बुधबार २८ साउन, २०८२
Wednesday, August 13, 2025

कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव : महानायक हमाल

फाइल तस्बिर

काठमाडौँ- महानायक राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताएका छन् । बिहीबार काठमाडौँ आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

हमालले नेपाललाई विकास गर्नु छ भने सम्पन्न बनाउनु छ भने एग्रिकल्चरलाई नै प्राथमिकतामा राख्नुपर्ने जिकिर गरे । उनले कृषिबाट मात्रै देशलाई विकासतर्फ लैजान सकिने उनकाे भनाइ छ । नेपालको क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र भएकाले अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न नसक्ने उनले बताए ।

नेपालले विश्वमा आफ्नो स्थान बनाउनु छ भने कृषिलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा हमालले राखे । आधुनिकताको नाममा पुराना संस्कृतिलाई मास्ने काम भइरहेको पनि उनले बताए ।

कृषक र कृषि प्राविधिकहरूको यो प्रतियोगिता नेपालमै पहिलो पटक भएको हो । जसलाई दुई भागमा विभाजन गरिएको छ । १६ औं एपिसोडसम्म रअ कार्यक्रम चल्नेछ । जसमा कृषि प्राविधिकहरुको छुट्टै र कृषकहरूबीच छुट्टै प्रतिष्पर्धा हुनेछ । कार्यक्रम सञ्चालन महानायक राजेश हमालले गर्नेछन् । दुवैतर्फ एक/एक विजेता चयन हुनेछन् । विजेताले १० लाख भन्दा बढी नगद पाउनेछन् ।

त्यस्तै कार्यक्रम कुन टेलिभिजनबाट प्रशारण हुने भन्ने टुंगो लागि नसकेको भए पनि माघबाट प्रतिष्पर्धा सुरु हुने आयोजकले जनाएको छ ।