के हरियाले बाँझो खेतमा ट्युबेल गाड्ला ?

काठमाडौँ- कृषि तथा पशु पन्छी विकास मन्त्रालयले शुक्रबार मात्र जारी गरेको तथ्यांकले यो साल ६८ प्रतिशत मात्र रोपाइँ भएको जनाउँछ । गत साल यही समयमा ८८ प्रतिशत रोपाइँ भएको मन्त्रालयको आँकडा छ । अर्थात् यो साल २० प्रतिशत खेत बाँझै रहनेछन् ।
यसरी २० प्रतिशत खेत बाँझै रहेको कारण चाहिँ बिऊ वा हल गोरु नभएर होइन । पानी नभएर हो । यो साल वर्षायाममा पनि पुग्दो पानी नपरेपछि किसान बाँझो खेत टुलुटुल हेर्न बाध्य भएका हुन् ।
वर्षायाममा पनि किसानले खेत रोप्न नपाएका समाचार आइरहेका बेला यही मौसमको छेकोमा पुरानो नाटकघरमा एउटा नाटक मञ्चन भइरहेको छ, ‘ट्युबेल’ । रोशन सुवेदीको परिकल्पना तथा निर्देशन रहेको नाटकले पनि किसानको यही समस्यालाई विषय बनाएको छ । अर्थात् बाँझो खेतमा सिँचाइको कल्पना । ट्युबेल राखेर बाह्रै महिना केही न केही खेती गर्ने किसानको सपना ।
कथाले हामीलाई २४ वर्षअघि पुर्याउँछ , २०५६ सालमा । प्रजातन्त्रको दोस्रो पुनर्बहालीपछि सरकारले भूमिगत जलस्रोत विकास परियोजना अन्तर्गत सिँचाइको असुविधा भएका ठाउँमा ट्युबेल उपलब्ध गराउने कार्यक्रम सुरु भएको छ । यसका लागि सरकारी प्रतिनिधि लालबहादुर खड्का (भुवन लुहार) तथ्यांक संकलन गर्दै र उपयुक्त ठाउँमा ट्युबेल राख्ने ठाउँ खोज्दै एक दिन सेढवा आइपुग्छन् ।
उनको तजबिजले ट्युबेल राख्नका लागि हरिया (राजीव चौधरी) को जमिन उपुयुक्त ठहरिन्छ । लालबहादुरले हरियालाई यसको सूचना दिन्छन् । खेत बाँझो भएर आजित भएका हरियाका लागि यो खबर कम्ता खुसीको खबर हुँदैन । उनले श्रीमती मुन्नी (निशा दाहाल)लाई पनि यो खुशखबरी सुनाउँछन् । दम्पती नै दंग पर्छन् । तर ट्युबेल राख्न पनि सरकारको सर्त छ , २० प्रतिशत रकम ट्युबेल राखिने जग्गा धनिले तिर्नुपर्नेछ । ८० प्रतिशत सरकारले अनुदान दिन्छ । कथानुसार सरकारले यसरी ट्युबेल गाड्न ५ लाख खर्च हुने अनुमान गरेको छ जुन समुदायले सामूहिक रुपमा तिर्नुपर्नेहुन्छ । तर हरियाको खेतमा गाडेको ट्युबेलले आफूहरुको खेतीमा सिँचाइ नहुने भन्दै गाउँका मानिस तर्कन्छन् ।
खेतमा पानी ल्याएर सुन फलाउने सपना देखेको हरियाले येनकेन गरेर सरकारलाई १ लाख बुझाउँछ । तर यसरी सरकारलाई पैसा बुझाएको केही समयमा नै सरकारी कर्मचारीले अनुदानको स्वरुप फेरिएको र किसानले २० हैन ८० प्रतिशत रकम बुझाउनु पर्ने नयाँ नियम लागू भएको सूचना दिन्छन् । अर्थात् अब हरियाले थप ३ लाख बुझाउनु पर्ने हुन्छ । सँगै लालबहादुरले बाँकी पैसा नबुझाउने हो भने पहिला तिरेको १ लाख रुपैँया पनि फिर्ता नहुने तीतो सूचना दिन्छन् । खेती गरेर बाह्रै महिना सुन फलाउने हरियाको सपना चकनाचुर हुन्छ । नहरमा माछाका भुरा संगलेर जीवन चलाउने हरियाले बाँकी ३ लाख तिरेर खेतमा ट्युबेल गाड्ला ? नाटकको कथा यही वरिपरि घुमेको छ ।
वर्षायाममा पनि किसानले खेत रोप्न नपाएका समाचार आइरहेका बेला यही मौसमको छेकोमा पुरानो नाटकघरमा एउटा नाटक मञ्चन भइरहेको छ, ‘ट्युबेल’ ।
राजधानीका नाटकघरमा मञ्चन हुने नाटकमा मधेसका चरित्रमा फाट्टफुट्ट देखिने रोशनको जन्मस्थान महोत्तरी हो भने कर्मस्थान पर्सा । रोशनले नाटकलाई प्रस्तुत गर्ने यही कर्मभूमिको भाषा छनौट गरेका छन् । अर्थात् नाटक पुरै भोजपुरी भाषामा छ । लालबहादुर बनेका भुवन लुहारले बाहेक बाँकी सबै चरित्रले भोजपुरी भाषा बोल्छन् जुन यो नाटकको सुन्दर पक्ष हो । कलाका कथा र चरित्रमा स्वामित्वको कुरा उठिरहेको समयमा उनले मधेसको कथालाई त्यही समुदायको भाषा र चरित्रद्धारा प्रस्तुत गरेका छन् । यसका लागि रोशनले डिस्टिङसन पाउँछन् ।
यो नाटकको दोस्रो राम्रो पक्ष चाहिँ कथाको उठान हो । सरकारी कागज र सरकार हाँक्ने मन्त्री –प्रधानमन्त्रीका ओठमा सुपरग्लु झैँ टाँसिरहने शब्द हो, नेपालको कृषि । कृषिसँगै किसानका समस्या पनि भाषणहरूमा पनि नछुटाइ उच्चारण गरिन्छन् । तर नेपालमा किसानहरू पहिले खेती नै गर्न नपाएर तडपिने गरेका छन् त खेती गरेका किसान मल नपाएर । अझ यही साल त गाईगोरुमा देखिएको लम्पी स्किन भन्ने रोगले किसानका पेटमा लात बजारिरहेको छ ।
यस्तो अवस्थामा किसानका समस्यालाई उजागर गर्नु पनि नाटकको उल्लेखनीय पक्ष हो । तेस्रो कुरा चाहिँ नाटकमा हामीले बिल्कुलै नयाँ अनुहार देख्छौँ जो कथाको माटोसँग तादाम्यता राख्छन् । तर नाटकमा नयाँ भए पनि मञ्चमा देखिने हरेकको अभिनय उत्तम छ । लेखकले सिर्जना गरेको दुनियाँलाई कलाकारले नबिझाउने गरी मञ्चमा प्रस्तुत गरेका छन् । मञ्चको परिकल्पना पनि सुन्दर छ । लुगा, लवजसँगै सेट निर्माणले पनि दर्शकलाई स्वादले तराई पुर्याउँछ ।
तर रोशन सुवेदीको लेखन कथालाई गहिराईमा लैजान भने चुकेको छ । लेखनले हरियाका लागि ट्युबेल कति जरुरी थियो भनेर दर्शकलाई महसुस गराउँदैन । अनि नाटकमा सरकारको भूमिका पनि नाटकीय छ । केही समय पहिले २० प्रतिशत अनुदान दिए पुग्ने निर्णय सरकारले कसरी रातारात फेर्छ ? वा यसमा लालबहादुरको षड्यन्त्र थियो भने यसको संकेत दर्शकले पाउँदैनन् ।
सिँचाइको कुरालाई लिएर मञ्चमा दन्तबझान गर्ने हरिया र चित्तरन्जन (रोहित रजक) खेतको भूगोल अझै मज्जाले प्रष्टिएको भए, चित्तरन्जनले हरियामाथि गर्ने जालझेल थप रोचक हुनसक्थ्यो । अनि ट्युबेल राख्नका लागि सारा पैसा हरियाले मात्र तिर्नुपर्ने कुरा पनि लेखकीय/निर्देशकीय लिबर्टी जस्तो महसुस हुन्छ । किनकि सरकारले ट्युबेल त्यो गाउँकै सिँचाइका लागि राख्ने गरेको होला नकि हरियाका लागि मात्र । त्यसैले पैसा पनि गाउँले सबैले तिर्नुपर्ने होला न कि हरिया एक्लैले ?
नाटकमा मूलभूत रुपमा प्रश्न गर्ने ठाउँहरु छाड्दा छाड्दै पनि तराईको कथा मञ्चमा उक्लनु सकारात्मक कुरा हो । यो कुराको जस रोशन र उनका कलाकार– प्राविधिक टिम सबैलाई जान्छ । यदि तपाईँ नाटकमा उही अनुहार र खस नेपाली भाषा मात्र सुनेर अलि उग्राउनु भएको छ भने तपाईँले ट्युबेल चलाउन सक्नुहुन्छ ।
नाटकमा राजीव चौधरी , निशा दाहाल, श्रवण यादव, अरविन्दकुमार मोर्य, रोहित रजक, कुन्दन र भुवन लुहारलाई मञ्चमा देख्न सकिन्छ भने जानुका नेपाल, शरद राई र दीपेश राईलाई पनि मञ्चमै देख्न सकिन्छ तर गायन–वाद्यवादनको भूमिकामा ।
नाटक साउन १५सम्म बुधबारबाहेक हरेक दिन साढे ५ बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै, १३ देशको सह…

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
काठमाडौँमा दक्षिण एसियाली उत्कृष्ट महिला कलाकारका सिर्जनाको प्रदर्शनी हुने

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

मह जोडीको अन्तिम प्रहसन 'मह जात्रा' कमलादीमा सुरू

प्रतिक्रिया