विचार

विद्युत्‌काे लोडसेडिङ यात्रा–२

ई. रामेश्वर यादव |
भदौ २४, २०८० आइतवार १७:१३ बजे

आव सन् २०१६-१७ मा नयाँ नेतृत्व आएपछि लोडसेडिङ हटेकाले आमनेपाली यो सोच्न थाले कि पहिलोको नेतृत्वहरूले यो काम किन गर्न सकेन ? अहिलेको नेतृत्व भारतबाट पनि बिजुली ल्याएर पनि लोडसेडिङ अन्त गर्ने र पहिलाका नेतृत्वहरूलाई कसले भारतबाट बिजुली ल्याउन रोकेको थियो ? यस्ता कुराहरू सडक, पसल, होटल, कार्यालयहरूमा हुन थाल्यो । तथ्यांकबिना कुनै विषयमा विश्लेषण गर्नु व्यर्थ हुन्छ । अहिले प्राधिकरणले विभिन्न तथ्यांकहरू सार्वजनिक गरिसकेको छ । त्यसलाई विश\लेषण गरी वास्तविक तथ्य बुझ्ने प्रयास गरौं । आव सन् २०१२-१३ देखि आव सन् २०२०-२१ सम्मको प्राधिकरणको वार्षिक प्रतिवेदनहरूबाट विश्लेषणको लागि लिइएका तथ्यांकहरूको विवरण निम्न तालिकामा समावेश गरिएको छ । यस तालिकामा विभिन्न आवहरूमा प्राधिकरण, निजी क्षेत्र र भारतबाट आयातीत ऊर्जाले गर्दा नेपालको विद्युत् प्रणालीमा विद्युत् प्रवाहलगायतका विवरण समावेश गरिएको छ ।

तालिका नं. १


नोट :

आव सन् २०१२-१३ देखि सुरु गरिएका आयाेजनाहरु :
१‍. कटैया–कुशाहा १३२ केभी अन्तर्देशीय प्रसारण लाइनको एसीएसआर तारलाई एसीसीआर तारमा बदली गरी विद्वयुत आयात सुरु  १५ अगष्ट २०१४ मा
२. ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाईनलाई १३२ केभीमा चार्ज गरी विद्युत आयात  सन् २०१६ को फेब्रुअरीदेखस सुरु
३. रक्सौल–परवानीपुर १३२ केभी अन्तर्देशीय प्रसारण लाइन सन् २०१७ को फेब्रुअरीदेखि सुरु
४. कटैया–कुशाहा १३२ केभी अन्तर्देशीय प्रसारण लाइन (दोस्रो) को सन् २०१७ को फेब्रुअरीदेखि सुरु

आव सन् २०१२-१३ भन्दा पहिलेदेखि सुरु गरिएका आयाेजनाहरु :
१. नेपाल विद्युत् प्राधिकरणको चमेलिया (३० मेगावाट) बाट उत्पादन सुरुवात

२. आव सन. २०१७-१८, त्रिशुली थ्री ए (६० मेगावाट) को उत्पादन सुरु सन् २०१८-१९,

३. कुलेखानी तेस्रो (१४ मेगावाट) को उत्पादन सुरुवात आव सन् २०१९-२०  मा

४. महाभूकम्प (सन् २०१५ अप्रिल) मा आएको महाभूकम्प र बाढीकाे कारण  भोटेकोसी (४५ मेगावाट) काे उत्पादन बन्द भई चार वर्षपछि यी पुनः सञ्चालनमा आएको । 

उपरोक्त तालिकालाई अध्ययन गर्दा महाभूकम्प र बाढीको असर परेको कारण आव सन् २०१५-१६ मा विद्युत् प्राधिकरणका आयोजनाहरूबाट २३५ गिगवाट घण्टा कम विद्युत् उत्पादन भई २१३३ गिगावाट घण्टा बराबरको बिजुली उत्पादन भयो । महाभूकम्पका कारण माथिल्लो भोटेकोसीमा व्यापक क्षति भयो । त्यस भेगका अन्य साना जलविद्युत्हरू प्रभावित भए । ती आयोजनामा थप क्षति भई करिब ४ वर्षका लागि बन्द भए र सन् २०१९ देखि मात्र सञ्चालनमा आए । उक्त भूकम्पको असर निजी क्षेत्रका अन्य आयोजनाहरूमा समेत परेको थियो । सन् २०१२-१३ देखि २०१५-१६ सम्म थप १२४ मेगावाटका आयोजना निर्माण पूरा भए पनि भोटेकोसी बन्द भएका कारण आव २०१४-१५ देखि नै निजी क्षेत्रको उत्पादन क्षमता घट्दै ११६६ गिगावाट घण्टामा सीमित भए ।

 कटैया–कुशाहा १३२ केभीको एसीएसआर तारलाई एसीसीआरमा परिवर्तन गरी १५ अगष्ट २०१४ देखि सुरु भयो । आव सन्  २०१५-१६ को फेब्रुअरीमा ढल्केबर–मुजफ्फरपुर ४०० केभीको प्रसारण लाइन निर्माण पूरा भई १३२ केभीमा चार्ज भयो र व्यापारिक प्रसारण सुरु भयो । यसले गर्दा आव सन् २०१५-१६ मा आयातीत बिजुलीमा गत आवभन्दा ४०८ गिगावाट घण्टाको वृद्धि भई १७७८ गिगावाट घण्टा आयात हुन पुग्यो । 

आव सन् २०१५-१६ मा विद्युत् प्राधिकरणका आयोजनाहरूबाट अघिल्लो आर्थिक वर्षभन्दा २३५ गिगावाट घण्टा र निजी क्षेत्रका आयोजनाबाट गत अबमा १०३ गिगावाट घण्टा कम विद्युत् उत्पादन अर्थात् जम्मा नेपालको आन्तरिक विद्युत् उत्पादनमा ३३८ गिगावाट घण्टा बिजुली कम उत्पादन भएको ठाउँमा भारतबाट  ४०८ गिगावाट घण्टा थप विद्युत आयात भएकोले क्षतिपूर्ति हुन पुग्यो । यसरी आव २०१४-१५ को उपलब्ध ऊर्जा ५००७ गिगावाट घण्टामा मात्र ७० गिगावाट घण्टा थप भई आव २०१५-१६ मा ५०७७ गिगावाट घण्टा भएको थियो । एक गिगावाट घण्टामा १० लाख युनिट हुन्छ । 

यसरी आव २०१२-१३ पछि पनि ग्रामीण विद्युतीकरण नरोकिएको र कुनै उद्योग आए त्यसलाई पनि प्राधिकरणले बिजुली दिन वञ्चित नगरेकाले लोड बढ्दै जाने अर्थात् माग बढ्दै गयो । भूकम्पसमेतले भोटेकोसी लगायतका आयोजनामा क्षति भए । यी क्षतिलाई बिजुली आयातले पूर्ति गर्‍यो । यसले गर्दा लोडसेडिङमा करिब स्थिरता मात्र कायम गरेको देखिन्छ र आव २०१५-१६ को अन्त्यतिर ८ घण्टासम्म लोडसेडिङ कायम भएको थियो ।

यो अवस्थामा काठमाडौं उपत्यकाको लोडसेडिङ हटाउन सक्ने विषयलाई हेर्दा सर्वप्रथम आव २०१६-१७ को विद्युत् प्रणालीमा विद्युत् उपलब्धता हेरी अन्य कारणहरू हेर्नु उपयुक्त हुन्छ ।

आव २०१६-१७ मा प्राधिकरणका आयोजनाहरूको विद्युत् उत्पादनमा गत आवभन्दा १७२ गिगावाट घण्टाको वृद्धि भई २३०५ गिगावाट घण्टाको विद्युत् उत्पादन भएको थियो ।

आव २०१६-१७ मा निजी क्षेत्रका ११६ मेगावाटका विभिन्न नयाँ थप आयोजनाहरू र अन्य पुराना आयोजनाहरूसमेतको पनि उत्पादनमा गत आवभन्दा ६१२ गिगावाट घण्टाकाे वृद्धि भई १७७८ गिगावाट घण्टाको विद्युत् उत्पादन भएको थियो ।

आव २०१६-१७ मा रक्सौल–परवानीपुर १३२ केभी अन्तर्देशीय प्रसारण लाइन र कटैया–कुशाहा १३२ केभीकै अर्काे प्रसारण लाइन पनि २०१७ को फेब्रुअरीदेखि सञ्चालनमा आयो । यसरी चारवटा अन्तर्देशीय प्रसारण लाइनहरूबाट विद्युत् आयात गत आवभन्दा ३४७ गिगावाट घण्टाले वृद्धि भई २१७५ गिगावाट घण्टाको विद्युत् आयात भएको थियो ।  आव २०१६-१७ मा उपलब्ध ऊर्जा गत आवभन्दा ११८१ गिगावाट घण्टाको वृद्धि भई ६२५८ गिगावाट घण्टा उपलब्ध थियो । अर्थात् गत आवभन्दा त्यो आव (२०१६-१७) मा एक अर्ब १८ करोड १० लाख युनिट बढी बिजुली प्रणाालीमा उपलब्ध थियो ।

सबै वस्तुगत स्थिति हेरी प्राधिकरणले निजी क्षेत्रको आयोजनाहरू आउने अवस्था र अन्तर्देशीय प्रसारण लाइनको अवस्थासमेतलाई हेरी प्राधिकरणले पहिला काठमाडौं उपत्यकाबाट लोडसेडिङ हटाउने निर्णय लिएपछि आवश्यक कार्यहरू सुरु गर्न थाल्यो । काठमाडौं उपत्यकाको लोडसेडिङ हटाउने सिलसिलामा ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट आयातीत विद्युत् भक्तपुर सवस्टेशनसम्म पनि ल्याइएको थियो । केही समयपछि काठमाडौं उपत्यका लोडसेडिङमुक्त भयो ।

उपत्यका बाहिर लोडसेडिङ भइरहेको थियो । काठमाडौं उपत्यकामा विद्युत् वितरणमा कुनै प्राविधिक समस्या उत्पन्न हुँदा कुनै–कुनै ठाउँको बिजुली कटौती गरी सहज तुल्याइन्थ्यो ।

काठमाडौं उपत्यका लोडसेडिङमुक्त भएपछि यहाँको प्रसारण तथा वितरण लाइनहरूको ओभर लोडको समस्या हल भएको थियो ।  लोडसेडिङ हटेपछि एकैपटक वितरण लाइनमा आउने लोडहरू ग्राहकको सुविधाअनुसार विभिन्न समयमा आउन थाले । यसले गर्दा प्राविधिक चुहावटमा कर्मी आई विद्युत् बचतका साथै इन्भर्टरको लोड पुरै हट्न पुग्यो । यसबाट विद्युत् बचत हुन थाल्यो, साथै निजी क्षेत्रबाट आइरहेका र आउन लागेका आयोजनाहरूलाई दृष्टिगत गरी पोखरा क्षेत्रको लोडसेडिङ हटाउने निर्णय प्राधिकरणले गर्‍यो । 

लोडसेडिङ अन्त्य गर्ने बेलामा सुरुमा कुलेखानीलाई अत्यधिक प्रयोगमा ल्याइएको थियो । प्राधिकरणमा एउटा भाष्य थियो कि कुलेखानी चलाउनै हुँदैन, यो त हिउँदयामको अति सुख्खा समयमा प्रणाली सञ्चालन गर्न मात्र चलाउनुपर्छ । कुलेखानी चलाएरै भर्ने हो । कुलेखानीलाई अत्यधिक प्रयोगमा ल्याइएको भनी विभिन्न पत्रपत्रिकामा टिप्पणीसमेत भएका थिए । तर कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा प्राधिकरणले त्यो वर्षमा निर्माण सम्पन्न हुने विभिन्न प्रसारण लाइन तथा जलविद्युत् आयोजनाहरूबाट आउने बिजुलीको आँकलन गरिसकेको थियो । सन् २०१७ को फेब्रुअरी मा रक्सौल–परवानीपुर १३२ केभी  तथा कटैया-कुशाहा १३२ केभी (दाेस्राे) अन्तर्देशीय प्रसारण लाइनहरू र निर्माणमा रहेका निजी क्षेत्रबाट  थपिएका  माथिल्लाे मर्स्याङ्दी ए (५० मेगावाट), अपर मादी (२५ मेगावाट), हेवा खाेला ए (१५ मेगावाट) लगायतका जलविद्युत् आयोजनाहरुले पनि लोडसेडिङ अन्त्य गर्नमा प्रमुख भूमिका निर्वाह गरेका थिए । आव सन् २०१६-१७ मा निजी क्षेत्रका ११ वटा विभिन्न जलविद्युत् आयोजनाहरूबाट प्रणालीमा ११६ मेगावाट बिजुली थप भएको थियो । 

तालिका नं. २


यसरी आव २०१६-१७ मा आन्तरिक विद्युत् उत्पादन र विद्युत आयात गरी विद्युत प्रणालीमा एक अर्ब १८ कराेड १० लाख युनिट थप विद्युत् उपलब्धताले गर्दा काठमाडौं उपत्यकालगायत पोखरा क्षेत्र हुँदै आव. २०१७-१८ मा देशभर लोडसेडिङमुक्त भएको थियो । त्यस बखत विद्युत प्रणाालीमा आव सन् २०१५-१६ भन्दा १९८१ गिगावाट घण्टा अर्थात् एक अर्ब ९८ कराेड १० लाख युनिट  थप विद्युत उपलब्ध भएकाे  थियाे । उक्त १९८१ गिगावाट ३ण्टा विद्युत् खरिदमा १४ अर्ब ३० कराेड खर्च भएको थियाे ।  उक्त दुई वर्ष गार्हस्थ्य ग्राहकहरूको खपत ३५.८९ प्रतिशत, अन्य ग्राहकहरूको खपतमा ४५.८१ प्रतिशत र औद्योगिक ग्राहकहरूको खपतमा १०२.४८ प्रतिशतले वृद्धि भएको थियो । 

यस कार्यमा काठमाडौं उपत्यका एवं पोखरा क्षेत्रको इन्भर्टर लोड हट्नुका साथै औद्योगिक ग्राहहरूको भार व्यवस्थापनबाट बचत हुने ऊर्जासमेतको व्यवस्थापन भएको थियो । यसमा नेतृत्वकर्ताको साथै उत्पादन, प्रसारण, वितरण तथा भार प्रषेण केन्द्र समेतका पदाधिकारहिरुको महत्वपूर्ण भूमिका रह्यो ।

नेपालमा सन् २०१७ मा विद्यु्त उपलब्धता पर्याप्त हुने माइन्यूटिङ नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको दशौं बैठकमा गरिएको थियो । सन् २०११ को डिसेम्बर १४–१५ मा नयाँ दिल्लीमा उक्त दशौं बैठक भएको थियो । त्यस्तै नेपाल सरकार, ऊर्जा मन्त्रालये सन् २०१७-१८ को अन्त्यमा नेपाल लोडसेडिङमुक्त हुने सम्बन्धी तयार पारेको कार्ययोजना, २०१६ मा मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको थियो । अर्थात् सबै प्रक्षेपणअनुसार समयमा नेपाल लोडसेडिङमुक्त हुने कार्य पूरा भयो ।

विद्युत् प्राधिकरणका चमेलिया जलविद्युत् आयोजना २०१७-१८ मा, माथिल्लो त्रिशुली थ्री ए  २०१८-१९ मा र कुलेखानी तेस्रो २०१९-२० मा पूरा भए । ती आर्थिक वर्षहरूमा प्राधिकरणका विभिन्न जलविद्युत् केन्द्रबाट क्रमशः २३०८, २५४८ र ३०२१ गिगावाट घण्टा विद्युत् ऊर्जा उत्पादन भएका थिए ।

निजी क्षेत्रको पनि विभिन्न जलविद्युत् आयोजनाहरू र थप निर्माण गरिएका आयोजनाहरु तथा सन् २०१८ मा माथिल्लो भोटेकोसी सञ्चालनमा आएपछि आव २०१७-१८, २०१८-१९, २०१९-२० मा क्रमशः २१६८, २१९०, २९९१ गिगावाट घण्टा बिजुली उत्पादन भएको थियो । नेपालमा जलविद्युत् उत्पादनमा वृद्धि भएको कारण आव २०१९-२० मा १७२९ गिगावाट घण्टा मात्र विद्युत् आयात गरिएको थियो । उपरोक्त सबै विद्युत् आयात तथा नेपालमा उत्पादित विद्युतकाे कारण आव २०१६-१७ देखि २०१९-२० सम्म क्रमशः ६२५८, ७०५८, ७५५१ र ७७४१ गिगावाट घाटा बिजुली उपलब्ध थियो । 

नेपालमा नाकाबन्दी तथा महाभूकम्पले गर्दा लोडसेडिङ मुक्त हुनमा केही ढिलो भए पनि अन्तर्देशीय प्रसारण लाइनहरू तथा निजी क्षेत्रको महत्वपूर्ण भूमिकाबाट नेपाल लोडसेडिङमुक्त अवस्थामा पुग्यो ।

यस लेखमा नेपाल विद्युत् प्राधिकरणको सुरुवातीको लोडसेडिङ, मुक्त अवस्थाबाट कसरी लोडसेडिङको चरम अवस्थामा पुग्यो र पुनः कसरी लोडसेडिङ मुक्तको अवस्थामा आयो भन्नेबारे कठिन यात्राको कहानी यहीं अन्त हुन्छ । 

निष्कर्ष

नेपाल विद्युत् प्राधिरकणले आफ्नो स्थापनाकालदेखि केही वर्षसम्म सम्म लोडसेडिङमुक्त अवस्थामा रही लोडसेडिङको लामो यात्रामा निस्केको थियो । करिब २३ वर्षको लामो तथा कठिन यात्रापछि लोडसेडिङमुक्तको अवस्थामा पुगेको छ । यसलाई स्थिरता दिनका लागि अर्थात् अर्काे यात्रामा जान नदिनका लागि यसको मुख्य मुख्य घटक ऊर्जा कूटनीति, मुख्य आधारभूत संरचनाहरूको निर्माण, विद्युत् प्रणालीमा मागअनुसारको विद्युत् प्रवाहको अवस्था, उत्पादित जलविद्युतको समुचित उपयोग, ऊर्जा सुरक्षासमेतको लागि जलाशययुक्त विद्युत् आयोजनाहरूको निर्माण र खर्च नियन्त्रणलाई प्राथमिकतामा राखी काम गर्नु समयको माग हो । 
 


Author

ई. रामेश्वर यादव

यादव नेपाल विद्युत्‌ प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् ।


थप समाचार
x