भोजपुरका दुई सामुदायिक वनमा नर्सरी स्थापना

भोजपुर- सामुदायिक वनको वृद्धि विकाससँगै उपभोक्ता समितिलाई आय मूलक काममा अग्रसर बनाउन डिभिजन वन कार्यालय भोजपुरले जोड दिएको छ । नाङ्गा पाखा तथा खाली जमिनलाई हरियाली बनाउँदै यहाँका सामुदायिक वन उपभोक्ता समितिको आयस्तरमा सुधार गर्न कार्यालयले नर्सरी स्थापनासँगै बिरुवा रोपनमा जोड दिएको हो ।
सामुदायिक वनको विकाससँगै उपभोक्ता समितिलाई सक्रिय बनाउन कार्यालयले सामुदायिक वनमा नर्सरी स्थापनाको कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा दुईवटा सामुदायिक वनमा ४० हजार विरुवा उत्पादनसँगै खाली जमिनमा रोप्न नर्सरी स्थापना गरेको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले जानकारी दिए । स्थापना गरिएका नर्सरीबाट सामुदायिक वन आफैँले रोपन तथा निःशुल्क रूपमा वितरण गर्नसक्ने उनको भनाइ छ ।
'सामुदायिक वनको विकाससँगै नाङ्गा पाखा तथा खाली स्थानमा वृक्षरोपन गर्ने उद्देश्यले नर्सरी स्थापना गरिरहेका छौँ,' प्रमुख शाहले भने, 'दुईवटा सामुदायिक वनमा ४० हजार बिरुवाको नर्सरी स्थापना गरिएको छ । खाली जमिनलाई हरियाली बनाउन यस्ता कार्यक्रमलाई आउँदा दिनमा पनि सञ्चालन गर्ने कार्यालयको लक्ष्य छ ।'
दिगो आम्दानीको स्रोत नहुँदा कतिपय सामुदायिक वन उपभोक्ता समितिको कार्यालय सञ्चालन तथा विधिविधान निर्माणमा समस्या भइरहेको कार्यालयले जनाएको छ । उक्त समस्या समाधानका लागि सामुदायिक वनलाई उत्पादनसँग जोड्ने किसिमका कार्यक्रममा जोड दिँदै आयस्तरमा सुधार गर्न बिरुवा रोपन थालिएको प्रमुख शाहले बताए ।
सामुदायिक वनमा नर्सरी स्थापना कार्यक्रम अन्तर्गत हतुवागढी–२ को शिवालय सामुदायिक वन र टेम्केमैयुङ गाउँपालिका–३ को हर्कटे आमलाला सामुदायिक वनमा नर्सरी स्थापना गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले बताए । विभिन्न जातका ४० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यअनुसार कार्यालयको रु चार लाख बजेटमा यहाँ नर्सरी स्थापना गरिएको उनले जानकारी दिए ।
उत्पादन भएका बिरुवालाई खाली तथा नाङ्गा पाखामा रोपिने शिवालय सामुदायिक वनका अध्यक्ष यदुराज थापाले जानकारी दिए । फलफूल जातका बिरुवासँगै जडीबुटीजन्य बिरुवाको नर्सरी स्थापना गरिएकाले यसले वन क्षेत्रको विकाससँगै समितिको आम्दानी वृद्धि हुने अपेक्षा लिइएको उनले बताए । नर्सरीमा फलफूलजन्य टिमुर, जामुन, बडहर, रिठा, रुद्राक्ष चिउरी, टाकी, सल्लालगायत बिरुवा रहेका छन् ।

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक (सूच…

रवीन्द्रलाई २ लाख, खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११-११ ल…

खटाएको ठाउँमा नजाने शाखा अधिकृत र सुब्बालाई गृह मन्त्रालयले गर्यो गैलकट्टी

शेर्पा सञ्चार समूहको उद्घोषण तालिम

देशभर ९१ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ८ प्रतिशत बढी

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

प्रतिक्रिया