धानखेती हुने जमिन र उत्पादन बर्सेनि घट्दै, जीडीपीमा चार प्रतिशत योगदान

काठमाडौँ- गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यस वर्ष धान उत्पादन केही बढेको देखिए पनि अघिल्ला वर्षको तुलनामा भने न्यून देखिएको छ । धान उत्पादन मात्र नभई पछिल्ला वर्षमा धान खेती हुने जमिनको क्षेत्रफल पनि निरन्तर घट्दो छ । यद्यपि, धानको उत्पादकत्व र वार्षिक उत्पादन वृद्धिदरमा भने क्रमशः सुधार हुँदै गएको देखिन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘चालु आर्थिक वर्ष २०७९/८० को धान उत्पादनसम्बन्धी विवरण’ अनुसार यस वर्ष १४ लाख ४७ हजार सात सय ८९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिकटन उत्पादन भएको छ । जबकि, गत आर्थिक वर्ष २०७८/७९ मा देशभरको १४ लाख ७९ हजार तीन सय ७८ हेक्टर जमिनमा धान खेती गरिएको थियो । जसबाट ५० लाख ४७ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।
चालु आर्थिक वर्षको तुलनामा गत वर्ष धानखेती भएको जमिनको क्षेत्रफल बढी देखिन्छ । तर, उत्पादन कम छ । त्यसअघिका तीन आर्थिक वर्षमा भने अहिलेको भन्दाबढी धान उत्पादन भएको थियो । मन्त्रालयको विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ मा ५६ लाख १० हजार, २०७६/७७ मा ५५ लाख ५० हजार र २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।
त्यस्तै, धान खेती हुने जमिनको क्षेत्रफल पनि निरन्तर घट्दो देखिएको छ । आर्थिक वर्ष २०७३/७४ मा नेपालले धानखेती गरेको जमिनको क्षेत्रफल १५ लाख ५२ हजार चार सय ६९ हेक्टर बराबर थियो । त्यो क्रमशः घट्दै गएर यस वर्ष १४ लाख ४७ हेक्टरमा खुम्चिएको छ । आर्थिक वर्ष २०७४/७५ मा १४ लाख ६९ हजार पाँच सय ४५ र आर्थिक वर्ष २०७५/७६ मा १४ लाख ९१ हजार सात सय ४४ हेक्टरमा धान खेती भएको थियो । त्यस्तै, २०७६/७७ मा १४ लाख ५८ हजार नौ सय १५ र २०७७/७८ मा १४ लाख ४९ हेक्टर जमिनमा धान खेती भएको देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यस वर्ष धान बाली लगाइएको समग्र क्षेत्रफल दुई प्रतिशतले घटेको देखिन्छ ।
यस वर्ष समग्र उत्पादनमा छ दशमलव ९४ प्रतिशतले र उत्पादकत्वमा नौ दशमलव १२ प्रतिशतले बढेको छ । गत वर्ष एक हेक्टर जमिनमा तीन दशमलव ४१ मेट्रिकटन बराबर धान फलेको थियो । यस वर्ष एक हेक्टरमा तीन दशमलव ७९ मेट्रिकटन धान फलेको देखिन्छ ।
प्रदेशगत रूपमा गत आर्थिक वर्षको तुलनामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब ३३ दशमलव ३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । गत वर्ष मौसमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा निकै क्षति भएका कारण उत्पादनमा पनि कमी आएको थियो । यस वर्ष अवस्था सामान्य भएकाले गत वर्षको तुलनामा उत्पादन बढी देखिएको हो ।
गत वर्षको तुलनामा लुम्बिनी प्रदेशमा १५ दशमलव दुई प्रतिशत, प्रदेश–१ मा पाँच दशमलव ७२ प्रतिशत र कर्णालीमा तीन दशमलव ४६ प्रतिशतले धान उत्पादन बढेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै, बागमती प्रदेशमा एक दशमलव ४५ प्रतिशतले, गण्डकी प्रदेशमा तीन दशमलव ७४ प्रतिशत र मधेश प्रदेशमा शून्य दशमलव १८ ले बढेको छ ।
यस वर्ष नेपालको कूल गार्हस्थ्य उत्पादनमा धान उत्पादनले करिब चार प्रतिशत बराबर योगदान गरेको पनि मन्त्रालयले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि हुनुका कारण गत वर्ष धानबाली भित्र्याउने बेलामा २०७८ असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म सुदूरपश्चिम र लुम्बिनीमा भारी वर्षा भएको थियो । जसको असर उत्पादनमा देखिएको हो ।
बेमौसमी वर्षाकै कारण गत वर्ष लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक लाखभन्दा बढी हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा करिब आठ दशमलव ७४ प्रतिशत उत्पादनमा कमी आएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेल गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढी देखिनुमा केही महत्वपूर्ण कारण रहेको बताउँछन् । 'यस वर्ष मौसम औसत रहेको, ढिलोगरी भए पनि तराईका जिल्लामा रासायनिक मल उपलब्ध भएको, उन्नत तथा हाइब्रिड जातको बीउ प्रयोग हुनु र स्थानीय तहसम्म कृषि प्रविधिको पहुँचमा केही वृद्धि भएका कारण धान उत्पादनमा सामान्य वृद्धि भएको हो,' प्रवक्ता सञ्जेलले भने ।
सबै प्रदेशका कृषि मन्त्रालय र जिल्लाबाट प्राप्त धानबाली लगाइएको क्षेत्रफल तथा उत्पादनका आधारमा कृषि तथ्याङ्क प्राविधिक समितिको सिफारिसले यो विवरण तयार पारेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया