एक बंगाली फकिरको काव्यिक नोस्टाल्जिया
यी बंगाली फकिरसँग रवीन्द्रनाथ टैगोरको अलिक बढी नै चर्चा छेड्न खोजेपछि उनले ठाडो हिन्दीमा प्रश्न गरे, ‘बंगालका विद्रोही कवि काजी नजरुल इश्लामको कविता सुनेको छस् ?’
मैले इमानदारीसाथ काजी साहेबको कविता सुन्न नभ्याएको जानकारी दिएँ । उनले आदेश दिए, ‘खल्तीबाट मोबाइल झिक् र गुगल गरेर हेर् !’
समय नगुमाई मैले उनको आदेश शिरोपर गरेँ । गुगलले दिएका जानकारी स्क्यान गर्दै युटुबको एउटा सम्बन्धित लिंक पछ्याएँ । बज्न थाल्यो, रगत उमाल्ने कविता लेखेर अंग्रेजहरूलाई आच्छुआच्छु पारेका काजी नजरुल इश्लामको ‘विद्रोही’ कविता, बंगाली भाषामा ।
हे भगवान् ! यतिविघ्न ‘विद्रोही’ कविता सायद म जिन्दगीमा पहिलोपटक सुन्दै थिएँ- रगतै उमाल्ने यस्तो शानदार र शक्तिशाली कविता ! कवितामा ‘म को हुँ’ भन्ने प्रश्नका अनेक शक्तिशाली र विष्फोटक जवाफ छन् । ‘म’लाई यति भयानक चित्रण गरिएको छ कि कविता सुनेर आफैँलाई सोध्नुपर्ने हुन्छ, ‘के मात्रै होइन म ?’
‘विद्रोही’ कविता दोहोर्याएर सुनियो । तेहोर्याएर मात्रै होइन, पटक पटक सुनियो । हुँदाहुँदै बंगाली भाषाको ऊर्जामय ‘विद्रोही’ कविता हिजोआज आफ्नो लोरी हुन पुगेको छ । कैयौँ बंगाली कविहरूले यसलाई अनेक भाव मिसाएर वाचन गरेका छन् । सय वर्षअघि जन्मेर करौडौँ मानिसलाई प्रभावित तुल्याएको यो कविता जति सुन्यो, उति उत्साहजनक । वाह ! कविता यति प्रख्यात भयो कि रचयिता काजी नजरुलकै नाम ‘विद्रोही कवि’ हुन पुग्यो । तत्कालीन समयमा भारतमा अंग्रेज राजको विरोध गरिरहेका क्रान्तिकारीहरूको प्रेरक गीत बन्न पुग्यो, उनको यो मानव चेतनाको पराकाष्ठा विष्फोट गर्ने प्रेरक कविता ।
...
बंगालको सिमाना छेउमै पैदा भएको भए तापनि मध्य टिनएजदेखि काठमाडौँ बस्नु परेकाले आफू बंगाली ‘अल्प’ मात्रै बुझ्ने । गाउँ नछाडेका बाल्यकालका मेरा कतिपय साथीहरू फरर बंगाली बोल्छन् । नेपालको पूर्वी सीमानातिर बंगाली बोल्नु भनेको नदीमा माछा मारेर खाए जस्तो मात्रै हो, अरे ।
हुन पनि दुनियाँकै सबैभन्दा मीठासपूर्ण भाषा, बंगाली । बाल्यकालमा श्यामश्वेत टेलिभिजनमा बंगाली कार्यक्रम हेरिन्थ्यो । हरेक दिनजसो बज्ने ‘साट्टा बजे कोरी मिनटे बोंगाली अनुष्ठान्न शुरु हबे’, हाम्लाई कण्ठै थियो । जतिबेला नेपाल टेलिभिजन खुलेको थिएन, त्यतिबेला अग्लो बाँसमा उनेर एन्टिना घुमाउँदै नेपालको कतिपय पूर्वी भेगमा बंगाली टेलिभिजन कार्यक्रम धेरैले हेर्ने गर्दथे ।
बांग्ला कविता र संगीतको शक्तिशाली प्रभावले हुनसक्छ लिपि अप्ठ्यारो भए तापनि बंगाली बोलेको अलिअलि बुझिन्छ । धेरै कुरा नेपाली, हिन्दी र संस्कृतसँग मिल्ने । मूल संस्कृत भएकाले बंगाली भाषा खासै अनौठो पनि लागिहाल्दैन । यदाकदा कुमार सानुले गाएका ठेट् बंगाली गीत सुनेर आनन्द पनि लिने गरिन्थ्यो ।
तर अहिले भर्खरै यो लामो र शक्तिशाली ‘विद्रोही’ बंगाली कविता सुन्दै गर्दा शरीरमा काँढा उम्रिन थाले । यस्तो लाग्न थाल्यो, छेवैको ब्रह्मनालमा सुतेका लासहरू पनि यो कविता सुनेर उठ्न बेर छैन । मैले स्पिकरको भोल्यूम अलिक बढाएँ ।
(यस ऐतिहासिक बंगाली कविताका केही अंशलाई आफ्नो बूताले भ्याएसम्म नेपालीमा अनुवाद गर्ने प्रयास गरिएको छ । त्यसो त यो कविता अनुवाद गर्ने ल्याकत यस लेखकसँग छैन ।)
... म सन्यासी, म सैनिक
म युवराज, बैरागी
म चंगेज, म विद्रोही
सलाम ठोक्छु केवल आफूलाई
म वज्र, म ब्रह्माको हुंकार
म इसाफीलको तुरही
म पिनाक पाणी
डमरु, त्रिशूल, ओंकार
म धर्मराजको दण्ड,
म चक्र महाशंख
प्रणव नाद प्रचण्ड
म आगो ओकल्ने दुर्वाशाको शिष्य
जलाएर खरानी तुल्याइदिन्छु सारा विश्व
म प्राणभरा उल्लास
म सृष्टिको शत्रु, म महा त्रास
म महा प्रलयको अग्रदूत
राहुको गाँस
म कहिले प्रशांत, कहिले अशांत
उन्मत्त स्वेच्छाचारी
म सुरीको रक्तले सिँचिएको
एक नयाँ ज्वाला
म महासागरको गर्जन
म अपगामी, म विस्मय
म बंधन मुक्त कन्या कुमारी
आँखाको ज्वाला
सोह्र वर्षको युवक म
प्रेमी अविचारी !
...
म विधिको सास
म अभागीको दीर्घ सास
म वञ्चित व्यथित पथवासी
म निराश पथिकको सन्ताप
अपमानितहरूको परिताप
अस्वीकृत प्रेमीको उत्तेजना
म विधवाको जटिल वेदना
म अभिमानी, म चित चुम्बन
म चिर कुमारी कन्याका
थरथर हातहरूको प्रथम स्पर्श
म झुकेका आँखाको खेल
कसिएको अँगालोको हर्ष
म यौवन चंचल नारीको प्रेम
चुराहरूको खनखन ...!
उल्टो चश्मा लगाएका बाबाले बजिरहेको कविता केहीबेर रोक्न लगाए । अनि भने, ‘तिमीलाई यो कविता मन परेको भए, आफ्नै पारामा यस्तै अर्को कविता लेख ।’
तर के यो चानचुने प्रस्ताव थियो र ?
...
पशुपतिनाथ मन्दिर छेउछाउ उनी उल्टो चश्मा लगाएर बरालिइरहेका हुन्छन् । त्यसैले उनी यता ‘उल्टा चश्मा बाबा’ भनेर परिचित । उनको अर्को नाम ‘राम राम बाबा’ पनि हो । किनभने, उनको मुखबाट हरहमेशा उच्च आवाजमा निस्किरहेको हुन्छ - ‘राम राम !’ जसमा अरुले पनि उनलाई उसै गरी साथ दिइरहेका हुन्छन् । शिरमा लामालामा जटा । अनुहारमा झ्याप्प दाह्रीजुँगा । आँखामा उल्टो लट्काइएको कालो चश्मा । अनि हातमा पुत्पुत धुँवाइरहेको एउटा चिलिम । खालीखुट्टा छन् । हातमा छैन कुनै कमण्डलु । गलामा छैन रुद्राक्षको माला । भन्छन्, ‘उदासी भेष निराला, ना कण्ठी न माला !’
पश्चिम बंगाल, विष्णुपुरका यी फकिर १२ वर्षदेखि काठमाडौँमा छन् । उनी गौरीघाटको सोमेश्वर मन्दिर बस्छन् । अनि बरालिइरहन्छन्, पशुपति ! फेसबुक र युट्युबमा भाइरल पनि छन् । नेपाली युट्युबरले पोहोर लकडाउनको फुर्सदमा उनको अन्तर्वार्ता लिए । जहाँ उनले नितान्त फरक प्रज्ञा वर्णन गरे । कतिले उनका कुरा पत्याए । कतिले पत्याएनन् । यसले उनलाई केही फरक पर्यो कि ?
‘अलिअलि त फरक पर्यो नै,’ बंगाली टोनमा हिन्दी र अंग्रेजी मिसाएर बाबैले सुनाए, ‘नकारात्मक कमेन्टहरूलाई पनि विश्लेषण गरेर हेरेको छु । यसका अनेक मनोवैज्ञानिक कारण छन् ।’ असली नाम र उमेर बताउन नरुचाउने यी बंगाली बाबाले आफ्नो सन्यस्त नाम ‘कल्प मोचन आनन्द बज्र स्वामी मुनि’ बताए । उनका गुरु श्री श्री १००८ ब्रह्मानन्द स्वामी हुन् । जसले भष्मेश्वर, पशुपतिमा सन् २००९ मा उनलाई दीक्षा दिएका थिए । उनलाई दीक्षा दिएको अर्को वर्ष गुरुले शरीर छाडे । कल्प मोचनजी बालसुलभ आवाजमा भन्छन्, ‘त्यसैले यो मेरो दोस्रो जन्म हो र अहिले म केवल १२ वर्षको भएँ । यस पवित्र न्यायपाल भूमिमा आध्यात्मिक जन्म लिन पाउनु मेरो अहोभाग्य हो ।’
कैयौं पटक यी ‘उल्टा चश्मा बाबा’सँग जम्काभेट भए पनि भलाकुसारी भएको थिएन । तर जब एक दिन उनीसँग कुराकानी छेडियो, कुराकानीले यसरी गति लियो कि त्यसले सकिने नामै लिन मानेन । यस्तो लाग्न थाल्यो, यी फकिर आफैँमा एक विशाल र विराट नवीन ग्रन्थ हुन् । उनी प्रज्ञा बोल्छन् । मानव कल्याण गर्ने सूत्र आविष्कार गरेर जताततै छर्दै हिँड्छन् ।
सबैलाई प्रेम गर्छन् । मुस्कानमा बाँच्छन् । अधिक ऊर्जामा विचरण गर्छन् । कम खान्छन् । कम सुत्छन् । बढीजसो उनका वरिपरि युवाहरू हुन्छन् । युवाहरू पनि उनलाई प्रेम गर्छन् । उनको जीवनशैली हेर्दा लाग्छ, ‘विद्या धनं सर्व धनं प्रधानं !’
उनले उत्साहित भएर सुनाए, ‘मसँग विद्याबाहेक अरु केही छैन र जता पुगे पनि मलाई यो नै काफी छ । म यो पनि भनिदिऊँ कि विद्या दुई प्रकारका हुन्छन् - परहा र आपराह । परहा बुबाआमा वा विद्यालयले प्रदान गरेको विद्या हो भने अपराह आध्यात्मिक गुरुले प्रदान गर्ने विद्या हो । एकलव्य र करणले बिना गुरु पनि विद्या हासिल गर्ने चेष्टा गरेका थिए । तर उनीहरू असफल भए । त्यसैले अपराह विद्या गुरु बिना प्राप्त हुन असम्भव । किनभने, गुरु भनेको सिकाउने मात्रै नभएर आत्मा नै परिवर्तन गरिदिने अल्केमिस्ट हो ।’
उनको प्रमुख सन्देश, ‘यदि शिक्षित समाज निर्माण गर्नु छ भने, गर्भवती स्त्रीहरूलाई पढाउनु पर्छ । एउटा बच्चाको शिक्षा आमाको गर्भबाटै सुरु हुनु अनिवार्य छ । किनभने, गर्भको भ्रुणभन्दा उत्तम अर्को कुनै विद्यार्थी छैन । गर्भवती अवस्थामा स्त्रीहरूले आआफ्नो धर्मको सान्निध्यमा रहनाले धर्मात्मा बच्चा पैदा हुन्छ । धर्मात्मा भन्नाले यस धर्तीलाई चलायमान गर्न प्रकृतिलाई सघाउने उत्तम मानव ।’
उनले बताए अनुसार गर्भवती स्त्रीहरूले मुख्य रूपमा तीनवटा कार्य गर्नुहुँदैन - नराम्रो कुरा नहेर्नू । नराम्रो कुरा नसुन्नू । नराम्रो वाणी नबोल्नू । गर्भावस्थामा ध्यान, संगीत, चित्रकला र अन्य सृजनात्मक अभ्यास गर्नाले प्रतिभाशाली बच्चा पैदा गर्न सकिन्छ । उनलाई जनाइयो, ‘गर्भवती हुनुभन्दा निकैअघि, कामक्रीडामा प्रवेश गर्नुअघि नै विशेष शिक्षा दिने हो कि ? किनभने, मदानी ठीकसँग नमथी घिउ कसरी उम्दा निस्केला ? मने, बिऊ रोप्नुअघि खेत हिल्याउँदै उचित शिक्षा...!’ उनी फिस्स हाँसे । केही बोलेनन् ।
केहीबेर वातावरण चकमन्न भयो । वागमतीको कलकल तेज सुनिन थाल्यो । केहीबेर आँखा बन्द गरेर उनले भने, ‘आलिङ्गनलाई नै मानिसहरू सेक्स भन्छन् । यहाँ आलिङ्गन शिक्षा ठीक छैन । विवाह भ्रष्ट भएर गएको छ । दोष सबै खानपानलाई जान्छ । किनभने, खानपान बेठीक भए जिन्दगी स्वतः अधोगतिमा चल्दिन्छ । अर्को कुरा, पशुवध नरोकिएसम्म धर्तीमा राम्रो बच्चा पैदा हुन सक्दैन ।’
...
कविता बजेर सकिएपछि बाबैले आदेश दिए, ‘यो कविता सुरुदेखि फेरि बजा ! म आफ्नो बालापनसँग अरु बढी नोस्टाल्जिक हुन चाहन्छु । अनि यो पनि बताइदिऊँ कि विद्रोही कविता भगवान् शिवको आवाज हो जसलाई हिन्दु धर्म मान्ने एउटा इश्लाम कविले रचना गरेको थियो ।’
वास्तववमै नजरुल हिन्दु धर्म मान्ने एक मुसलमान थिए । उनले प्रमिला नाम गरेकी एक हिन्दु कन्यासँग विवाह गरेका थिए । उनको विवाहका कैयौं विरोधहरू भए । हुने नै भए । किनभने, नजरुल मौलवी खानदानका । प्रमिला ब्रह्म समाजकी । उनीहरूको प्रेम देखेर हिन्दु र मुसलमान दुवैतर्फका कट्टरपन्थीहरू चिढिएका थिए । तर नजरुल र प्रमिलाले कसैको सुनेनन्, प्रेमको सुने । विवाहपश्चात् प्रमिलालाई ‘कलमा’ पढाएर आफ्नो धर्ममा प्रवेश गर्न परिवार र समाजबाट दबाब भए पनि नजरुलले इन्कार गरिदिए र प्रमिलालाई धर्मको मामिलामा स्वतन्त्र छाडिदिए ।
उल्टा चश्मा बाबाले आदेश दिए बमोजिम ‘विद्रोही’ कविता सुरुदेखि फेरि बज्न थाल्यो,
बोल वीर
बोल चिर उन्नत मेरो शिर
मेरो ललाट निहार
झुकेको छ हिमद्र शिखर
बोल वीर
बोल महाविश्व महाआकाश चीर
सूर्य चन्द्र भन्दा पर
धर्ती पाताल स्वर्ग भेद
ईश्वरको सिंहासन छेडेर
उठेको छु म
म धर्तीको एकमात्र शाश्वत विष्मय
हेर, मेरा आँखामा
दीप्त विजयको दिव्य तिलक
ललाटमा चिर स्थिर
बोल वीर, बोल चिर उन्नत मेरो शिर !
