बागमती प्रदेशमा विपद्का विभिन्न घटनामा ६१ जनाको मृत्यु

मकवानपुर- पछिल्लो एक वर्षको अवधिमा बागमती प्रदेशमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ । गत वर्षको जेठदेखि हालसम्म प्रदेशमा भएका आठ सय ३६ विपद्का घटनामा ६१ जनाको मृत्यु भएको हो ।
सो अवधिमा ६१ को मृत्यु, एक सय ७७ जना घाइते हुनुका साथै तीन जना बेपत्ता भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत रविता कार्कीले जानकारी दिइन् । उनले सोही अवधिमा भएका घटनामा करिब रु ५१ करोडका साथै एक सय ७८ पूर्वाधारको क्षति भएको बताइन् ।
विपदमा परेर छ सय ३१ पशुचौपाया मरेका मन्त्रालयले जनाएको छ । 'प्रदेशमा चार सय ९७ आगलागीका घटना, एक सय २३ स्थानमा वन डढेलो, एक सय ९८ स्थानमा पहिरो गएका छन्,' अधिकृत कार्कीले भने, '४२ वटा जनावर आतंक, १६ भारी वर्षा भएको तथ्याङ्क छ । त्यस्तै बाढी १२, हुरी ११, अन्य गैरप्राकृतिक विपद् तीन, सर्पदंश तीन, हिमपहिरो तीन र एक पटक भूकम्प गएको तथ्याङ्क मन्त्रालयसँग छ ।'
बागमती प्रदेश विपद्को दृष्टिकोणले बहुप्रकोपका रूपमा उच्च जोखिममा रहेको कार्कीले बताइन् । नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी पहिरोका घटना भएको उनले जानकारी दिइन् ।
दश वर्षको तथ्याङ्क हेर्दा सोही अवधिमा एघार हजार आठ सय ५२ जनाको मृत्यु भएको छ । उक्त समयावधिमा भूकम्पमा परेर आठ हजार तीन सय ७०, आगलागीमा चार सय ६९, बाढीमा एक हजार एक सय २८ र पहिरोमा एक हजार आठ सय ८५ जनाको मृत्यु भएको अधिकृत कार्कीले जानकारी दिइन् ।
विपदमा परेर एघार लाख ९९ हजार छ सय १६ मानिस प्रभावित बनेका छन् भने पाँच लाख चार हजार निजी घर क्षतिग्रस्त भएका तथ्याङ्कमा उल्लेख रहेको छ । दश वर्षको अवधिमा विपदमा परेर प्रदेशमा रु सात खर्बको क्षति भएको कार्कीले बताइन् । उनका अनुसार भूकम्प, आगलागी, बाढी र पहिरोका कारण रु सात खर्ब ६५ अर्ब ७९ करोड ८८ लाख ४० हजार बराबरको क्षति भएको छ । रासस

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

प्रतिक्रिया