आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

पीसीआर परीक्षणको ‘फर्जी धन्दा’ : स्वाब नै नलिएर ‘नेगेटिभ’ रिपोर्ट, एयरपोर्टबाटै फर्किए १२२ जना

काठमाडौँ : सिनामंगलस्थित सूर्या ल्याबबाट पीसीआर नेगेटिभ आएको रिपोर्ट लिएर त्रिभुवन विमानस्थल पुगेका १२२ जनालाई फर्काइएको छ । सूर्या ल्याबमा परीक्षण गरिएको पीसीआर रिपोर्ट लिएर विभिन्न देश जानका लागि विमानस्थल पुगेका व्यक्तिहरूलाई फर्काइएको हो । 

विदेश यात्राका लागि पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । तर सूर्या ल्याबले नमुना नै नलिइ नक्कली रिपोर्ट बेच्ने गरेको खुलासा भएपछि उक्त ल्याबको रिपोर्ट बोकेर यात्रा गर्न खोज्ने १२२ जनालाई फर्काइएको हो । बिमानस्थलबाटै फर्काइएपछि उनीहरुले विरोध जनाएका थिए । सो क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारबाटै स्वीकृति प्राप्त ल्यावमा आफुहरुले परिक्षण गर्दा पनि सरकारले विदेश जान रोकेको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।

बुधबारमात्रै काठमाडौंमा ९ हजार रुपैयाँ तिरेर नक्कली पीसीआर परीक्षण रिपोर्ट बनाउने गरेको खुलेको थियो । मंगलवारमात्र महानगरीय अपराध महाशाखाको टोलीले सिनामंगलमा रहेको सूर्या हेल्थ केयर प्रालिमा छापा मार्दा नक्कली पीसीआर रिपोर्ट बनाएको खुलेको हो। चार घण्टामा नै स्वाब नै नै नलिइ नेगेटिभ रिपोर्ट दिने गरेको खुलेपछि ल्याबका सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।