शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सांसद सिंहको प्रश्न– बैंकले ठूला व्यापारीलाई अर्बौँ ऋण दिने तर गरिबलाई एक लाख पनि ऋण नदिने ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले ठूला व्यापारीले अर्बौँ दिने तर गरिबलाई एक लाख पनि ऋण नदिने भन्दै प्रश्न गरेका छन् । आइतबार संघीय सदनमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्तुत गरिएको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले गरिब जनतालाई पनि ऋण दिनुपर्ने बताए  ।

बैंकहरू व्यापारी केन्द्रित भएको बताउँदै उनले भने, ‘जति पनि बैंक छन् सबै ठूला व्यापारीहरूका लागि मात्रै छन् । नेताज्यूको घरघरमा ठूला व्यापारी आउँछन् । गरिब किसान, दलित, चेपाङ घरमा कोही आउँदैनन् ।’

उनले अगाडि भने, ‘जगदम्बा ग्रुपले कति ऋण लिएको छ ? चौधरी ग्रुपले कति ऋण लिएको छ ? ज्योति ग्रुपले कति ऋण लिएको छ ? ठूलाले अर्बौंमा ऋण लिने तर, गाउँको गरिबलाई बिना धितो एक लाख पनि ऋण नदिने ?’

बैंकको यही विभेदका कारण गरिब जनताहरू मिटरब्याज लिने बाध्य भएको उनको ठहर छ ।