अरुणको प्रसारण लाइनबाट विद्युत् व्यापार गर्न पाउने व्यवस्था पीडीएमै गरिनेछ : ऊर्जामन्त्री

काठमाडौं - ऊजामन्त्री पम्फा भुसालले अरुण तेस्रोको प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणले विद्युत् व्यापार गर्न पाउने व्यवस्था मिलाउन भारतीय कम्पनी सतलजसँग हुने आयोजना विकास सम्झौता (पीडीए) मै लेख्न प्रस्ताव गरिने बताएकी छिन् ।
लगानी बोर्डकी पदेन सदस्यसमेत रहेकी ऊर्जामन्त्री भुसालले उक्त प्रसारण लाइनबाट विद्युत् व्यापार गर्ने कुरा पीडीएमै लेख्न प्रस्ताव गर्ने र लेख्न लगाउने वचन पनि दिएकी छिन् ।
तल्लो अरुण र सामुदायिक सहयोग कार्यक्रमबारे भोजपुरवासीका तर्फबाट शुक्रबार ज्ञापन पत्र बुझ्दै मन्त्री भुसालले भनिन्, ‘अरुण तेस्रोको प्रसारण लाइनबाट भारततर्फ विद्युत् पठाउन भोजपुरवासीले राखेको माग सकारात्मक र मुलुकको हितमा छ । राम्रो कुरा उठाउनुभयो । यो प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणले व्यापार गर्न सक्छ । यो कुरा भारतीय कम्पनी सतलजले गर्ने लगानी सम्झौत (पीडीए) मा लेख्न प्रस्ताव गर्ने र लेख्न लगाउनेछु ।’
अरुण तेस्रो (९०० मेगावाट) निर्माण गरिरहेको सतलजले तल्लो अरुण (६७९ मेगावाट) हात पारिसकेको छ भने अरुण–४ (४९०.२ मेगावाट) नेपाल विद्युत् प्राधिकरणसँग मिलेर निर्माण गर्न समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । तल्लो अरुणको पीडीएका बेला उसले बनाएको प्रसारण लाइन उपयोग गर्न पाउने बन्दोवस्ती गर्न भोजपुरवासीले प्रधानमन्त्रीसमक्ष पनि गत असार १५ गते ध्यानाकर्षण गराएका थिए ।
भोजपुरवासीका प्रतिनिधिमण्डलसँग कुरा गर्दै मन्त्री भुसालले माथिल्लो अरुण स्वदेशी लगानीमा निर्माण गर्न पाए विदेशी ऋण कम हुने बताइन् । ‘भरसक स्वदेशी लगानीले आयोजना बनोस् । नेपालको पानी जनताको लगानीअन्तर्गत कार्यविधि, कम्पनीसम्बन्धी व्यवस्था परिमार्जन गरी शेयर लगानीको अवसर भोजपुर, संखुवासभा मात्र नभएर देशभरिका जनतालाई दिन सकिन्छ ।’
मन्त्री भुसालले तल्लो अरुण भोजपुर र संखुवसभाको साझा नदी भएको हुँदा दुवै जिल्लाले त्यसको लाभ बराबर पाउने पनि जानकारी दिइन् । ‘यसको शेयर, पब्लिक सपोर्टको रकम (८० करोड रुपैयाँ), रोयल्टी सबै दुई जिल्लालाई बराबर बाँडिनेछ र म आफै लगानी बोर्डको सदस्य भएकाले यो कुरा पीडीए लगानी सम्झौतामा लेखिनेछ ।’
माथिल्लो अरुणमा भोजपुर र संखुवासभावासीले कति लगानी गर्ने हो लेखेर दिन पनि मन्त्री भुसालले प्रतिनिधिमण्डललाई आग्रह गरिन् । ‘यो सस्तो आयोजना भए पनि आठ–नौ वर्षमा बन्ने र २५ वर्षपछि सबै शेयर–आयोजना सरकारको हुनेछ,’ भुसालको भनाइ थियो, ‘यो कुरा इप्पानका साथीहरु, विज्ञ र पूर्व मन्त्रीले जनतालाई बुझाउन सक्नुपर्छ ।’
माथिल्लाे अरुण मात्र हाेइन अरुण-४ मा पनि नेपाल विद्युत प्राधिकरण सहभागी भएकाले संखुवासभा र भाेजपुरवासी मात्र हाेइन देशभरका जनताले आफूले सकेकाे लगानी गर्न पाउने गरी मन्त्रालयले आवश्यक नीति परिवर्तन गरेर भए पनि दिन तयार रहेकाे मन्त्री भुसालकाे भनाइ थियाे ।
