विचार

विद्युत् चुहावट नियन्त्रणका पाइलाहरू–३

तेश्रो चरण आ.व. सन् २०१५/१६ देखि आ.व. सन् २०१८/१९ सम्म

ई. रामेश्वर यादव |
असोज १२, २०८० शुक्रबार १७:९ बजे

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणसम्बन्धी विभिन्न चरणका पाइला मध्ये यो एउटा मुख्य चरण हो । यस चरणमा नै नेपाल विद्युत् प्राधिकरण विद्युत् चुहावट नियन्त्रणमा ख्याति प्राप्त गरेको छ । ३० वर्षको इतिहास हेर्ने हो भने आ.व.सन् १९८५/८६ मा विद्युत् चुहावट २९.४० प्रतिशत थियो भने आ.व. सन् २०१५/१६ मा २५.७८ प्रतिशत थियो । अर्थात् ३० वर्षमा विद्युत् चुहावटमा ३.२२ प्रतिशतको मात्र कमी आएको छ ।

तर यी तीन वर्ष भित्र नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट आ.व. सन् २०१५/१६ देखि आ.व. सन् २०१८/१९ सम्म १०.४६ प्रतिशत घटेर १५.३२ प्रतिशत कायम भएको छ ।


विद्युत् चुहावट नियन्त्रणका पहिलो चरण आ.व. सन् १९८५/८६ देखि आ.व. सन् २०००/०१ सम्म फिनलेन्ड सरकार, एशियाली विकास बैंक, विश्व बैंक, JICA को सहयोगमा व्यापक रुपमा ग्रामीण विद्युतीकरण कार्य तथा प्रणाली सुदृढीकरणको कार्यहरू भएको थियो । साथै कन्सलटेन्ट British Electricity International Ltd. UK को सिफारिसमा तयार भएको प्रतिवेदन अनुसार प्राधिकरणले आक्रामक रुपले अप्राविधिक चुहावट नियन्त्रणसम्बन्धी कार्यहरू गरेको थियो । प्रथम चरण १५ वर्षको दौरानमा विद्युत् लोडसेडिङ यात्रा–१ अत्यधिक प्राविधिक चुहावट र केही हदसम्म अप्राविधिक चुहावटमा गरि ५.४ प्रतिशतको कमी भएको थियो । आ.व. सन् २०००/०१ मा विद्युत् चुहावट २४ प्रतिशत थियो ।

विद्युत् चुहावट नियन्त्रणका दोश्रो चरण आ.व. सन् २०००/०१ देखि आ.व. सन् २०१५/१६ सम्म विद्युत् चुहावट २४ प्रतिशतबाट बढेर २५.७८ प्रतिशतमा कायम भयो । यो १५ वर्षमा विद्युत् चुहावट घटनुको साटो १.७८ प्रतिशतको वृद्धि भयो ।

यो दोश्रो चरणमा विद्युत् लोडसेडिङ यात्रा–२ प्रणाली सुदृढीकरण कार्यमा शिथिलताको कारण लोडसेडिङमा बृद्धि हुँदै जाँदा प्राविधिक चुहावटमा व्यापक बृद्धि भयो । अप्राविधिक चुहावट घटाउनेसम्बन्धी आक्रामक विशाल कार्यक्रम अन्तर्गत सीटी अपरेटेड मिटरको सट्टा इलेक्ट्रोनिक मिटरको जडान भएको थियो । विद्युत् चोरी ऐन, २०५८ को निर्माणले गर्दा स्थानीय प्रशासन एवं प्रहरीको सहयोगको कारण डाइरेक्ट हुकिङ्गमा न्यूनीकरण भयो । अप्राविधिक चुहावटसम्बन्धी अन्य कार्यले गर्दा अप्राविधिक चुहावटमा व्यापक कमी भयो । प्राविधिक चुहावट बढ्ने र अप्राविधिक चुहावट घटने अवस्थाले गर्दा आ.व. सन् २०००/०१ देखि आ.व. सन् २०१५/१६ सम्म एक–दुई प्रतिशत तल माथि हुँदै आ.व. सन् २०१५/१६ मा विद्युत् चुहावट २५.७८ प्रतिशतमा स्थिर भयो ।

आव सन् २०००/०१ देखि २०१५/१६ सम्मको नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट नियन्त्रणका पाइला हरू को विस्तृत विवरण विद्युत् चुहावट नियन्त्रण का पाइलाहरू–२ मा उल्लेख गरिएको छ । यस बाहेक उक्त अवधिमा के कति प्राविधिक चुहावट तथा अप्राविधिक चुहावट मा घटीबढी आयो भन्नेबारे विश्लेषण गर्नु पर्ने देखिन्छ । 

विद्युत् प्रणालीमा प्राविधिक चुहावटका अन्तर संघर्ष तथा अप्राविधिक चुहावट न्यूनीकरणः 

आव सन २०००/०१ देखि आव सन २०१५/१६ सम्म प्राविधिक चुहावटको प्रकृतिअनुसार भएको उतारचढाव सम्बन्धमा निम्न तालिका–१ को विश्लेषण गर्नुपर्दछ ।

सन् २००० देखि न २००३ सम्म लगातार क्रमशः खिम्ती (६० मेगावाट), अपर भोटेकोशी (४५ मेगावाट), कालीगण्डकी ‘ए’ (१४४ मेगावाट) र चिलिमे (२२ मेगावाट) का जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन शुरु भइसकेका थिए । यी आयोजनाहरूबाट लगातार विद्युत् प्रणालीमा विद्युत् उपलब्धतामा वृद्धि भए पनि चुहावटमा कुनै खासै असर परेन । ती वर्षहरूमा चुहावट प्रतिशत करिव करिव स्थिर देखिन्छ ।

अप्राविधिक चुहावट शत प्रतिशत नियन्त्रणमा थियो भन्न सक्ने अवस्था पनि थिएन । त्यसबेला आक्रामक रुप मा अप्राविधिक चहावट घटाउन प्राधिकरण लागेकै थिए । केही बढेको वा घटेको पनि हुन सक्थ्यो । यी आयोजनाहरू न आएको भए त्यही बेला लोडसेडिङ शुरु हुन्थ्यो । 

चिलिमे आएको एक वर्षपछि नै चुहावट बढेको देखिन्छ । लोड वृद्धि, लोडसेन्टर वीरगञ्ज, जनकपुर, विराटनगर, नेपालगञ्जतिर विद्युत् मुहानहरू नभएको र उक्त आयोजनाहरूबाट उत्पादित विद्युत् देशका विभिन्न भागहरूमा पठाउँदा P(loss) = I2Rले गर्दा केही प्राविधिक चुहावटमा वृद्धि हुनु स्वभाविक थियो । खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन निर्माणमा स्थानीयको गतिरोध र राजनीतिक हस्तक्षेपले बन्न पाइरहेको थिएन । यसपछि लगातार विद्युत् चुहावट बढदै गइरहेको थियो । यसको मुख्य कारण प्रणालीको भारमा वृद्धि तथा प्रणाली सुदृढीकरणमा कमी रहेको देखिन्छ । त्यसबेला अप्राविधिक चुहावट नियन्त्रणमा गतिशीलताले अप्राविधिक चुहावट बढेको अनुमान गर्न कठिन छ ।

विद्युत् प्रणालीको माग आपूर्तिको लागि मध्यमस्र्याङ्दी (७० मेगावाट) विद्युत् प्रणालीमा आए पनि चुहावटमा गिरावट आएन । यो आयोजनाले लोडसेडिङबाट घटाउन खोजेको थियो, तर प्राविधिक चुहावटमा कमी आएन । खिम्ती, भोटेकोशी, चिलिमेजस्ता आयोजनाबाट उत्पादित बिजुली पूर्वाञ्चल पठाउँदा लामो दूरी भएका कारण प्राविधिक चुहावट अलिअलि बढ्न पुगेको थियो । सँगै यसको विद्युत् वीरगञ्ज, जनकपुर तथा पूर्वाञ्चलसमेत पठाउने व्यवस्था गरिएको थियो । लामो दूरीका कारण I2R मा वृद्धि भएको हो । मध्य मस्र्याङ्दी आए पनि पूर्वाञ्चल पठाउनुपर्ने विद्युतको कारण I2R मा कमी आएन । तसर्थ विद्युत् चुहावटमा कुनै असर परेन । यही मध्यमस्र्याङ्दी पूर्वाञ्चलमा भएको भए विद्युतको प्राविधिक चुहावटमा केही प्रतिशत पक्कै कमी आउँथ्यो ।  

आव सन २०११/१२ देखि विद्युत् चुहावट घट्ने क्रम जारी भयो । उपरोक्त कारणहरूले गर्दा यो चुहावट घटेको होइन । प्राधिकरणले अप्राविधिक चुहावट घटाउन आव सन् २०००/०१ देखि गर्दै आएको आक्रामक र विशाल कार्यक्रमका कारण अप्राविधिक चुहावटमा घट्ने क्रम जारी भयो । यसको वर्णन विस्तारमा विद्युत् चुहावट नियन्त्रणका पाइलाहरू –२ मा गरिएको छ । 

लोडसेडिङमा वृद्धिको कारण प्राविधिक चुहावट बढ्यो । तर त्योभन्दा अप्राविधिक चुहावट  घटेको कारण चुहावटमा कमी आउँदै गयो । तर आव सन २०१५/१६ मा १.३८ प्रतिशतले चुहावटमा वृद्धि भयो । अप्राविधिक चुहावट घटिरहेको बेला चुहावट प्रतिशतमा वृद्धिको कारण खोज्दा सन् २०१५ को अप्रिलमा आएको महाभूकम्पले गर्दा माथिल्लो भोटेकोशी (४५ मेगावाट) बन्द भयो, साथै प्राधिकरण तथा निजी क्षेत्रका जलविद्युत् उत्पादनमा कमी आएको थियो । भूकम्प, नाकाबन्दीको कारण विद्युत् प्रणालीलाई दुरुस्त राख्न सबै व्यस्त रहँदा केही अप्राविधिक चुहावटमा वृद्धि भएको हुन सक्छ र केही प्राविधिक चुहावटमा वृद्धि भएको  अनुमान गर्न सकिन्छ ।  

विद्युत् प्रणालीमा लोड अनुसार प्राविधिक चुहावट को अवस्थाः 

यसका लागि निम्न तालिका २ को उदाहरण लिन सकिन्छ । 

उपरोक्त तालिका अनुसारः 
(i)     विद्युत् प्रणालीको लोडमा क्रमशः ५, १०, १५, २० र २५ प्रतिशत वृद्धि हुँदै गएमा विद्युत् प्रणालीको करेन्ट प्रवाहमा पनि क्रमशः ५, १०, १५, २० र २५ प्रतिशतको वृद्धि हुन्छ । 
(ii)     विद्युत् प्रणालीको लोडमा क्रमशः ५, १०, १५, २० र २५ प्रतिशतको वृद्धि भएमा प्रणालीको  I2R​ अर्थात् प्राविधिक चुहावटमा क्रमशः १०.२४४, २१, ३२.२५, ४४ र ५६.२५ प्रतिशतको वृद्धि भएको छ । 

अर्थात् विद्युत् प्रणालीमा लोड बढदै गएमा प्राविधिक चुहावट बढ्ने गर्दछ । 

आव सन २०१५/१६ को प्राविधिक तथा अप्राविधिक चुहावट प्रतिशतः 

अत्यधिक लोडसेडिङ भइरहेको बेला १२ घण्टा र सोभन्दा बढीको पनि लोडसेडिङ थियो । त्यति बेला थोरै–थोरै स्लट (समय) मा विद्युत् उपलब्ध भएकोले ग्राहकहरूबाट एकैपटक घरेलु उपकरणहरूको बढी प्रयोग हुन्थे । साना चार्जिङ लाइट तथा इन्भर्टर चार्जिङ हुन्थे । खिम्ती–ढल्केवर २२० केभी प्रसारण लाइन राजनीतिक कारणले समयमा निर्माण हुन सकिरहेको थिएन । खिम्ती, सुनकोशी, चिलिमेलगायतका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् काठमाडौं, हेटौंडा, वीरगञ्ज, जनकपुर हुँदै पूर्वाञ्चलतर्फ पठाउँदा अत्यधिक प्राविधिक चुहावटको मुख्य कारण थिए । सन् २०११ देखि सन २०१६ सम्म खिम्ती–ढल्केबर प्रसारण लाइनको सातवटा टावरहरू खडा गर्नमा ५ वर्ष लागेको थियो ।

बढीभन्दा बढी उपकरणहरू एकै समयमा प्रयोग हुँदा प्रणालीमा अत्यधिक करेन्ट प्रवाह हुनु स्वभाविक थियो । यसले गर्दा प्राविधिक चुहावट P(loss) = I2R मा अत्यधिक वृद्धि भएको हो । करेन्टको स्क्वायरमा प्राविधिक चुहावट बढ्ने गर्दछ । 

विद्युत् प्रणालीमा लोडसेडिङको समय बढ्दै जाँदा ग्राहकहरूलाई विद्युत् उपलब्धताको समय कम हुँदै जान्छ । लोडसेडिङ नभएको अवस्थामा ग्राहकले आफ्नो समयानुकुल विद्युत् उपकरणहरू प्रयोग गर्छ । अर्थात् सबै उपकरणहरूको प्रयोग २४ घण्टाभित्र विभिन्न समयमा प्रयोग गरिएको हुन्छ । ग्राहकहरूलाई विद्युत् उपलब्धताको समय जति घट्दै जान्छ विद्युत् उपकरणहरू त्यही समयभित्र प्रयोग गर्नुपर्ने बाध्यताले विद्युत् प्रणालीको औसत लोडमा वृद्धि हुन जान्छ ।
लोडसेडिङको समयमा ट्रन्सफर्मरहरू समस्याग्रस्त हुने र तार चुँडिने समान्य कुरा थियो । अत्यधिक लोडसेडिङ भइरहेको बेला वितरण ट्रान्सफर्मरहरू प्राधिकरणबाट परीक्षण गर्दा २५ प्रतिशत र त्योभन्दा बढी पनि ओभर लोड पाइएको थियो । यस आधारमा विद्युत् प्रणाली पहिलाभन्दा २५ प्रतिशत ओभर लोड थियो भन्न सकिन्छ । हामी सबैले लोडसेडिङ अनुभव गरिसकेकोले विद्युत् प्रणाली २५ प्रतिशतभन्दा धेरै बढी वा धेरै कम ओभरलोडको संभावना कम देखिन्छ । एउटा विश्वसनीय धारणा लिनुपर्ने हुन्छ । २५ प्रतिशतको १० प्रतिशत घटीबढी हुन सक्छ तर धेरै घटीबढीको अनुमान गलत पनि हुन सक्छ । 

आव सन २०००/०१ मा प्राविधिक चुहावट (I2R) १२.५९ प्रतिशत थियो । त्यसबेलाको प्रणालीको करेन्ट (I) अहिले लोडसेडिङको बेला प्रणालीको लोडमा २५ प्रतिशतले वृद्धि भएको अवस्थामा प्रणालीको करेन्ट (१‍.२५ I) ​ हुने भएको छ । 
तसर्थ,
लोडसेडिङको बेला प्राविधिक चुहावट  =  (१‍.२५ I)2​ R
                                                     =  (१.५६२५) I2R
                                                     = १.५६२५×१२.५९ प्रतिशत
                                                     = १९.६७ प्रतिशत

तालिका –२ अनुसार  पनि प्रणालीमा २५ प्रतिशत लोड थप्दा,
प्राविधिक चुहावटमा ५६.२५ प्रतिशतले वृद्धि हुन्छ । यहाँ प्रारम्भिक प्राविधिक चुहावट १२.५९ प्रतिशत रहेको छ । लोडसेडिङको कारण प्रणालीमा २५ प्रतिशत लोड बढेको ले,
प्राविधिक चुहावट   = १२.५९×५६.२५ प्रतिशत
                          = १९.६७ प्रतिशत
आव सन् २०१५/१६ मा विद्युत् चुहावट २५.७८ प्रतिशत मध्ये १९.६७ प्राविधिक चुहावट थियो भने ६.११ प्रतिशत अप्राविधिक चुहावट थियो । यसलाई निम्न तालिका –३ मा उल्लेख गरिएको छ । 

आव सन् २०१५/१६ देखि आव सन् २०१८/१९ सम्म विद्युत् चुहावटमा गिरावट:
उक्त अवधिमा विद्युत् चुहावटको प्रकृतिअनुसार भएको गिरावट सम्बनधमा निम्न तालिका ४ को विश्लेषण गर्नुपर्छ ।

देश नै लोडसेडिङमुक्त भएको बखत (आव सन् २०१७/१८) अन्तर्देशीय प्रसारण लाइनहरूबाट आयातीत विद्युत् एवं निजी क्षेत्रको थप नयाँ जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत्बाट भएको थियो । 'There is no easy success, nor definitive failures' (Marcel Proust) भनाइ चरितार्थ भएको छ । यस विषयमा विस्तारमा विद्युतको लोडसेडिङ यात्रा–२ मा उल्लेख गरिएको छ । 
 

विद्युत् उपलब्धतामा वृद्धिले गर्दा आव सन् २०१६/१७ मा काठमाडौं उपत्यकाको लोडसेडिङ र पोखरा क्षेत्रको लोडसेडिङ हटेको कारण विद्युत् चुहावट २२.९० प्रतिशतमा झरेको थियो । त्यस्तै आव सन् २०१७/१८ को अन्त्यमा नेपालको बाँकी भाग लोडसेडिङमुक्त हुँदै नेपाल लोडसेडिङमुक्त भएको अवस्थामा विद्युत् चुहावट २०.४५ प्रतिशतमा झरेको थियो । आव सन् २०१८/१९ मा सुरुदेखि नै लोडसेडिङमुक्त नेपालले गर्दा विद्युत् चुहावट १५.३२ प्रतिशतमा कायम भएको थियो । अर्थात् लोडसेडिङ घट्दै जाँदा विद्युत् चुहावट पनि घट्दै गएको देखिन्छ । विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण ३१ वर्षदेखि असफलता नै बेहोरिरहेको अवस्थामा तीन वर्षभित्र 'Failure gives us opportunitiy to bounce back' भनेजस्तै सफलता हात पारेको छ । 

आव सन २०१८/१९ को प्राविधिक तथा अप्राविधिक चुहावटः

आव सन् २०१५/१६ मा लोडसेडिङको कारण थोरै समयको लागि उपलब्ध भएको विद्युत् धेरै उपकरणहरूको लागि प्रयोग हुँदा विद्युत् प्रणालीमा २५ प्रतिशतको लोडमा वृद्धि भएको अनुमान गरिएको थियो । आव सन् २०१८/१९ मा नेपाल लोडसेडिङमुक्त हुँदा विद्युत् प्रणालीमा प्रयोग भइरहेका घरायसी उपकरणहरू एकैसाथ उपयोग हुने अवस्था अन्त्य भइसकेको थियो । साना–साना चार्जिङ लाइट तथा इन्भर्टरहरू प्रणालीबाट हटिसकेका  थिए । लोड सिफ्टिङ्गले विद्युत् प्रणाली पुरानै अवस्थामा आइसकेको थियो । 

तालिका–२ अनुसार २५ प्रतिशत लोड बढेको ठाउँबाट २० प्रतिशत लोड हटाउँदा प्रारम्भिक स्थानको लोड बराबर हुन्छ । त्यस्तै २५ प्रतिशत लोड बढेको कारण विद्युत् प्रणालीको करेन्टबाट २० प्रतिशत हटाउँदा प्रारम्भिक करेन्ट बराबर हुन्छ । 
यसरी लोडसेडिङ बेलाको करेन्ट (I) लोडसेडिङमुक्त हुँदा प्रणालीमा (०.८० I) हुन जान्छ । अर्थात् यहाँ 
प्राविधिक चुहावट  = (०.८०I)2​ R
                          = ०.६४ I2​ R
                          = ०.६४×१९.६७ प्रतिशत 
                          = १२.५९ प्रतिशत

खिम्ती–ढल्केवर २२० के.भी प्रसारण लाइन १३२ के.भी मा चार्ज भई विद्युत् प्रसारण भइसकेको थियो । देशभर अन्तर्देशीय प्रसारण लाइन तीन ठाउँमा र निजी क्षेत्रबाट ३२ वटा थप नयाँ जलविद्युत् आयोजनाहरूबाट विद्युत् उत्पादन शुरु भएका थिए । विद्युत् प्रणालीमा विद्युत् मुहानको वृद्धिले भोल्टेज सुधार हुनासाथ करेन्ट प्रवाहमा कमी आउनु स्वाभाविक हो । 

P(power) = VI,  I2 =P2/V2,    यहाँ लोड P, करेन्ट I र भोल्टेज V हो । 

भोल्टेज वृद्धिको स्क्यायरले गर्दा विद्युत् प्रणालीमा करेन्ट कम हुन्छ र I2R मा कमी आउँछ । त्यस्तै उक्त संरचनाहरूले गर्दा विद्युत् मुहान र लोडहरूबीचको दूरी कम भयो । यसले गर्दा I2R को रजिस्टेन्स (R)​ कम हुन जान्छ । र, I2R अर्थात प्राविधिक चुहावट मा कमी आयो । 

यसले गर्दा प्राविधिक चुहावटमा ०.५ प्रतिशतको घटी हुन सक्छ । त्यसैकारणले यस्ता किसिमको तथ्यांकमा १० प्रतिशतको घटीबढी अनुमान गरिएको हुन्छ । विश्लेषण गर्दा धारणा (assumption) विश्वसनीय हुनु पर्छ । 

अर्थात् आव सन २०१८/१९ को विद्युतु चुहावट १५.३२ प्रतिशतमध्ये १२.०९ प्रतिशत प्राविधिक चुहावट थियो भने अप्राविधिक चुहावट ३.२३ प्रतिशत थियो । 
प्राधिकरणको स्थापना वर्ष आव सन १९८५/८६ देखि आव सन २०१८/१९ सम्म विभिन्न श्रेणीको विद्युत् चुहावट तालिका–५ मा उल्लेख गरिएको छ ।

उपरोक्त तथ्याङ्कमा तीन वर्षभित्र २.८८ प्रतिशत अप्राविधिक चुहावट घटेको देखिन्छ । जुन कठिन कार्य हो । यसको विश्वसनीयताको लागि थोक बिक्री लगायतको विश्लेषण गर्नुपर्ने हुन्छ ।

तालिका २ र ३ अनुसार विद्युत् प्रणालीमा लोड बढ्दै गएमा प्राविधिक चुहावट बढ्ने गर्छ । तालिका ४ र ५ अनुसार लोडसेडिङ घट्दै गएमा प्राविधिक चुहावट घट्दै गएको छ । 

विद्युत् संस्थाको विद्युत् प्रणालीमा विद्युत् चुहावट प्रतिशत र लोडसेडिङ समयमा सहसम्बन्धः 

आव सन २०१५/१६ सम्ममा अत्यधिक लोडसेडिङले विद्युत् चुहावट बढेको हो भने आव सन् २०१८/१९ मा देश लोडसेडिङमुक्त हुँदा विद्युत् चुहावट घटेको थियो । यसले विद्युत् प्रणालीमा विद्युत् चुहावट र लोडसेडिङ समय बीचचको प्रत्यक्ष समानुपातिक   (Directly Proportional)लाई प्रमाणित गर्दछ । अर्थात, 

विद्युत् चुहावट ∝ लोडसेडिङ समय

शर्तः प्रणालीमा मागअनुसार विद्युत् आपूर्ति नहुँदा लोडसेडिङ हुने अवस्था

यो गणितीय प्रत्यक्ष समानुपातिक सूत्र विद्युत् चुहावट र लोडसेडिङ समयको अन्तरसम्बन्धको लागि मात्र हो । विद्युत् चुहावट परिवर्तनमा अन्य घटकहरूको पनि योगदान हुन्छ ।

तालिका २ को निष्कर्षबमोजिम पनि :

(क) विद्युत् प्रणालीमा जति प्रतिशतले लोडको वृद्धि हुन्छ, प्रणालीको करेन्ट प्रवाहमा पनि सोही प्रतिशतले वृद्धि हुन्छ । 
(ख) विद्युत् प्रणालीमा लोड वृद्धि प्रतिशत बढ्दै गएमा प्राविधिक चुहावट लोड वृद्धि प्रतिशतको दोब्बरभन्दा बढीले हुन्छ । 
तसर्थ विद्युत् प्रणाली ओभर लोड हुन नदिन प्रणालीमा अनवरत सुदृढीकरण एवं आधारभूत संरचनाहरूको निर्माणमा प्रयत्नरत हुनुपर्छ । यसका लागि पर्याप्त लगानीको आवश्यकता पर्छ । विद्युत् चुहावट घटाउन वर्षाैंदेखि अर्बाैं रुपैयाँको लगानी गरे पनि उल्लेखनीय रुपमा घटेन । लोडसेडिङ घटाउनका लागि गरिएको लगानी विद्युत् चुहावट घटाउन पनि सार्थक भयो ।

निष्कर्षः विद्युत् प्रणालीमा विद्युत् चुहावट र लोडसेडिङ समय एक आपसमा प्रत्यक्ष समानुपातिक (Directly Proportional) हुन्छ । अर्थात् लोडसेडिङ समय बढदै जाँदा विद्युत् चुहावटमा वृद्धि हुन्छ र लोडसेडिङ समय घट्दै जाँदा विद्युत् चुहावटमा कमी आउँछ ।

[email protected]

लेखकबाट थप:

विद्युत् चुहावट नियन्त्रणका पाइलाहरू – २
विद्युत्‌ चुहावट नियन्त्रणका पाइलाहरू
विद्युत्‌काे लोडसेडिङ यात्रा–२
विद्युतकाे लोडसेडिङ यात्रा–१
यसरी बनेको थियो पहिलो सीमापार प्रसारण लाइन- ढल्केबर-मुजफ्फरपुर ४०० केभी


Author

ई. रामेश्वर यादव

यादव नेपाल विद्युत्‌ प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् ।


थप समाचार
x