राज्यले २ अर्ब लगानी नगरे हेटौँडा र उदयपुर सिमेन्ट उद्योग बन्द हुन्छ
'पुरानो मेसिन भएकाले उद्योग चल्दाचल्दै बन्द गर्नुपर्छ, तलबभत्ता खुवाउने पैसा पनि छैन'

काठमाडौँ- हेटौँडा र उदयपुर सिमेन्ट उद्योगमा राज्यले २ अर्ब रुपैयाँ लगानी नगरे उद्योग बन्द हुने भएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उदयपुर सिमेन्टका अध्यक्ष र हेटौँडा सिमेन्टका महाप्रबन्धकले यस्तो बताएका हुन् ।
उनीहरूले दुवै सिमेन्ट उद्योगको वित्तीय अवस्था जर्जर रहेकाले उद्योग सञ्चालनको लागि राज्यले लगानी गर्न आवश्यक रहेको बताए । उनीहरूले सिमेन्ट उद्योगको दायित्व अत्यधिक बढेको तर उत्पादन वृद्धि गर्न मेसिन तथा औजारहरू पुराना भएको जिकिर गरे । उनीहरूले उद्योगहरूमा राज्यले लगानी गरी अपडेट गर्न नसके अहिलेकै अवस्थामा चल्न नसक्ने गुनासो गरे ।
उनीहरूका अनुसार उदयपुर सिमेन्ट उद्योगमा ४० करोड र हेटौँडा सिमेन्ट उद्योगमा १ अर्ब ६० करोड गरी दुई अर्ब लगानी नगरे उद्योग बन्द हुने अवस्थामा पुगेको छ । उनीहरूले सरकारले तत्कालका लागि उदयपुर सिमेन्ट उद्योगमा उक्त रकम लगानी गरी ‘मोडल’ परिवर्तन गर्नु आवश्यक रहेको बताए ।
बैठकमा बोल्दै उदयपुर सिमेन्टका अध्यक्ष केशवकुमार बस्नेतले अहिलेकै अवस्थामा उदयपुर सिमेन्ट उद्योग चल्न नसक्ने अवस्था रहेको बताए । उनले उदयपुर सिमेन्टमा लगानी गरी ताजकीकरण गर्न नसके चलाउन नसकिने बताए । उनले सरकारले तत्कालका लागि ४० करोड रुपैयाँ लगानी गरे १० अर्बको सम्पत्ति बचाउन सकिने अवस्था रहेको जिकिर गरे ।
धेरै पुरानो मेसिन भएकाले उद्योग चल्दाचल्दै बन्द गर्नुपर्ने समस्या रहेको उनकाे भनाइ छ ।
अध्यक्ष बस्नेतले एक महिनामा ३ देखि ४ पटकसम्म मेसिन बिग्रने गरेको भन्दै एक पटक मेसिन बनाउँदा १६ लाखसम्म खर्च हुने बताए । उनले उद्योगको मेसिन अपडेट गर्न नसक्ने हो भने उद्योग चलाउनसक्ने अवस्था नभएको स्पष्ट पारे । उनले उद्योगमा रहेका ७ सय कर्मचारी घटेर अहिले २५८ जना रहेको बताए ।
त्यस्तै, हेटौँडा सिमेन्टका महाप्रबन्धक वसन्त पाण्डेले हटौँडा सिमेन्ट उद्योग हेटौँडा कपडा कारखाना जस्तै हुन लागेको बताए । उनले आफूले जिम्मेवारी सम्हाल्दा सम्हाल्दै उद्योग मर्दै गएको स्पष्ट पारे । उनले उद्योगको उत्पादन र बजारभन्दा पनि उद्योगको दायित्व बढ्दै गइरहेको बताए । उनले २५ जना कर्मचारीहरू अवकाश पाएकाहरूलाई उपदान दिन समेत नसकिएको दुखेसो पाेखे । उनले अहिले सरकारको ऋण भुक्तानी गर्न नसकिएको बताए ।
उनका अनुसार सरकारको १२ करोड रुपैयाँको ऋणको ब्याज ३३ करोड गरी ४५ करोड रुपैयाँ कर्जा तिर्न बाँकी रहेको छ । उनले उद्योग निरन्तर चल्दा मासिक साढे दुई करोड विद्युत् महसुल प्राधिकरणलाई बुझाउनु पर्ने जनाए । उनले पैसाको अभावमा कोइला किन्न समेत नसकिएको बताए ।
हेटौँडा सिमेन्ट उद्योगको अवस्था जर्जर रहेको भन्दै उद्योग चलाए वा नचलाए पनि घाटामा रहने अवस्था रहेको पाण्डेले बताए । उनले अहिले सिमेन्टको बजार ७० प्रतिशत खस्केको जिकिर गरे । उनले ऋणमा उद्योग चलाउन बैंकहरूले ऋण समेत नदिएको गुनासो गरे । उनले सरकारले उद्योगमा लगानी नगर्ने हो भने चल्न सक्ने अवस्था नभएको उल्लेख गरे ।
अहिलेको अवस्थामा उद्योग नचल्ने भन्दै पुरानो टेक्नोलोजी परिमार्जन गर्न सरकारले एक अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराए मात्रै उद्योग चल्ने बताए । उनले लगानी थपिएर पनि मोडल परिवर्तन गर्न नसके उद्योग बन्द हुने जिकिर गरे ।
बैठकमा बोल्दै अर्थ मन्त्रालयका सचिव कष्णहरी पुस्करले हेटौँडा सिमेन्ट उद्योगले बजार र व्यापारको ग्यारेन्टी नगरे लगानी गर्न नसकिने बताए । उनले अर्थ मन्त्रालयले संसदले बजेटमार्फत छुट्याएको भन्दा बाहिरबाट बजेट व्यवस्थापन गर्न नसकिने अवस्था रहेको बताए । उनले यस्तो अवस्थामा कर्मचारीको तलबभत्ता समेत व्यापारबाट दिन नसक्ने उद्योगमा लगानी गर्दा ग्यारेन्टी कसले लिने ? भन्दै प्रश्न गरे ।
उनले कर्मचारीको पारिश्रमिक दिन नसक्ने उद्योगमा लगानी गर्न नसकिने आशय व्यक्त गरे । हेटौँडा सिमेन्ट उद्योगले राष्ट्र बैंकलाई जग्गा बेचेर कर्मचारीहरूको तलबभत्तामा खर्च गर्ने कुरा आइरहेको बताए । उनले उद्योग चलाउन अर्थ मन्त्रालयले केही रकम व्यवस्थापन गरिदिएपछि पनि त्यसको दिगोपनको जिम्मा कसले लिने भन्ने समस्या रहेको बताए । उनले सरकारले पैसा दिने तलबभत्तामा खर्च गर्ने र मेसिन, औजारहरू सबै पुरानै अवस्थामा राख्ने जस्ता कुराहरू परिमार्जन गर्न समितिले निर्देशन दिन आवश्यक रहेको बताए ।
पुस्करले उद्योगले व्यापार सुधारको ग्यारेन्टी गरे सरकारले ऋण दिन तयार रहेको पनि बताए । उनले देशको आर्थिक अवस्था बलियो बनाउन आन्तरिक रकमले नपुगे पनि वैदेशिक ऋण गरेर अर्थ मन्त्रालय ऋण दिन तयार रहेको बताए ।

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

प्रतिक्रिया