शुक्रबार २२ चैत, २०८१
Friday, April 04, 2025

विद्युत चुहावट नियन्त्रणका पाइलाहरू–४

विद्युत् चुहावटमा योगदान पुर्‍याउने विभिन्न घटकहरूको योगदानबारे यसभन्दा पहिला विद्युत चुहावट नियन्त्रणका पाइलाहरू, विद्युत चुहावट नियन्त्रणका पाइलाहरू –२, विद्युत् चुहावट नियन्त्रणका पाइलाहरू–३ मा विस्तारमा चर्चा गरिएको छ । उक्त घटकहरूमा थोक बिक्रीबारे यथेष्टमा चर्चा नगरिएकोले नेपाल विद्युत् प्राधिकरणमा थोक बिक्रीमा वृद्धि हुँदै जाने भएकोले यस विषयमा पनि चर्चा गर्नु आवश्यक देखिन्छ । 

विद्युत चुहावट प्रतिशत र थोक विक्रीहरूको सहसम्बन्धः 

हाम्रो विद्युत प्रणालीको विद्युत चुहावट प्रतिशतमा अर्को घटकले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

विद्युत् प्रणालीमा चुहावट नियन्त्रणसम्बन्धी कुनै काम नगरे पनि चुहावट प्रतिशत घटीबढी भइरहेको हुन्छ । संस्थाको विद्युत चुहावट घट्यो भने संस्था प्रमुखलाई सबैको वाहवाही मिल्छ र बढ्यो भने सबैले आलोचना गर्न थाल्छन् । विद्युत प्रणालीमा यस्ता किसिमको भूमिका निर्वाह गर्ने घटक थोक बिक्री अर्थात् औद्योगिक ग्राहकहरू, सामुदायिक संस्थाहरू विद्युत निर्यात आदिलाई लिन सकिन्छ । यसका लागि पहिलो उदाहरणको रुपमा लाहान वितरण केन्द्रलगायत विभिन्न परिस्थितिमा चुहावट प्रतिशत स्थितिको विश्लेषण गरौं ।

(१)    आ.व. सन् २०००/०१ मा लाहान वितरण केन्द्रमा ३ करोड २३ लाख २३ हजार ३३३  युनिट प्राप्त भई २ करोड ९१ लाख ८० हजार ५७९ युनिट बिक्री भएको थियो । यसले गर्दा विद्युत् चुहावट ९.७३ प्रतिशत थियो । जबकि त्यसबेला नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट २४ प्रतिशत थियो । यस विद्युत बिक्रीमा उदयपुर सिमेन्ट कारखानाबाट २ करोड २५ लाख २८ हजार २४२ युनिट खपत समावेश थियो । उक्त उद्योगको लागि इलेक्ट्रोनिक मिटर जडान भएकोले मिटरमा केही गडबडी छ वा कैफियत छ भन्न सक्ने अवस्था छैन ।

उक्त उद्योगको खपतलाई लहान विद्युत केन्द्रको पूरा खपतबाट घटाएर विद्युत चुहावटको गणना गर्‍यो भने त्यहाँको विद्युत चुहावट ३२ प्रतिशत हुन आउँछ । यस्तो किन भयो भने उद्योगको खपतमा कुनै चुहावट छैन तर उद्योगबाहेकको ठाउँहरूमा विभिन्न श्रेणीका ग्राहकहरू छन् र पूरा छरिएर रहेका छन् । त्यहाँ छरिएर रहेका ११ के.भी. लाइन, वितरण लाइन, ट्रान्सफर्मरहरू, सर्भिस वायर आदि विद्युत् सामग्रीहरू तथा उपकरणहरूको प्राविधिक चुहावटका साथै डाइरेक्ट हुकिङ तथा विभिन्न तरिकाको विद्युत चोरी भई अप्राविधिक चुहावट हुन्छ ।

यहाँ विद्युत चुहावट युनिट सिमेन्ट उद्योगसहित लाहानको लागि प्राप्त युनिटको ९.७३ प्रतिशत थियो । उद्योग नचलेको अवस्थामा लहानको प्राप्त युनिट ९७ लाख ९६ हजार ९१ युनिट थियो भने बिक्री युनिट ६ लाख ६६ लाख ५२ हजार ३३७ युनिट थियो । यसले गर्दा विद्युत चुहावट ३२ प्रतिशत हुन जान्छ । यस ३२ प्रतिशत चुहावटअन्तर्गत १०.५ प्रतिशत प्राविधिक चुहावट थियो भने २१.५ प्रतिशत अप्राविधिक चुहावट थियो । ११ केभी तथा वितरण प्रणालीको १०.५ प्रतिशत प्राविधिक चुहावटबारे विद्युत् चुहावट नियन्त्रणका पाइलाहरू २ र ३ मा विस्तृत उल्लेख गरिएको छ । यस्तो अवस्थामा उदयपुर सिमेन्ट उद्योगको खपत जति जति पनि बढ्छ विद्युत चुहावट उस्तै उस्तै घट्दछ र उदयपुर सिमेन्ट उद्योगको खपत जति जति घट्दछ विद्युत चुहावट त्यसै गरी बढ्न थाल्छ । यसमा वितरण केन्द्र प्रमुखबाट कहिले वाहवाही र कहिले आलोचना खेप्ने गर्छ ।

लाहान वितरण केन्द्रका उक्त गणना तालिका–१ मा स्पष्ट गरिएको छ । 


(२)    कुनै नयाँ जलविद्युत आयोजनाहरू व्यापारिक उत्पादन सुरु हुनुभन्दा अगाडि टेष्टिङ गर्दा विद्युत् प्रणालीमा विद्युत् प्रवाह भए पनि त्यसको गणना गरिएको हुँदैन तर बिक्री युनिटमा समावेश भएको हुन्छ । यसले केही न्यून मात्रामा भए पनि विद्युत् चुहावट प्रतिशतलाई कम गर्नमा सहयोग गर्दछ । कुनै वर्षमा यस्ता परीक्षण हुने र कुनै वर्षमा नहुँदा ती वर्षहरूमा विद्युत् चुहावटमा केही न केही फरक पर्ने गर्दछ । परीक्षणबाट विद्युत् प्रणालीमा विद्युत प्रवाहको मात्रा अनुसार विद्युत् चुहावट प्रतिशतमा असर गर्दछ ।

विद्युत् चुहावट नियन्त्रण पाइलाहरू–३ मा विस्तारमा उल्लेख गरिएअनुसार आर्थिक वर्ष सन् २०१५/१६ र २०१८/१९ को प्राविधिक तथा अप्राविधिक चुहावटको स्थिति तालिका २ मा यस प्रकार रहेको छ ।

आव सन् २०१८/१९ मा आव २०१५/१६ भन्दा विद्युत् चुहावट, प्राविधिक चुहावट र अप्राविधिक चुहावटमा क्रमशः १०.४२, ७.५८ र २.८८ प्रतिशत घटेको छ । 

(३)    थोक बिक्रीमा वृद्धिको कारण चुहावट प्रतिशत हुने फरकको विश्लेषण निम्नअनुसार गरिएको छ ।  

आ.व. सन् २०१५/१६ मा लोडसेडिङ भइरहेको बेला औद्योगिक ग्राहकको खपत १२०६ गिगावाट घण्टा थियो तर लोडसेडिङमुक्त नेपालको बेला आ.व. सन् २०१८/१९ मा औद्योगिक ग्राहकको खपत २४२२ गिगावाट घण्टा थियो  । अर्थात् सत प्रतिशतको वृद्धि भएको थियो । सबै उद्योगमा इलेक्ट्रोनिक मिटर जडान भएको, समय समयमा डाउनलोड हुन सक्नेले गर्दा अहिले पनि औद्योगिक मिटरमा चोरी छ भन्न मिल्दैन । आ.व. सन् २०१५/१६ भन्दा आ.व.सन् २०१८/१९ मा औद्योगिक ग्राहकले १२१६ गिगावाट घण्टा बढी विद्युत खपत गरेको छ ।

औद्योगिक ग्राहक १३२ के.भी. देखि ४०० भोल्टेजसम्म छरिएर रहेको छ । आ.व. सन् २०१८/१९ मा प्राविधिक चुहावट १२.०९ प्रतिशत रहेको ठाउँमा यी औद्योगिक ग्राहकहरूको खपतमा प्राविधिक चुहावट औसतमा ९ प्रतिशत भएको अनुमान गर्न सकिन्छ । उच्च भोल्टेजमा अधिकतम विद्युत् बिक्री हुनाले ९ प्रतिशत प्राविधिक चुहावटलाई कम प्रतिशतको अनुमान गरेको भन्ने अवस्था देखिदैन । औसत ९ प्रतिशतलाई उच्च विन्दुको रुपमा मान्न सकिन्छ । अर्थात् ९ प्रतिशतको प्राविधिक चुहावट भई औद्योगिक खपत १२१६ गिगावाट घण्टा खपत भएको छ भने यसको लागि १३३७ गिगावाट घण्टा विद्युत् प्रणालीमा उपलब्ध विद्युत् खर्च भएको थियो भन्न सकिन्छ ।

जम्मा विद्युत बिक्रीबाट १२१६ गिगावाट घण्टा घटाएर बचेको युनिट र विद्युत् प्रणालीमा उपलब्ध विद्युत् युनिटबाट १३३७ गिगावाट घटाएर बचेको युनिटहरूबाट प्राप्त हुने चुहावट प्रतिशत उक्त औद्योगिक खपत नभएको अवस्थाको विद्युत् चुहावट प्रतिशत हुन आउँछ । अर्थात् 

विद्युत उपलब्धता = (७५५१–१३३७) गिगावाट घण्टा (आव सन् २०१८/१९ को विद्युत् उपलब्धता ७५५१ गिगावाट घण्टा थियो र विद्युत् बिक्री युनिट ६३३८ गिगावाट घण्टा थियो)
                                      = ६२१४ गिगावाट घण्टा
जम्मा विद्युत् खपत          = ६३३८+५६ (आन्तरिक खपत)–१२१६ (वृद्धि भएको औद्योगिक खपत)
                                     = ५१५८ गिगावाट घण्टा
विद्युत् चुहावट प्रतिशत    = १७.०० प्रतिशत

आ.व. सन् २०१८/१९ मा औद्योगिक ग्राहकहरूको खपतमा आ.व. २०१५/१६ भन्दा उक्त वृद्धि नभएको भए तालिका २ को आ.व. सन् २०१८/१९ मा विद्युत् चुहावट १५.३२ को सट्टा १७.०० प्रतिशत हुने थियो । अर्थात् औद्योगिक ग्राहकहरूको खपतमा वृद्धि भएको कारण आ.व. सन् २०१८/१९ मा १.६८ प्रतिशत कमी आएको छ । यहाँ प्राविधिक चुहावट विभिन्न विश्लेषणबाट निकालिएकोले त्यसमा घटबढ नगरी अप्राविधिक र जम्मा विद्युत् चुहावटमा १.६८ प्रतिशतलाई समायोजन गर्नुपर्ने हो ।

विद्युत् प्रणालीबाट आव सन् २०१५/१६ भन्दा आव २०१८/१९ मा बढेको औद्योगिक खपतलाई विद्युत् उपलब्धता र बिक्री युनिटबाट हटाउँदा विभिन्न श्रेणीका विद्युत् चुहावट निम्नानुसार रहेको थियो :

वृद्धि भएको औद्योगिक खपत हटाउन मुख्य कारण उक्त आव सन २०१५/१६ आव सन् २०१८/१९ को  तुलनामा समान स्तरमा विद्युत् चुहावटको विश्लेषण गर्ने प्रयास गरिएको हो । यस तथ्यांकमा दस प्रतिशतसम्म घटीबढी हुन सक्छ । यी कुरा व्यक्तिले लिने धारणामा भर पर्छ । 

लोडसेडिङ भइरहेको बेला आ.व.सन् २०१५/१६ मा विद्युत् चुहावट २५.७८ प्रतिशतबाट आ.व. सन् २०१८/१९ मा विद्युत् चुहावट १५.३२ प्रतिशत अर्थात् १०.४६ प्रतिशत कमी आउनुको मुख्य कारणहरू यस प्रकार रहेका छन् :

(i) लोडसेडिङ हटेको कारण प्राविधिक चुहावटमा कमी     = १९.६७–१२.०९ प्रतिशत
                                                                               = ७.५८ प्रतिशत
(ii) औद्योगिक ग्राहकको खपतमा सय प्रतिशतको वृद्धिले गर्दा विद्युत् चुहावटमा कमी = १.६८ प्रतिशत
(iii) नयाँ जलविद्युत आयोजनाहरूको टेष्टिङ युनिटहरू गणना नहुने कारण र अप्राविधिक चुहावटमा कमी = १.२ प्रतिशत

माथिल्लो भोल्टेजमा थोक बिक्रीको बाहुल्यताको कारण यसमा प्राविधिक चुहावट अन्य ग्राहकभन्दा कम हुन्छ । यी कुराहरू माथि लाहान वितरण केन्द्रको उदाहरणबाट पनि स्पष्ट हुन्छ ।

भविष्यमा नेपाल सरकारले प्रक्षेपण गरेअनुसार प्रचुर मात्रामा निर्यात र औद्योगिक खपत भयो भने विद्युत् चुहावट ७–८ प्रतिशत वा त्योभन्दा कमसम्म पनि आउन सक्छ । 

सन् १९६१ मा दक्षिण कोरियाको विद्युत् चुहावट नेपाल विद्युत् प्राधिकरणको सन् १९८६ जस्तै २९ प्रतिशत थियो । दक्षिण कोरियाको आर्थिक विकास र औद्योगिकरणको कारण अहिले विद्युत् चु्हावट ५ प्रतिशतभन्दा कम छ । आवासीय क्षेत्रसम्म अर्थात् गार्हस्थ्य ग्राहकसम्म विद्युत् पुग्दा पक्कै पनि ५ प्रतिशतभन्दा बढी प्राविधिक चुहावट हुनुपर्छ । तर उच्च भोल्टेजका औद्योगिक खपत अर्थात् थोक बिक्रीको कारण विद्युत् चुहावट ५ प्रतिशतभन्दा कम छ । यसले पनि थोक बिक्रीको कारण प्राविधिक चुहावट कम हुन्छ भन्ने प्रमाणित हुन्छ । 

विद्युत चुहावट प्रतिशत, लोडसेडिङ्ग र थोक बिक्रीहरूको सहसम्बन्धः 

विद्युत् चुहावट नियन्त्रणका पाइलाहरू–३ मा विद्युत् चुहावट प्रतिशत र लोडसेडिङ सहसम्बन्ध विषयबारे विस्तारमा विश्लेषण गरिएको छ । यो सहसम्बन्ध लागू यसरी सूत्रमा स्थापित गरिएको थियो । 

विद्युत् चुहावट प्रतिशत ∝ लोडसेडिङ समय ....................................(क)

लोडसेडिङसँग विद्युत चुहावट प्रतिशतको सहसम्बन्ध जसरी सूत्रमा स्थापित गरियो त्यस्तै थोक बिक्रीका औद्योगिक ग्राहक वा निर्यातलाई पनि विद्युत् चुहावट प्रतिशतसँगको सहसम्बन्ध सूत्रमा स्थापित गर्न सकिन्छ ।

विभिन्न श्रेणी विद्युत प्रणाली भएका विद्युत संस्थाको विद्युत् प्रणालीमा,


निष्कर्ष :

विद्युत प्रणालीमा जसरी जसरी लोडसेडिङ समयमा वृद्धि हुँदै जान्छ विद्युत् चुहावट प्रतिशतमा पनि त्यसैगरी वृद्धि हुँदै जान्छ र जसरी लोडसेडिङ समय घट्दै जान्छ, विद्युत् चुहावट प्रतिशतमा पनि त्यसैगरी कमी हुँदै जान्छ । त्यस्तै विद्युत प्रणालीमा जसरी जसरी थोक बिक्री खपतमा वृद्धि हुँदै जान्छ, विद्युत चुहावट प्रतिशत पनि त्यसैगरी घट्दै जान्छ र जसरी थोक बिक्री खपत घट्दै जान्छ विद्युत् चुहावट प्रतिशतमा पनि त्यसैगरी वृद्धि हुँदै जान्छ ।

लेखकबाट थप

विद्युत् चुहावट नियन्त्रणका पाइलाहरू–३

विद्युत् चुहावट नियन्त्रणका पाइलाहरू – २

विद्युत चुहावट नियन्त्रणका पाइलाहरू

विद्युत्‌काे लोडसेडिङ यात्रा–२

विद्युतकाे लोडसेडिङ यात्रा–१

यसरी बनेको थियो पहिलो सीमापार प्रसारण लाइन- ढल्केबर-मुजफ्फरपुर ४०० केभी