म दायित्वविहिन क्रूर निर्दयी
महाप्रलयको नटराज
म चक्रवात विध्वंस
म महाभय, म पृथ्वीको व्याकुलता
म निर्दयी, सबथोक तोडफोड म गर्दिनँ विलाप
म अनियम, उच्छृंखल
कुल्चेर हिँड्छु म नियम कानुन शृंखला
मान्दिँन कुनै प्रभुता
म दृष्टिविहिन, म बारुदी विष्फोट ...!
युटुबमा कविता बज्दाबज्दै अलिक ठूलो आवाजमा बाबैले सुनाए, ‘यही कविता वाचन गरेर मेरो बाल्यकाल बितेको थियो । अहिले सुन्दा शरीरमा काँढा उम्रिए । लु, हेर् !’ उनले दुवै नारीमा बुरुरु उम्रिएका काँढा देखाए । उनका आँखामा आँसु टिल्पिलाएका थिए ।
भावुक हुँदै उनले छोटकरीमा आफ्नो जीवनकथा पनि सुनाए, ‘म जन्मिनुअघि मेरा सात दिदीहरू थिए । मेरा बुबाले पुत्रको माग गर्दै तीन वर्ष लगातार चन्द्र र सूर्यको पूजा गरेपछि मेरो जन्म भयो । मेरो एउटा भाइको पनि जन्म भएपछि ज्योतिषीले बुबालाई भनेछन्, उपासना गरेर पुत्रलाभ भएको हुँदा एउटा पुत्रलाई धर्मदान गर्नु अनिवार्य हुन्छ । त्यसपछि म नौ वर्षको हुँदा मेरा बुबाले मलाई सडकमा छोडिदिए । यस्तो मेरो जीवन हो । भगवान्का अलावा मेरो कुनै जीवनसाथी छैन । आउन त मेरो जीवनमा धेरै मान्छे आए । तर उनीहरू जसरी आए, उसरी नै बेपत्ता पनि भए । त्यसैले मेरो जीवनमा छन् केवल भगवान् !’
नेपाल आउनुअघि भारतकै विभिन्न मठमन्दिर र आश्रमहरूमा हुन्थे । यी १२ वर्षमा वोधगया जानेआउनेबाहेक अन्त खासै घुमेका छैनन् । वोधगया उनको तपस्थली र पशुपतिनाथचाहिँ गुरुस्थली हो, रे । सुनाउँछन्, ‘मेरो मान्यता के छ भने, नेपाल एक तपस्थली हो र यहाँका कणकणमा गुरु निवास गर्छन् ।’
उनलाई एउटा आत्मघाती प्रतिप्रश्न, ‘अहिले एक भ्रष्ट देश कहलिएको छ, नेपाल । कता कुन गुरुको कुरा गर्नुभयो, हजुर ?’ उनको स्वतःस्फूर्त र सकारात्मक जवाफ, ‘राक्षसी र तामसी खानपानका कारण मान्छेहरू भ्रष्ट भएका हुन् । खानपान सात्विक हुनासाथ चमत्कार हुन्छ यहाँ ।’
‘कस्तो चमत्कार ?’ प्रश्न स्वाभाविक ।
‘यहि कि नेपाल दुनियाँभरकै सबैभन्दा उच्च आध्यात्मिक ऊर्जाले भरिएको भूमि हो र यति आध्यात्मिक शक्तिले भरपूर अर्को कुनै स्थान छैन । यहाँ जो जन्मिन्छ, यदि उसले आफूलाई सत्मार्गमा लैजान चाह्यो मात्रै भने पनि ऊ सिद्ध पुरुष बन्दछ !’ उनले जोड दिँदै बताए, ‘यो दुनियाँ बदल्ने सुरुवाती र शक्तिशाली बिन्दु भनेकै तिमीहरूको देश नेपाल हो ।’
...
हामी सूर्यघाटमा बसेर कुराकानी गरिरहेका थियौँ । छेवैमा कलकल बगिरहेको बागमतीको उनले अलिक फरक अर्थ लगाए । भने, ‘बाग भन्नाले जंगलको बाग होइन । खासमा बाग होइन, वाक् हो । याने वाक्मति - वाक्यमति । सत्य वाक्यमति !’ यस्तो व्याख्या म पहिलोपटक सुनिरहेको थिएँ । ध्यानपूर्वक उनलाई ग्रहण गरियो । उनी वेद र उपनिषद्का विभिन्न श्लोक उदृत गरेर आफ्ना कुराहरू राखिरहेका थिए । लाग्यो, सचेत मुद्रामा यिनलाई सुन्दै जाने हो भने, एउटा मोटो ग्रन्थै तयार हुन सक्छ । मैले उनलाई चलाएँ, ‘कि लेखौँ त एउटा पुस्तक तपाईंमाथि ?’
उनले सहस्र भने, ‘पहिले मेरो सान्निध्यमा बसेर मलाई पूरै पढ् । अनि मैले शरीर छाडेपछि निकाल्लास् पुस्तक । आल्तुफाल्तु, सतही कुरा लेखेर काम छैन ।’ भोजन खराब भएर मान्छेहरू भ्रष्ट भएका हुन् र भ्रष्टाचार निर्मूल गर्न मान्छेहरूको आहार बिहारमा सुधार हुनु जरुरी भएको औंल्याउँदै उनले भने, ‘मानिसको बानी व्यहोरा सिधै परिवर्तन गर्न सकिँदैन । तर आहारविहार परिवर्तन गरेर बिस्तारै सुधार गर्न सकिन्छ ।’
बाबैले जोड दिँदै केही खजाना खोतले, ‘प्रत्येक पहाडका टाकुरामा धूना बाल्दा पृथ्वीभित्रको ग्यास नियन्त्रणमा रहन्छ । त्यसैले नेपालमा सदियौँदेखि धूना बाल्ने प्रचलन छ । धूना बाल्दा अन्तरिक्ष पनि स्वच्छ हुने गर्छ । धूना बाल्दा भूकम्प आउँदैन । ज्वालामुखी विष्फोट हुँदैन । तर केही दशकयता नेपालमा धर्म नष्ट भइरहेको र धूना बाल्न छाडिएकाले २०७२ सालमा यहाँ भयंकर भूकम्प आएको हो । धर्मको यस्तै हुर्मत काढिँदै गए अब यहाँ ज्वालामुखी विष्फोट हुन पनि बेर छैन ।’
‘तपाईं हमेसा उल्टो चश्मा किन लगाउनुहुन्छ ?’ उनलाई सोधियो ।
उनको जवाफ, ‘यो मेरो सिक्रेट हो । कुनै जवाफ छैन !’
अनि उनी आफ्नै पारामा लेघ्रो तानेर ‘राम राम !’ भन्दै हाँसे ।
वरिपरि बसेका युवाहरूले पनि उसै गरी उनलाई साथ दिए, ‘राम राम !’
...
उनलाई सोधियो, ‘विद्रोही कवितामा तपाईंलाई मन परेको अंश ?’
‘सबै उत्तम छ । तर पनि ...’ यसो भनेर उनी बंगालीमा काजी नजरुललाई गाउन थाले ।
जसलाई नेपालीमा अनुवाद गर्दा यस्तो हुन गयो -
... जानिसकेँ मैले आफूलाई
आज खुलिसकेका छन् सब वाद
म उत्थान, म पतन !
...
म मुक्त जीवन आनन्द
म चिर-चंचल उछल कूद
म नित्य उन्माद
गर्दछु म आफ्नो मनको
छैन कुनै लाज
म शत्रुसँग गरुँ अंकमाल
चाहे मृत्युसँग लडाऊँ पञ्जा
म उन्मत्त, म झंझा
म महामारी, म धर्तीको बेचैनी
शासनको आतंक, संहार
म प्रचण्ड चिर-अधीर
बोल वीर
बोल चिर उन्नत मेरो शिर !
...
म देवशिशु, म चञ्चल
म दाँतले चिथोरिदिन्छु
विश्व जननीको आँचल
अनि बाँसुरी बजाउँछु
ज्वरग्रस्त संसारलाई म बडा
ममताले सुताइदिन्छु
म शामको बाँसुरी !
म अन्याय, म उल्का, म शनि
म धुमकेतुमा प्रज्ज्वलित विषधर कालफनी
म छिन्नमस्ता, चंडी
म सर्वनाशको दस्ता
म नर्काग्नीमा बसेर बालकझैँ हाँस्छु
हाहाहा ...!
...
म चिन्मय
म अजर, अमर, अक्षय
म मानव, दानव, देवताहरूको भय
जगदीश्वर ईश्वर
म पुरुषोत्तम सत्य
म चिर्दै हिँड्छु स्वर्ग, नर्क
म अस्वत्थामा कृत्य
म नटराजको नृत्य
म परशुरामको कठोर प्रहार
निक्षत्रिय तुल्याइदिन्छु विश्व
म ल्याउँछु शान्ति शान्त उदार
म बलरामको यज्ञ
यज्ञकुण्डमा हुनेछ दाहक दृश्य
म महाविद्रोही अक्लान्त
त्यसदिन हुनेछु शान्त
तर तबसम्म
म दृढ विद्रोही बनेर
भगवान्को छातीमा पनि
लातहरूले दिइरहनेछु धक्का
तबसम्म
म विद्रोही वीर
पिएर जगत्को विष
बनेर विजय ध्वजा
विश्व रणभूमिको मध्यमा
उभिनेछु एक्लै
चिर उन्नत शिर
म विद्रोही वीर
बोल वीर ...!
...
यस कविताका रचयिता काजी नजरुल इश्लाम (२५ मे १८९९ - २९ अगस्त १९७६) आफ्नो समयका एक अग्रणी बंगाली कवि, उपन्यासकार, सम्पादक, नाटककार, अभिनेता, संगीतकार, दार्शनिक तथा स्वतन्त्रता सेनानी थिए । उनका रचनाहरूको सम्मान पश्चिम बंगाल र बंगलादेशमा उत्तिकै छ । उनले बांग्ला साहित्यलाई एक नयाँ पहिचान दिलाए । उनका कविताहरूको मूल विषय मानव उत्पीडन, सामाजिक अन्याय र शोषण विरुद्धको खरो आवाज हो ।
उनी धार्मिक कट्टरताका सख्त विरोधी थिए र हमेशा सत्ताको विरुद्धमा कलम चलाउन रुचाए । उनी ‘दुखु मियाँ’ नामले पनि चिनिन्थे । उनका ‘चल चल चल’, ‘विद्रोही’, ‘नजरुलगीति’, ‘अग्निविना’, ‘बाँधन हारा’, ‘धूमकेतु’, ‘विषेर बाँशी’ जस्ता कृतिहरू उल्लेखनीय छन् । उनी इश्लाम दर्शनबाट अत्यधिक प्रभावित थिए । साथै रुमी, टैगोर र हाफिजबाट पनि उत्तिकै प्रभावित थिए ।
उनले ‘धूपछाया’ नामक एउटा बंगाली चलचित्रको निर्देशन पनि गरेका थिए भने सोही चलचित्रमा उनले अभिनय पनि गरे । सन् १९३१ मा निर्माण गरिएको बंगाली भाषाको छोटो चलचित्र ‘जामाई षष्ठी’ र शरतचन्द्र चटोपाध्यायको कथामा निर्मित ‘गृहदारा’मा उनले गीतरचना गरेका थिए । सन् १९३५ मा सार्वजनिक गरिएको ‘पातालपुरी’ र रबीन्द्रनाथ ठाकुरको उपन्यासमा आधारित चलचित्र ‘गोरा’का संगीत निर्देशन काजी नजरुल थिए ।
साथै १९३९ मा रिलिज भएको चलचित्र ‘सापुडे’का पटकथा लेखक र संगीतकार पनि उनै नजरुल थिए । उनले ‘रजत जयन्ती’, ‘नन्दिनी’, ‘अभिनय’ तथा ‘दिकशूल’ जस्ता बंगाली चलचित्रहरूमा गीत लेखे भने ‘चौरङ्गी’ नामक एक हिन्दी चलचित्रमा समेत गीत लेखेका थिए । ‘चौरङ्गी’का लागि उनले ७ वटा गीत रचना गरेका थिए । उनले सन् १९१७ मा तीन वर्ष सैनिक भएर पनि कार्य गरे । उनी ४९औं बंगाली सैन्यसमूहमा हवल्दार थिए ।
जाँदाजाँदै प्रस्तुत छ, यिनै बहुमुखी प्रतिभा काजी नजरुलद्वारा सय वर्षअघि लिखित एक महत्त्वपूर्ण वाणी- हिन्दु र मुसलमानलाई स्वीकार गरे तापनि म टुप्पीवाला र दाह्रीवालालाई अस्वीकार गर्दछु । टुप्पी हिन्दुत्व होइन । दाह्री इश्लाम होइन । टुप्पी पण्डितको निशानी हो । दाह्री मुल्लाको पहिचान हो । यहाँ जुन लडाईं भइरहेको छ त्यो पण्डित र मुल्लाहरू बीचको हो । हिन्दु र मुसलमानबीचको होइन । म केवल मुसलमानहरूका लागि आएको हुँ भनेर कुनै पैगम्बरले भनेका छैनन् । न त पैगम्बरले आफू कुनै हिन्दु वा इसाईका लागि आएको बताएका छन् । पैगम्बरले भने, म प्रकाश जस्तै सारा मानवताका लागि आएको हुँ । तर यहाँ कृष्णका भक्त भन्छन्, कृष्ण हिन्दुहरूका हुन् । मुहम्मदका अनुयायीहरू बताउँछन् कि मुहम्मद केवल मुसलमानहरूका हुन् । यसैगरी ईसा मसिहमाथि ईसाईहरू हक जमाएर बसेका छन् । कृष्ण-मुहम्मद-ईसा मसिहलाई राष्ट्रिय सम्पत्ति बनाइएको छ र यो नै सारा समस्याको जड हो ।
-२ सेप्टेम्बर १९२२, बंगाली पत्रिका ‘गनबानी’बाट ।
एक शताब्दिअघि यति जागृत चेतनाको विगूल फुक्ने बहुमुखी प्रतिभा काजी नजरुल इस्लामको अन्त्य भने निकै दर्दनाक थियो, हाम्रै कवि गोपालप्रसाद रिमालको जस्तो । जीवनका उत्तराद्र्धमा काजी नजरुल विक्षिप्त भए । उनकी श्रीमती प्रमिला पनि विक्षिप्त । यस ‘जालिम दुनियाँ’का अनेक बाधाविरोध र रासायनिक प्रतिक्रियाका कारण कुनै पनि सत्यका पुजारीहरूको अन्त्य चाहे जसरी भएको होस् उनीहरूका रचनाले भने उनीहरूलाई कहाँ त्यसरी विक्षिप्त भएर मर्न दिन्छन् र ?
काजी नजरुल अमर छन् !
राम राम !!