नेपाल सरकारका जलस्रोत सचिवसमेत रहिसकेका पूर्व अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ऊर्जामन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको थियो । भोजपुर र संखुवासभामा उत्पादन हुने जलविद्युत् भारतीय बजारसम्म पुर्याउन अरुण तेस्रो र तल्लो अरुणको प्रवद्र्धक भारतीय कम्पनीले प्रसारण शुल्क (ह्विलिङ चार्ज) लिएर सुविधा दिनुपर्ने माग भोजपुरवासीको छ ।
अरुण नदीबाहेक भोजपुर र संखुवासभामा ६ सय मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना छ । अहिले पनि निजी क्षेत्रले करिब ५ सय मेगावाटको अनुमति लिएर सर्वेक्षण गरिरहेका छन् ।
सतलजले अरुण तेस्रो (९०० मेगावाट निर्माणाधीन) र तल्लो अरुण (६७९ मेगावाट सर्वेक्षण) र अरुण–४ (४९०.२ मेगावाट सर्वेक्षण) गरी तीनवटा आयोजना हात पारेको छ ।
नेपालका यी महत्वपूर्ण जलविद्युत् आयोजनाहरु हात पारेका सतलजले उसले निर्माण गर्न लागेको ४०० केभीको डबल सर्किट प्रसारण लाइन नेपालका निजी क्षेत्र तथा विद्युत् प्राधिकरणलाई उपयोग गर्न दिएर भारतीय बजारसम्म पुग्ने बाटो भोजपुरवासीले खोजेका हुन् ।
यो प्रसारण लाइनले चार मेगावाटभन्दा बढी बिजुली बोक्न सक्छ । सतजलले अरुण नदीका आयोजनाहरुबाट उत्पादित बिजुली नेपाली भूमि हुँदै ढल्केबरसम्म लैजाने र त्यहाँबाट भारत पठाउने योजनामा छ ।
नेपाल सरकारले भारतीय सरकारी कम्पनीलाई तीनवटा आयोजना दिंदा भारत तथा बंगलादेशसम्म बिजुली व्यापार गर्ने प्रसंग उठाउन नसकिरहेका बेला भोजपुरवासीले सरकारलाई त्यस्तो सुविधा लिनका लागि आग्रह गरेका हुन् ।
यसअघि भोजपुरवासीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी अरुण नदीमा निर्माण हुने वैदेशिक लगानीका आयोजनाहरुमा भोजपुर र संखुवासभावासीले २५, २५ अर्ब रुपैयाँ लगानी गर्न पाउनुपर्ने ध्यानाकर्षण गराएका थिए ।
ऊर्जासचिव सुशीलचन्द्र तिवारीले भाेजपुरवासीका माग प्रति मन्त्रालय सकारात्मक रहेकाे बताए ।
ऊर्जामन्त्रीको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देव, विद्युत् प्राधिकरणका निर्देशक प्रबल अधिकारी, मन्त्रालयका सहसचिव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी, भोजपुर नगरपालिकाका मेयर कैलासकुमार आले, जलविद्युत् उद्यमी विक्रम विष्ट, दावाली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठ, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, ऊर्जा उद्यमी रोशन बस्नेत सहभागी थिए ।
र, यो पनि
सतलजको प्रसारण लाइनबाट भारतसँग विद्युत् व्यापार गर्न माग
माथिल्लो अरुणमा २५ अर्ब लगानी गर्न भोजपुरवासीले गुहारे प्रधानमन्त्री
तल्लो अरुणको लाभ पाउन भोजपुरवासीले गुहारे राष्ट्रपति

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया