सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

नेपालको पहिलो एनिमेसन चलचित्र ‘सलिना’को टिजर सार्वजनिक

काठमाडौँ - रेनमेकर एनिमेसन एकेडेमीको निर्माण रहेको चलचित्र ‘सलिना’को टिजर सार्वजनिक गरिएको छ । एनिमेसन गरी तयार पारिएको यो चलचित्रलाई नेपालकै पहिलो एनिमेटेड चलचित्र दाबी गरिएको छ ।

यो चलचित्र नेपाली भाषामा पूर्णरुपमा तयार भइसकेको छ भने हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको छ । ‘सलिना’लाई सन् २०२३ भित्रमानै सिनेमा हलहरुमा प्रदर्शनीमा ल्याउने तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।  चलचित्रलाई तेजस राज जोशीले निर्देशन गरेका हुन् भने निर्माताको रुपमा तेजस राज जोशी र श्रुति श्रेष्ठ रहेका हुन् ।

यो चलचित्रलाई सम्पादक शिव पुरी र श्रुति श्रेष्ठले संयुक्त रुपमा सम्पादन गरेका हुन् । पुरीले यसअघि दर्जनौं चलचित्रहरुमा सम्पादन गरिसकेका छन् भने उनलाई श्रेष्ठले सम्पादन कार्यमा साथ दिएकी छन् । चलचित्रको ग्राफिक कलाकारहरुमा स्रगीन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर रहेका छन् । 

चलचित्र ‘सलिना’ले राजकुमारी सलिनाको कथा बताउँछ । चलचित्रमा उनले अरू पात्रहरु सँग मिलेर विशाल राक्षसनीलाई हराउने कथा बुनिएको छ । रेनमेकर एनिमेसन एकेडेमी बालाजु, काठमाडौंमा अवस्थित एक एनिमेसन र भिजुअल इफेक्ट एकेडेमी हो । जसले विगत १० वर्ष देखि थ्रीडी एनिमेसन र भिजुअल इफेक्ट सम्वन्धी तालिम प्रदान गर्दै आएको छ । 

यो चलचित्रमा सुशील नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगीन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य, कृष्मा राजकर्णिकार आदिले आवाज दिएका छन् ।