मीनबहादुर र चन्द्र समूहले १३८ किलो सुन भित्र्याएको निष्कर्ष
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरखाका मीनबहादुर घले र चन्द्र घले सम्मिलित समूहले १३८ किलो सुन भित्र्याएको निष्कर्ष निकालेको छ ।
सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले गठन गरेको समितिको प्रतिवेदनमा पटक पटक गरी मीनबहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले गरी जम्मा १३८ केजी सुन ल्याई विमानस्थलबाट सेटिङ्ग मिलाई बाहिर ल्याउने निष्कर्ष निकालेको हो ।
समितिले आइतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेलाई प्रतिवेदन बुझाएको थियो । त्यसपछि प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिएको जनाएको छ । त्यस्तै प्रतिवेदनमा विमानस्थलबाट सुन बाहिर निकाल्न कर्मचारीको पनि संलग्नता देखिएको उल्लेख छ ।
एयरपोर्टबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उड्डयन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर सेरबहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएको छानबिन समितिका संयोजक प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिए । समितिले अध्यागमन कार्यालयले निरन्तर रूपमा दुबई, सिंगापुर, थाइल्यान्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको उनले बताए ।
त्यस्तै प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले १३८ किलो सुन भित्र्याएको प्रारम्भिक विवरणमा आधारमा बृहत् छानबिनको अवस्था आउन सक्ने बताए । यस प्रकरणमा संलग्न केही विदेशी नागरिक भएकाले सम्बन्धित देशसँग पनि समन्वय गरिने उनले बताए ।
छानबिन समितिले नेपाल आयल निगम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सिनामंगल चोकस्थित गेटमा वाक थ्रो मेटल डिटेक्टर तत्काल राख्नु पर्ने, कर्मचारीहरूको सुरक्षा जाँच गराई भित्र प्रवेश गर्ने र निस्कने क्रममा सुरक्षा जाँच गर्नुपर्ने लगायतका सुझाव दिएको छ । गत मंसिर २२ गते दुबईबाट काठमाडौँ आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेपछि भन्सार कार्यालयले छानबिन समिति गठन गरेको थियो ।

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

प्रतिक्रिया