ड्रागन खेतीबाट वार्षिक १६ लाखसम्म आम्दानी गर्दै कर्णालीका मुख्यमन्त्री

सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले ड्रागन खेतीबाट मनग्य आम्दानी गरेको बताएका छन् ।
शर्माले वार्षिक रूपमा ड्रागन खेतीबाटै १६ लाखसम्म आम्दानी गर्दै आएका छन् । शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै ड्रागन खेती गर्दै आएको जनाएका छन् । मुख्यमन्त्री शर्माले आठ वर्षअघि लमही नगरपालिका दाङमा ६ सय बेर्ना लगाएर ड्रागन खेतीकाे सुरुवात गरेका हुन् ।
उक्त समयमा बेर्ना खरिद लगायतका सामग्रीमा तीन लाख रुपैयाँ खर्च भएको उनको विवरणमा उल्लेख छ । मुख्यमन्त्री शर्माको अचल सम्पत्तिमा श्रीमती प्रतिभा केसीको नाममा दाङको लमही नगरपालिका– १ मा ३५७२.९१ वर्गमिटर जग्गा रहेको उल्लेख छन् । सो जग्गा पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ ।
यस्तै रुकुमको चौरजहारी नगरपालिका–१४ मा बाबु चन्द्रप्रकाश शर्माको नाममा अन्दाजी ४ देखि ५ रोपनी र रुकुमपश्चिमकै वडा नम्बर २ मा २१२० वर्गमिटर आफ्नो नाममा रहेको छ । यसको स्रोत पैतृक, कृषि आय र सेवा सुविधाबाट प्राप्त भएको उल्लेख छ ।
मुख्यमन्त्री शर्माले कसैलाई पनि तिर्न बाँकी ऋण नभएको उल्लेख गरेका छन् भने कुनै पनि कम्पनीमा उनको सेयर लगानी समेत नभएको उल्लेख गरेका छन् । उनले रुकुमको मुसिकोटमा रहेको नेपाल बैंकमा पाँच लाख नगद रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यो रकम उनको पारिश्रमिकबाट प्राप्त भएको बताइएको छ । उनी यसअघि रुकुम पश्चिमको जिल्ला समन्वय प्रमुखसमेत भइसकेका हुन् ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया