'उखु किसानको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर'

काठमाडौँ - उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानहरुको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका सांसदहरुले समस्याको समाधान दीर्घकालिन रुपमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उखु किसानहरूको समस्यालाई बारम्बार बल्झाउनु नहुनेमा सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नगदेबालीको रुपमा रहेका उखु लगायतका बालिहरुलाई व्यक्तिगत रुपमा मात्रै लगाएमा समस्या दोहोरिइरहने बताए । उनले उखुबालीलाई सामूहिक उत्पादन गर्नुपर्ने बताए ।
उखु उत्पादन व्यवस्थित रुपमा नभएको भन्दै उनले उखु उत्पादनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । त्यस्तै चिनी उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने उनको भनाई छ । देशमा चिनीको कति खपत हुन्छ भन्ने निक्र्यौल गरेर उपभोग गर्न पुग्नेगरी देशमै उत्पादन गर्नुपर्ने उनले बताए ।
त्यसैगरी राष्ट्रिय सभा सदस्य कमला पन्तले उद्योगीले किसानलाई समयमै रकम भुक्तानी नगर्ने गरेको भएपनि यसप्रति सरकार गम्भीर नभएको बताइन् । उनले उखु उत्पादनलाई सहकारीको माध्यमबाट अगाडि बढाउन सके राम्रो हुने धारणा व्यक्त गरिन् । निजी क्षेत्र, सरकार र सहकारी मिलेर उखु उत्पादन गर्नुपर्नेमा उनको जोड छ ।
राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले नीतिगत निरन्तरता नदिनाले उखु किसानको समस्या समाधान हुन नसकेको बताइनु । उनले सरकार बदलिनासाथ नीति पनि बदलिने हुँदा उखु किसानको समस्या दिनप्रतिदिन बल्झिएको बताइन् । समस्या समाधानका निम्ति एउटै नीतिको निरन्तरता हुनुपर्ने उनले उल्लेख गरिनु । राष्ट्रिय सभा सदस्य भट्टले किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कानुनी दायरामा ल्याउन र भुक्तानी दिलाउन किन रोकिएको भनि सरकारलाई प्रश्न समेत गरिन् ।
राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले किसानहरू उखु उत्पादनका लागि प्रोत्साहित हुन नसकेको बताए । उनले देशभित्रका किसानलाई उखु खेतीमा प्रोत्साहित गर्न र देशलाई आर्थिक रुपमा सबल बनाउन देश बाहिरबाट नीति आयात हुन नदिने नीति बनाउनुपर्ने बताए ।
राष्ट्रिय सभा सदस्य सिंगबहादुर विश्वकर्माले किसान, उद्योगी र सरकार कसैलाई पनि मार नपर्नेगरी उखुको मूल्य निर्धारण हुनुपर्ने बताए ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानलाई उखु किसान भएरै बाँच्न दिन सरकार समक्ष आग्रह गरे । उनले देशलाई कृषि प्रधान देश भनिएपनि उद्योग प्रधान देश बनेको टिप्पणी गरे । उनले उखु किसानका धेरै समस्या रहेको भन्दै समस्या समाधानका निम्ति सरकारले चासो नदिएको बताए । सरकारले समयमै मल दिन नसकेको र उद्योगले भुक्तानी नदिने गरेको उनले बताए । अध्यक्ष मैनालीले आफूहरुले उखु शून्य मूल्यमा बेच्न बाध्य भएको बताए ।
अध्यक्ष मैनालीले उखु खेतीका लागि बैंकमा ऋण लिन जाँदा खेतको चिसो सकिइसकेपछि ऋण स्वीकृति हुने गरेको भन्दै सोही कारण उत्पादन बढाउन नसकिएको गुनासो गरे । उखु किसानका समस्याहरु समाधान हुन नसक्दा उखु किसान उखु खेतीबाटै पलायन हुने गरेको उनको भनाई छ । उचित मूल्य नपाउँदा किसानलाई उखु खेती नगर्न आह्वान गर्नुपर्ने अवस्था आएको उनले बताए ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया