ऋण र प्रेममा डुबेका प्रहरी जवानहरू आत्महत्याको बाटोतिर
प्रहरीमा वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै

घटना १-
गत बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी करिश्मा सुनुवार झुन्डिएको अवस्थामा फेला परिन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुनुवार जेठ ३१ गते करिब २ बजे आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
घटना २ -
बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवनको ड्युटीमा खटिएका दोलखाको मेलुङ गाउँपालिका-४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आत्महत्या गरे । गोले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानी आत्महत्या गरेको प्रहरी अधिकारीहरूले निष्कर्ष निकालेका छन् ।
उनको शव बुधबार बिहान संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो । सवा ८ बजे उनी मृत अवस्थामा फेला परेका थिए ।
नेपाल प्रहरीमा आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ जेष्ठ सम्म विभिन्न तहका ३६ जना कर्मचारीले आत्महत्या गरिसकेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पुरुष ३३ र महिला प्रहरी ३ जनाले आत्महत्या गरेका छन् ।
प्रहरीका विभिन्न तहका जस्तै प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीले आत्महत्या गरेको खुलेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा ७ जना पुरुष प्रहरीले आत्महत्या गरेका छन् । २०७७/०७८ मा ४ पुरुष प्रहरी,२०७८/०७९ मा ८ पुरुष प्रहरी, २०७९/०८० मा ६ पुरुष प्रहरी, १ महिला प्रहरी र २०८०/०८१ जेठ सम्म ८ पुरुष प्रहरी र २ महिला गरी १० जना प्रहरीले आत्महत्या गरेका छन् ।
सबैभन्दा बढी १९ जना प्रहरी जवानले आत्महत्या गरेका छन् । ६ जना हवल्दार, ५ सहायक हवल्दार, २ कार्यालय सहयोगी, प्रसनि २, प्रबनानि १ र प्रबउ १ जनाले आत्महत्या गरेका छन् ।
एक साता नपुग्दै नेपाल प्रहरीका दुई सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । सुरक्षाकर्मी नै आखिर किन आत्महत्याको बाटो रोज्छन् ? अहिले यहीँ प्रश्न नेपाली समाज र प्रहरी संगठन भित्र सबैभन्दा बढी पेचिलो बन्दै गएको छ ।
समाजमा आत्महत्या जस्तो घटनाहरू न्यूनीकरण गर्नुपर्छ भनेर चेतना फैलाउँदै हिँड्नेहरू नै किन मृत्यु रोज्न बाध्य छन् ? प्रहरी संगठनभित्र वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । विभिन्न समयमा प्रहरी अधिकृतदेखि तल्लो तहका प्रहरीहरूले आत्महत्या गरेका घटना सार्वजनिक भइसकेका छन् ।
तर रोचक पक्ष भनौँ या गम्भीर आत्महत्या गर्नेहरूको संख्यामा पुरुष प्रहरीहरू नै बढी रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार महिलाको तुलनामा १० गुणा बढी पुरुष प्रहरीले आत्महत्या गरेका छन् ।
किन प्रहरीहरू आत्महत्या गर्छन्?
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले प्रहरीले आत्महत्या गर्नुको कारण डिप्रेसन, व्यक्तिगत सम्बन्ध, पारिवारिक सम्बन्ध, प्रेमिल सम्बन्ध, रोग लागेर उपचार निको नहुने अवस्था र आवेशमा आएर पनि आत्महत्या हुने गरेको बताए ।
आर्थिक कारण पनि मुख्य एक कारण भित्र पर्ने गरेको उनको भनाइ छ । जग्गा वा घर निर्माण गर्दा लागेको ऋण तिर्न नसक्दा यस्तो घटना भइरहेको प्रवक्ता कार्की बताउँछन् ।
‘अहिलेको सन्दर्भमा मानिसहरूमा धेरै आकांक्षा बढिरहेको छ । आशा गरेको भन्दा यथार्थमा फरक परिणाम निस्कने हुँदा यस्ता घटना वृद्धि भइरहेका छन्,’ उनी भन्छन्,’ आत्महत्या जस्तो घटना प्रहरी संगठनमा मात्र नभइ समाजमा पनि बढिरहेको छ । यस्ता घटना दिनप्रतिदिन बढिरहेकाले प्रहरी संगठन भित्र पर्नु स्वभाविक छ ।‘
कार्कीले प्रहरी कर्मचारीलाई समय-समयमा काउन्सिलिङ गर्न अस्पतालमा लैजाने गरिएको उल्लेख गरे । मानसिक रुपमा केही कुराको समस्या नहोस् भनेर छुट्टै चिकित्सकको व्यवस्था गरिएको उनले जानकारी दिए ।
प्रहरी भित्र गरिबी न्यूनीकरण गर्न शिक्षामा लगानी गरिएको उनले बताए । प्रहरीका सन्तानलाई शिक्षा दिन प्रहरी स्कुल खोलिएको उनले प्रस्ट पारे ।
प्रहरी संगठनमा रहेका कर्मचारीहरूको गरिबी निवारण गर्न कार्की कल्याणकारी कोष खडा गरिएको तथा विभिन्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको सुनाउँछन् । प्रहरी संगठनभित्र शिक्षा र स्वास्थ्य जस्ता समस्या समाधान गर्न प्रहरी कल्याणकारी कार्यक्रम अगाडि बढाइसकेको उनले प्रस्ट पारे ।
'आत्महत्याको ८५ प्रतिशत घटनामा मानसिक स्वास्थ्यको समस्या'
मानसिक अस्पताल पाटनको निर्देशक तथा मनोचिकित्सक डा. अनन्त अधिकारी प्रहरी एउटा पेशा रहेको र त्यो भन्दा माथि उ पनि आम मानिस रहेको बताउँछन् । समग्रमा जुनसुकै मानिसहरूको मानसिक स्वास्थ्यलाई हेर्नुपर्ने धारणा राख्नुपर्ने उनले बताए ।
‘समग्रमा एक जना नेपालीले आत्महत्या गरेको बुझ्नुपर्छ,’ उनले भने,’ मानिस आफू जुन अवस्थामा रहेको समयमा जस्तो माध्यम भेट्छ त्यसैलाई प्रयोग गरेर सिध्याउने प्रयास गर्ने गरेको छ ।‘ प्रहरीसँग अधिकांश समय हतियार रहने भएकाले हतियार प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
‘आत्महत्याको ८५ प्रतिशत घटनामा मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ,’ उनले इकागजसँग भने,’ आवेगमा आएर आफूलाई हानी गर्नु पनि मनोविचलन रहेको मानिन्छ । मानसिक स्वास्थ्य कमजोर भएर आत्महत्याको प्रयास गर्छन् ।‘
डिप्रेसन भएर पनि मानिसले आफूलाई सिध्याउने गरेको उदाहरण पाएको डा. अधिकारीले बताए । मानिसका जैविक, मनोविज्ञान, सामाजिक कारण र पेशागत सम्बन्धका कारण मानिसहरू आत्महत्या गर्न आकर्षित हुने उनको दाबी छ ।
धेरै आत्महत्या गर्ने मानिसहरूमा मनोसामाजिक समस्या रहेको डा. अधिकारीको भनाइ छ । अल्कोहल सेवन गर्नेहरूमा मानसिक विचलन आइ आत्महत्या गर्ने गरेको घटना सार्वजनिक भएको उनले प्रस्ट पारे ।
‘मानसिक स्वास्थ्यका कारण मानिसलाई निराशा बनाइ उसले आत्महत्या गर्ने गर्छ,’उनी थप्छन्,’ मानिसहरूलाई आत्महत्याबाट रोक्न हामीले मनोपरामर्श गराउने र उसले भएका कुराहरू अगाडि प्रस्टसँग खोल्नुपर्ने हुन्छ ।‘
मानसिक स्वास्थ्यले महिला वा पुरुष केही भनेर नछुट्याउने डा. अधिकारीले बताए । उनका अनुसार तथ्यांकमा महिलाले आत्महत्याको प्रयास बढी गर्छन् । पुरुषले आत्महत्याको सोच आउन साथ गरिहाल्ने गरेको तथ्यांकले बताएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया