई सय वर्षअगाडिको जस्तो जिउनु एउटा विवशता र जीवन एउटा अचेतन यात्रा बनेको छ, यहाँ । यी गाउँहरूमा नै देख्न सकिन्छ कर्णालीको सेरोफेरो – त्यो पीडा, त्यो छटपटी अनि अमानवीयकरणका घाउहरू । मरुभूमीकरण हुँदै गएका ती पाखा र पर्वतहरू । त्यसैले हरेक वर्ष थप विपत्ति भित्रिँदै आएको छ, यहाँ ।
मुलुकको ऐतिहासिक धरोहर हो नुवाकोट । काठमाडौँ उपत्यकाका तीन मल्ल राजाहरूबीच सधैँ झगडा परिरहने कडी ल्हासाबाट ल्याइने सुनबाट सिक्का टकमरी गर्दा हुने नाफा नै थियो । यो सुन धेरैजसो नुवाकोट भएर नै आउने गर्दथ्यो । र, त्यति बेला भोटको आफ्नो सिक्का नभएको कारण नेपाली सिक्का नै त्यहाँ पनि प्रयोग हुने गर्दथ्यो । र, त्यसै गरी त्यति बेलाको अर्थतन्त्रको सेरोफेरो जमिन थियो, न कि पैसा । जागिर पनि जमीनमा दिइन्थ्यो । १८२६ सालको एकीकरण र १८७२ सालको सुगौली सन्धि अगाडि नेपाल जसरी पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म फैलिँदै गएको थियो, त्यो यही पाटोबाट वर्णन हुन्छ ।
पृथ्वीनारायण शाहले मूलतः काठमाडौँको जमिन प्राप्त गर्नको लागि १८०१ सालमा ‘कन्कररु अर्थात् विजेता हुने यात्रा सुरु गरेका हुन् । यसले एकीकरणको निर्णायक प्रारूप नुवाकोटको विजयपश्चात् बनेको हो जब उनले दस वर्षसम्म यस क्षेत्रबाट काठमाडौँ भोट व्यापारका नाकाहरू रोकेर काठमाडौँको व्यापारिक आम्दानीको स्रोत सुकाउन सके । उनले काठमाडौँका मल्ल राजाहरूले पठाएका सेनासँग पहिलो पटक हारेको ठाउँ पनि नुवाकोट नै हो ।
भोटसँगको युद्धमा उनीहरूको सहायताका लागि आएका चिनियाँ फौजले पहिलो पटक नुवाकोटको पाँचमाने हुँदै असोज ७, १८४९ बुधबारको राति जीतपुर फेदीसम्म पुगी झन्डै काठमाडौँ नै हानिइसकेका थिए यदि यत्नपूर्वक तिनीहरूलाई पठाउन नसकेको भए ।
जुन बेला इस्ट इन्डिया कम्पनी तिब्बतसँग व्यापार गर्न र्याल चुहाएर बसेको थियो त्यति नै बेला तिरहुते विधुवा ब्राह्मणी कान्तावती पट्टीको आफ्नो डेढ वर्षको छोरो गीर्वाणयुद्धलाई फाल्गुन २८, १८५५ मा राजसिंहासनमा राखेर आफू स्वामी राजा बनेका थिए रणबहादुर शाह । कान्तावतीको मृत्युपछिको उनको पागलपनबाट शिशु राजालाई सुरक्षित राख्न विपरीत ध्रुवका दुवै दरबारीया ग्रुप मिलेर ल्याएको ठाउँ पनि नुवाकोट नै थियो ।
त्यसपछि भागेर काशी पुगेका रणबहादुर शाहलाई बनारसमै नियन्त्रण गर्ने सर्तमा मात्र नेपाल सरकारले इस्ट इन्डिया कम्पनीसँग असोज १८, १८५८ मा जुन सन्धि गर्यो त्यस अन्तर्गत व्यापार गर्ने बाटो पनि मूलतः नुवाकोट भएर नै जान्थ्यो । यसरी व्यापार, राजनीति, युद्ध र एकीकरणको सङ्गम बनेको छ नुवाकोट, नेपालको इतिहासमा ।
एक पछि अर्का गर्दै चाङ लागेर अवस्थित पहाडहरूको सँगालो हो नुवाकोट- नेपालको अरू पहाडी जिल्ला जस्तै । यी पहाडहरूलाई नदी र अझ तलतिर आएपछि तिनले बनाएका फाँटहरूले, त कहीँ टारले, एक आपसमा छुट्टाएका छन् । त्रिशुली पछिका ठूला नदीहरू हुन्- लिखु र तादी । र, ठूलो टार हो — बट्टार । यसरी श्रृंखलाबद्ध भएका हुँदा पहाडहरूमा सालाखाला करिब तीन घण्टा उक्लेपछि झर्नैपर्ने हुन्छ ।
लेख (बेसी, उकालो (बराली, भिर–पाखा, भन्ज्याङ (चौतारी, पहाडको जङ्गल, धान फाँटको हरियाली, देउराली — यही नै हो नुवाकोटको पनि । तामाङ धेरै छन् त्यसपछि बाहुन, क्षेत्री नेवार र अरू । एक आपसमा हुने भेटघाट, मेलापात या चाडपर्वमा हुने चिनाजानी, रोदी होस् या एकराते मेला, गाउँदा नाच्दाको उन्मुक्त रमाइलोले दुःखमा पनि हासेका छन् यहाँका गरिब जनता । हाम्रा पुर्खाहरू धेरै बुद्धिमान थिए ।
त्यसैले त पहाडमा कुदेर गाउँ बसाले, अनि फाँट र टारमा खेती गरे । हजारौँ वर्षदेखि, अनि तलदेखि माथिसम्म विभिन्न ससाना पाटाहरूमा भरेङ जस्तो देखिने गरी कुदिएका छन् ती पहाडहरू । यसरी बनेका ती गराहरू साक्षी छन् हजारौँ वर्षदेखिको एउटा कहिले नटुङ्गिएको जिउने सङ्घर्षको । पश्चिमको नाका नै नुवाकोट थियो कुनै बेला । गोरखा, लमजुङ, तनहुँ र पोखरादेखि काठमाडौँ आउँदा नुवाकोटकै बाटो भएर आउनु पर्दथ्यो, चतुराले भएर । नुवाकोटको बट्टार नजिकै टकसार पनि थियो।
काठमाडौँको दक्षिण पूर्वमा यस्तै लमतन्न सुतेको एउटा पहाड लेकदेखि बेसीसम्म फैलिएको छ । त्यहीँ छ लोहनीको गाउँ । थानसिङ हो नाउँ । त्रिशुली प्रोजेक्ट अर्थात् राजधानीका लागि त्रिशुली नदीबाट विद्युत् उत्पादन गर्ने योजना अगाडि काठमाडौँबाट त्यहाँ मोटर बाटो थिएन । काठमाडौँबाट पुरै हिँडेर थानसिङ जानुपर्दा बालाजु, जीतपुर, अर्चले, पाँचमाने, ककनी, धारा, लामपाटी भएर जानु पर्दथ्यो । त्यो बाटो बनेपछि काठमाडौँबाट नागार्जुन हुँदै चालीस मिनेट मोटरबाट उत्तर लागे पछि रानीपौवा पुगिन्छ ।
त्यहाँबाट करिब डेढ घण्टा टोपी खस्ने ओरालो झरेपछि सिँदुरे खोला तर्नुपर्ने हुन्छ । त्यसपछि करिब पन्ध्र मिनेटको उकालोपछि पुगिने मूल थानसिङ गाउँ पुगिन्छ । यसरी हिँडेर म कैयौँ पटक गाउँ गएको हुँ । टोखाबाट गुर्जे भन्ज्याङको बाटो खुलेपछि त अहिले माथि गाउँसम्मै मोटर गाडी पुग्छ । केही वर्ष अगाडि थानसिङ फाँटमा श्रीमद्भागवतको सप्ताह लगाइएको थियो । गाउँलेहरूको निमन्त्रणामा आफैँ गाडी हाँकेर मेरी श्रीमतीसहित म त्यहाँ पुगेका थियौँ । म त जिल्ल परेँ, त्यसरी जान पाउँदा । त्यहाँबाट हामी हिँडेर उक्ल्यौ करिब ४५ मिनेट र पुग्यौ लोहनीको पुर्खौली थलो ।
अब त बालाजुको माछा पोखरीबाट पनि बस पाइन्छ ककनी हुँदै थानसिङको बितलबस्थित महेन्द्र माध्यमिक विद्यालयसम्म पुग्न । यही नै हो मुख्य थानसिङ । अलिक उत्तर लाग्ने बित्तिकै एउटा पुरानो पसल जुन चिनिन्छ हरिभक्तको पसलको नामबाट, त्यसपछिको ठूलो पिपलको बोट, अनि त्यो कटेपछि लोहनीको घर पुगिन्छ । यहाँबाट पूर्वपट्टि जुन ठूलो फाँट देखिन्छ त्यो लिखु नदीले बनाएको फाँटको एउटा भाग हो । त्यो नै छहरे हो । अनि त्यसको अगाडिको डाँडो हो कबिलास । दक्षिणपट्टि थापा गाउँ छ भने उत्तर तर्फ देखिन्छ चौघडा, सेरा फाँट र अझ अगाडि नुवाकोटको डाँडो ।
काठमाडौँ प्राचीन शासकहरूले फलफूलको लागि यहाँ बगैँचा राखेका थिए, मूलतः आँप खानको लागि । त्यसैले सेरा बगैँचा प्रसिद्ध छ । पहिलेको प्रशासनिक क्षेत्र विभाजनमा नुवाकोट पश्चिम १ नम्बर अन्तरगत रहेको थियो । २०१८ सालपश्चात् चाहिँ पचहत्तर जिल्ला मध्येको एक । पहिले नुवाकोट जिल्लाको यही नुवाकोट, जहाँ दरबार रहेको छ, त्यो नै सदर मुकाम थियो जुन पछि सरेर विदुर पुग्यो । गणतान्त्रिक संरचनामा थानसिंङ गाउँ क्षेत्र नं ३ अन्तरगत नुवाकोट जिल्लाको सवै भन्दा सानो लिखु गाउँ पालिकाभित्र समाहित भएको छ । थानसिङको वडा नं १ देखि ७ सम्म उक्त गाउँ पालिकाको वडा नम्बर ६ भित्र परेका छन् ।
नुवाकोटको अरू गाउँ जस्तै थानसिङ पनि टेरेस् अर्थात् ओरालो (भिरालोमा अवस्थित । त्यहाँबाट आधा घण्टा झरेपछि तल फाँट पुगिन्छ । गणतान्त्रिक संरचनाभन्दा अगाडि दक्षिणबाट उत्तरतिर आउँदा वडा नम्बर १ — भट्थोक, २ — बितलब, ३— बिर्ता, ४ — मकैचौर, ५ — चाँप बोट, ६ — फर्सी डाँडा, ७ — विलासपुर ८— छाप थोक, तीन घरे, लामा गाउँ र ९ — मात्रा गाउँ पर्दछन् । रानी पौवाबाट तल झरेपछि पुतली चौतारी आउँछ र त्यहाँबाट थानसिङ सुरु हुन्छ पश्चिमपट्टिबाट । र, यसरी पूर्वतिर झर्दै गएपछि तल छहरे फाँटमा थानसिङ टुङ्गिन्छ । शिखर कटेरी, टारेर, थुम्का — यस्तै यस्तै छन् टोल भित्रका ठेगानाहरू ।
नुवाकोटमा तामाङको बसोबास धेरै भए पनि थानसिङमा भने बाहुन बढी छन् । अट्ठाइस प्रतिशतको उपस्थिति भएको वडा नं ५ मात्रागाउँ बाहेक अरू सबै वडामा बाहुनको बसोबास बढी छ। तामाङको भने सबै वडामा एकरूपता छैन । बडा नं १ भट थोक र वडा नं वडा नं ३ विर्तामा तामाङ एक प्रतिशत मात्र छन् भने वडा नं ९ मात्रा गाउँमा झन्डै जिल्लाब्यापी सरह चवन्न प्रतिशत छन् । बाँकी सात वडामा प्रतिशतको हिसाबमा छँदै छैनन् ।
यसपछि नेवारको बसोबास छ । एउटा कुरा भनिहालौँ । यहाँका नेवारहरू नेवारी भाषा बोल्दैनन् । सायद नचाहेर पनि होइन होला । उनीहरू जान्दै जान्दैनन् । वडा नं १ भट थोकमा तीन र वडा नं ७ विलासपुरमा चार प्रतिशत छाडेर बाँकी सबै वडामा नेवारको उपस्थिति दरिलो छ । वडा नं ५ चाप बोटमा छपन्न प्रतिशत छ भने सबभन्दा कम भएको भने वडा नं ३ मा हो।
अरू बासिन्दा उपस्थितिको क्रम हो — बलामी, सार्की, कामी, दमाईं र दनुवार । घरको करेसाबारी, केही फलफूलको बोट, गाईवस्तु र तल थानसिङ फाँटमा खेती, यही हो यहाँका जनताको जीवनको सेरोफेरो । यो सेरोफेरोको साइज ठूलो हुनेले धान बेचेर केही बचत गरेका छन् भने नहुनेले पनि हातमुख राम्रैसँग जोडेका छन् । गरिबी उदाङ्ग देखिए पनि लिखुले रसिलो बनाएको थानसिङ फाँटले गर्दा यहाँका बासिन्दा कतिपय अरू गाउँको दाँजोमा भाग्यमानी छन् । स्कुल, हेल्थ पोस्ट, हुलाक, बिजुली, खाने पानी उपलब्ध छ यस गाउँमा अहिले । जिल्लाको पहिलो सानो जल विद्युत् योजना यहीँ सुरु भएको हो । हेर्दा उस्तै देखिए पनि यो गाउँको प्रत्येक ठाउँको आफ्नै सुन्दरता छ ।
यही थानसिङ नै लोहनी परिवारको उद्गम स्थल हो । यो हाम्रो पुर्खाको थलो हो, हाम्रो परिवारको मूल जरो हो । यही थानसिङ गाउँको ओर्लिदै गरेको डाँडोमा हालको पुरानो वडा नम्बर ३ मा यस परिवारको घर थियो, र खेती तल फाँटमा । खेतका नामहरू हुन् — छबिसे, पञ्चकन्या, गङ्गामाई, सार्कीसाठी,, रानीपिपले, बाह्ररुम्टो,, बिमरिनी, चक्रबर्ती, धनकुटे,पार्वती इत्यादि । थानसिङ बाहेक मदानपुर, नलगाउँ र बट्टारमा पनि जग्गा रहेको छ ।
करिब १६० वर्ष पुरानो ऐतिहासिक धरोहर बनेको घर माओवादीहरूले २०६१ सालमा ध्वस्त पारे । यो घर कुनै एक लोहनीको थिएन । यो त सबै लोहनीकोबाट पनि अगाडि बढेर गाउँको सामूहिक थलो नै बनिसकेको थियो । त्यो घर जहाँको आँगनबाट पहिलो पटक क, ख, ग सिकेका थिए त्यस भेगका जनताले । थोरबहुत औषधिमूलो पाएका थिए गाउँवासीहरूले । र, समग्रमा भन्नु पर्दा चेतना उघ्रिँदै फैलिएको थियो जहाँबाट, त्यसलाई जनयुद्धको रोमाञ्चमा आहुति गरिदिए — त्यति बेलाको एउटा आवेगमा दौडाइएका केटाहरूले । अब त्यो घर छैन त्यहाँ ।
जे थियो, त्यहाँबाट नै राष्ट्रको विभिन्न फाँटहरूमा फैलिएर यस परिवारले मुलुकको बृहत्तर हितका लागि सकेको योगदान अहिलेसम्म गर्दै आउन सकेको छ । र, यसरी यस परिवारका सदस्यहरूले आ–आफ्नो अस्तित्व, स्वाभिमान र पहिचानलाई आ(आफ्नो सीप, जाँगर र इमानअनुसार जिउँदो राख्न अहिलेसम्म सफल भएका छन् । तसर्थ त्यो मूल जरो, जहाँबाट हामी बढ्यौ, त्यो थानसिङ हो । आज हामी जे भएका छौँ, त्यो थानसिङबाट निसृत भएर नै भएका हौँ । नेपालको नुवाकोट अनि नुवाकोटको थानसिङ ।
नेपालका ब्राह्मणहरू मूलतः कुमाउ र गढवालबाट आएका हुन् । सुगौली सन्धि गर्न बाध्य पारेर ब्रिटिसले लैजानु अगाडि यो नेपालकै थियो । कुमाउमा अहिले पनि लोहानु भन्ने गाउँ छ र भनिन्छ कि त्यहाँबाट आएका ब्राह्मणहरूको थर लोहनी बन्न पुगेको हो । अर्को भनाइ यो पनि छ कि यज्ञ होम गर्दा लौह अर्थात् फलाम पनि पगाल्न सक्ने क्षमता भएकोले लोहनी थर बन्न गएको हो । लोहनी थर मुसलमान समुदायमा पनि रहेको देखिन्छ । हाम्रो वंशज लोहनी भने बसाइँ सर्ने क्रममा मुसिकोटमा आइपुगेको हो । लोहनीहरू त्यहाँबाट दाङमा बस्न पुगेको पनि भनिन्छ । तर जहाँ जे भनिए पनि यस लोहनी परिवारको उद्गम स्थल भनेको मूलतः पश्चिम १ नम्बर थानसिङ नै हो ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार थानसिङमा बसोबास गर्दै आएका लोहनीका वंशजमा कति पुस्तामाथिबाट आएको थियो भन्ने यकिन गर्न गाह्रो पर्दछ । पृथ्वीनारायण शाहले १८०१ साल असोज १४ गते शनिवारको झिसमिसे बिहानीमा काठमाडौँका मल्ल राजाको अधीनमा रहेको र जयन्त रानाले कमान्ड गरेको नुवाकोटमा निर्णायक धावा बोलेका थिए ।
त्यति बेला तीन मोर्चा मध्ये उत्तरको गेर्खु खोलाबाट उक्लेको मोर्चामा सुनुवा लोहनीले पनि लडेका थिए । जहाँसम्म सिलसिलाको कुरा छ राधाकृष्ण लोहनीबाट भने त्यो प्रस्टसँग बनेको देखिन्छ । यिनले शिव मन्दिर निर्माण गरेको आधारबाट हेर्दा लोहनी परिवारले त्यस ठाउँमा रणबहादुर शाहको पालातिरबाट बसोबास गरेको देखिन्छ । राधाकृष्णका छोरा शिव शर्मा लोहनी र तिनको पनि छोराको नाम हो पशुपति लोहनी ।
पशुपति लोहनीले काठमाडौँको किलागलमा छोरा पढाउन घर किनेर त्यहीँ राखेका थिए । उक्त ठाउमा अहिले नयाँ किसिमको घर बनेको छ । दुई छोराहरू मध्ये पद्मनाभको विवाह नेपालको पहिलो गुरुज्यू विजयराजको नातिनी गुरुज्यू नगेन्द्रराजको छोरी कल्प कुमारीसँग भएको थियो । यो लामो अन्तरालमा विभिन्न क्षेत्रमा विशिष्टतापूर्वक (पहिलो फिजिसिष्ट, सिमेन्ट ढलाइ प्रविधि ल्याउने पहिलो नेपाली, अग्रणी सर्जन देखि शिक्षा, प्रशासन र राजनीतिमा काम गर्दै आएका छन् यी थानसिङे लोहनीहरूले यो मुलुकलाई माया गरेर ।