जो अरुको घरमा रङ लगाउँछन्, तर आफ्नै जिन्दगी छ रङहीन

२९ वर्षीय लवकुमार ठाकुर मजदुर हुन् । उनी घरमा रङ लगाउने काम गर्छन् । तर, अरुका घर रङ्याएर चिरिच्याँट्ट बनाउने उनको जिन्दगी भने रङहीन छ । यसो भनौँ, उनको जीवन रङहीन बनाइन्छ, काम गरेको ज्याला नदिएर । विगत ९ वर्षदेखि यो पेसा अँगाल्दा उनी दशौँपल्ट ठेकेदारबाट ठगिएका छन्, शोषित भएका छन् । उनलाई कुनै ठेकेदारले एक सुको पनि दिँदैनन् त कसैले आधा मात्र दिन्छन् ।
गत शनिबार ठाकुरसँग एक ठेकेदारले जडीबुटीस्थित एउटा घरमा रङ लगाउने प्रस्ताव राखे । उनले प्रस्ताव सकारे । दुई पक्षबीच ७ हजार रुपैयाँमा काम गर्ने, गराउने सहमति भयो । उनले चार दिन लाएर काम सके । तर, उनले अहिलेसम्म पैसा पाएका छैनन् । ठेकेदारलाई फोन गर्दा उठ्दैन । उठिहाल्यो भने पनि गाली पाइन्छ ।
फोन गर्दागर्दा थाकेपछि आफूमाथिको अन्याय सुनाउन ठाकुर प्रहरीकहाँ पुगे । तर, उनले प्रहरीबाट पनि सहयोग पाउन सकेनन् । प्रहरीले यसमा आफूले केही गर्न नसक्ने भन्दै उनलाई श्रम कार्यालय जान सिफारिस गर्यो । उनी गए । तर, श्रम कार्यालयले उनलाई प्रहरीमै जान भन्यो । ‘म प्रहरी र श्रम कार्यालयको चक्कर काट्दा काट्दा थाकिसकेँ,’ उनले इकागजसँग दिग्दारी पोखे, ‘म काम गरुँ कि प्रशासन धाऊँ ?’
प्रहरी र श्रम कार्यालय धाएको यो पहिलोपल्ट होइन । दशौँपल्ट धाइसकेका छन् । सम्बन्धित निकायबाट पनि सुनुवाइ नभएपछि अब भने उनले थप नधाउने निधो गरेका छन् । अचेल उनी मिडिया गुहार्दै हिँडिरहेछन् । यही क्रममा ठाकुर इकागजमा आइपुगे ।
धनुषा शान्तिपुर स्थायी घर भएका ठाकुर सिनामंगलको एउटा होटलमा बस्छन् । खाना र बसाइका लागि उनलाई दैनिक ७ सय रुपैयाँ आवश्यक पर्छ । त्यो रकम सधैँ जुट्न सक्दैन । ‘ठेकेदारबाट पैसा नपाउँदा कहिलेकाहीँ भोकै बस्न सकिन्छ, तर होटलको भाडा त सधैँ तिर्नुपर्यो नि,’ उनले सुनाए, ‘ढिलो हुँदा साहुले कराउँछ ।’
गएको वैशाख ४ गतेको कुरा हो । उनलाई एक ठेकेदारले हरिहर भवनस्थित एक घरमा रङ लगाउने काममा लगे । एक सातामा काम सकियो । ठेकेदारले पैसा भोलि दिन्छु भन्दै आफ्नो नम्बर थमाए । तर, अर्को दिन कल गर्दा फोन उठेन । थुप्रैपल्ट प्रयास गर्दा बल्लबल्ल फोन उठ्यो, तर उनले पैसा होइन गाली पाए । ‘ठेकेदारले धेरै हल्ला नगर नत्र तँलाई गायब बनाइदिन्छु भन्यो,’ उनले भने ।
ठाकुरले केही ठेकेदारको नम्बर हामीलाई उपलब्ध गराए । हामीले थुप्रैपल्ट फोन गर्दा पनि कुनै उठेनन् । सधैँ एउटै सँग काम नगर्ने भएकाले उनलाई ठेकेदारको नाम थाहा हुँदैन । ठेकेदारहरूले पनि उनलाई आफ्नो नाम भन्दैनन् । भन्छन् त केवल, उनीहरूले ठाकुरलाई आफ्नो सधैँ अफ हुने, लागे नउठ्ने र उठिहाले भने पनि गाली फर्काउने नम्बर ।
ठाकुर यो श्रृंखलावद्ध शोषण र ठगीबाट आजित भइसकेका छन् । तर, उनीसँग कतै जाने ठाउँ छैन । गाउँमा गरिबीले सताएपछि कामको खोजीमा ९ वर्षअघि काठमाडौं आएका थिए, उनी । सहरमा उनले काम त पाए, तर त्यसले उनको गरिबी छलिएन ।
ठेकेदारको सास्तीबाट मुक्त हुन ४ वर्षअघि उनी साउदी अरब गए । तर, त्यहाँ उनलाई हावापानीले साथ दिएन । अस्वस्थ भएपछि उनी केही महिनामै नेपाल फर्किए । नियतिले उनलाई फेरि त्यहीँ पुर्यायो, जहाँबाट उनी उम्किन खोजेका थिए ।
उनको नागरिकता पनि एक ठेकेदारले लगेर हराइदिए । नागरिकता नभएकै कारण उनी थुप्रैपल्ट राम्रो दाम आउने कामबाट वञ्चित हुनुपरेको छ । पैसा नभएरै पुनः नागरिकता प्राप्तिका लागि उनी गाउँ जान सकेका छैनन् ।
धनुषामा उनका बाआमा छन् । ‘उहाँहरूले छोराले केही ल्याइदेला भन्ने आशा गर्नुहुन्छ, तर उहाँहरूको अपेक्षा पूरा गर्न सक्ने मेरो अवस्था छैन । त्यसैले पनि धेरै भयो म घर गएको छैन,’ फिस्स हाँस्दै उनले भने ।
ठाकुर आफ्नो व्यथा सुनाउन विभिन्न पार्टीका किसान–मजदुर संगठन पनि पुग्छन्, तर न्याय दिलाउन कसैले पहल गर्दैन । उनलाई किसान–मजदुरको हकहितका लागि खुलेका संगठनहरू बुख्याँचामात्र लाग्छन् । उनी भन्छन्, ‘यो देशमा किसान–मजदुरको न्यायका लागि न पार्टी बोल्छन् न त तिनका संगठनहरू ।’

सेरीनको चौथो बुढानीलकण्ठ अन्तरविद्यालय फुट्सल प्रतियोगिता आयोजना हुँदै

शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनद्वारा “एससीएसएमएफ स्पोर्टस अवार्ड”को दोस्रो सं…
आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

प्रतिक्रिया