कस्तो छ मुकुन–मेनुकाको ‘गणपति’ ?

काठमाडौँ - बिहीबारबाट जनैपूर्णिमाको बिदा सदुपयोग गर्न हलमा लागेको ‘गणपति’चलचित्रले गणपति नामक चरित्रको विभिन्न कालखण्डको जीवनकथा प्रस्तुत छ । नामले यो धार्मिक चलचित्र जस्तो लागे पनि यो गणेशको आशीर्वाद पाएर जन्मिएको ठानिएको पात्रको कथा हो । उनको चरित्रले सहर उन्मुख गाउँका युवाको मनोदशा र दैनिकीलाई प्रस्तुत गरेको छ ।
बुढेसकालमा गणेशको पूजा गर्दा गर्दा प्रकाश घिमिरे र सूर्यमाला शर्माको कोखबाट गणपतिको जन्म हुन्छ । तर जन्म यस्तो स्वरुपमा हुन्छ कि ठ्याक्कै गणेश जस्तो । सुँड भएको । गणेश जन्मिएको भन्ठानेर सारा गाउँलेले पूजा गर्छन्,खुट्टा ढोग्छन् । तर एक दिन डाक्टरले गणपतिको सुँढ भगवान नभएर ट्युमर भएको बताउँछन्, गाउँ, समाज र परिवार पनि गणपतिबाट टाढिँदै जान्छ । हिजोसम्म पूज्य गणपति बेकार मानिन थाल्छ ।
यसको असर गणपतिले न पढ्न सक्छ न अरु कुनै काम नै । घरमा बाउ छोराको द्वन्द्व बढ्दै जान्छ । अझ यही बीचमा गणपतिको भाइ जन्मिएपछि त बाबुले गणपतिलाई फुटेको आँखाले पनि देख्न सक्दैनन् । तर परिवारका लागि भगवानबाट जिरोमा झरेकोे गणपति कसरी हिरो बन्छ ? चलचित्रको मोटामोटी कथा यही हो ।
चलचित्रको सुरुवात र अन्त्य सशक्त छ । बीचमा दृश्यहरू सुन्दर छन् तर अधिकांश दृश्यहरूले कथा अगाडि बढाउँदैनन् । चलचित्रको कथा बिना कुनै लक्ष्य र अवरोध साढे दुई घन्टा तन्किएको छ । यो कुरामा ध्यान दिन सकिएको भए ‘गणपति’ सुन्दर सिनेमा बन्थ्यो । तर पनि लेखक समेत रहेका निर्देशक सविन अधिकारीले पहिलो सिनेमाबाट प्रशस्त सम्भावना देखाएका छन् ।
चलचित्रमा मुख्य चरित्रको लक्ष्य स्थापित छैन । बाबुले पनि गणपतिलाई हरदम गाली गरिरहन्छन् तर पर्दामा गणपतिले गाली खाने काम गरेका दृश्यहरु स्थापित छैनन् । यसले कथामा भएको एउटा मात्र द्वन्द्वलाई पनि गहिराईमा पुर्याउन सकेको छैन । गणपति र साथीबीचका दृश्यले मज्जाले हँसाउँछन् तर तिनको उपस्थिति पनि मूलकथामा जोडिन पाएको भए सिनेमा अझ रोचक हुन्थ्यो । यसैगरी मेनुका प्रधानको चरित्र पनि कथामा यत्तिकै छुटेको छ ।
दृश्यलाई स्वेटर झैँ नबुनिएको भए पनि निर्देशक सविन अधिकारीले एक दृश्य सुन्दर बनाएका छन् । कलाकारले बोल्ने संवाद चोटिला छन् र मौलिक पनि । चरित्रको विविधिकरण पनि रोचक छ । कलाकारको अभिनय पनि राम्रो छ । फिल्मभरी छाएका मुकुन भुसालले प्रभावकारी अभिनय गरेका छन् । राजाराम पौडलले सदाझैँ हँसाउँछन् । समग्रमा ‘गणपति’ एक पटक हेर्न लायक छ । उत्ताउलो गतिका चलचित्र हेर्नेले अलि धैर्य गर्नसक्नुपर्छ र त्यति गर्न सकियो भने यो फिल्म हेरेर निस्कँदा गुनासो चाहिँ रहन्न ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया