युनेस्कोको सुझावमा बेपरवाह सरकार : अटेर गरे बज्न सक्छ खतराको घन्टी

काठमाडौँ : २०७२ को भूकम्पले चर्किएको लिच्छवीकालीन बौद्धनाथ महाचैत्य एक वर्षमै पुरानो शैलीमा फर्कियो । चैत्य पुनर्निर्माण चाँडै सकियो भनी सबै खुसी भए । तर युनेस्को भने चिन्तित देखियो ।
युनेस्कोले नेपाललाई जुन सुझाव दिएको थियो, त्यसको उल्टो तरिकाबाट चैत्य पुनर्निर्माण भएको थियो । आधुनिक सामग्रीको प्रयोग गरी पुनर्निर्माण भएको भन्दै युनेस्कोका नेपाल प्रतिनिधि क्रिश्चियन म्यानहार्टले उतिखेरै चिन्ता व्यक्त गरिदिए ।
म्यानहार्टले भनेका थिए,‘बौद्धनाथ चैत्यमाथि अहिले ठूलो, गह्रौँ कंक्रिटको ‘प्लेटफर्म’ राखिएको छ । अर्को ठूलो भूकम्प जाँदा त्यसलाई चैत्यले नथेग्न सक्छ, ‘हामीले पहिले दिएको सुझावलाई ध्यान दिइएन ।’
भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महाचैत्य पुनर्निर्माण सम्पन्न भएको मुलुककै पहिलो पुरातात्त्विक सम्पदा हो । भूकम्पले महाचैत्यको डोमदेखि त्रयोदश भुवन ‘तेह्रवटा खुडकिला’ सम्मका भाग, मण्डला र छ्यार्तेनहरू पूर्ण रूपमा भत्काएको थियो । बौद्धनाथ क्षेत्र विकास समितिले सरकारी सहयोगबिनै २०७२ जेठ १० गते नै पुनर्निर्माण थालेको थियो । २०७३ मंसिर ७ गते महाचैत्यको उद्घाटन भएको थियो । पुनर्निर्माण सकिएपछि ०७५ मा बौद्ध घ्याङ गुठीले चैत्य वरिपरि ‘ड्रिल मेसिन’ले खोपेर बत्ती राख्यो । त्यसपछि बौद्धनाथ चैत्य विवादमा तानियो । यसअघि पुनर्निर्माण सुरुपछि पनि स्वयम्भूमा पनि कंक्रिट प्रयोग भएको भन्दै विवाद भएको थियो ।
अर्कोतर्फ पाशुपत क्षेत्रमा पनि प्राचीन स्मारक संरक्षण ऐन र विश्व सम्पदाको मूल्य–मान्यता विपरित श्लेष्मान्तक क्षेत्रमा बाटो खनेर कंक्रिटको बाटो बनाउने काम भयो । ०७७ पुसमा पशुपतिकै शंखराचार्य मठ नजिक रहेको मन्दिर पनि कंक्रिट प्रयोग गरी पुनः निर्माण गरिएको थियो । पुरातत्व विभागले उक्त कार्य रोक्न पशुपति क्षेत्र विकास कोषलाई पत्र पठाएको थियो । पत्रमा मन्दिर पुनः निर्माण गर्ने क्रममा ‘अनधिकृत सामग्रीको प्रयोग गरेको’ भन्दै उक्त कामलाई रोक्न निर्देशन दिएको थियो । तर, त्यो काम रोकिएन । अनधिकृत सामग्रीको प्रयोग गरेरै शंखराचार्य मठको काम सकियो ।
पशुपतिको वनकाली क्षेत्रमा सोही पुसमा नयाँ उद्यान, आधुनिक फलामे गेट बनाइ त्यसमा ‘कृपालु उद्यान’को बोर्ड राखिएको थियो । विभागले यही पुस २८ गते कोषलाई पत्र लेख्दै ‘कृपालु उद्यान नामको बोर्ड हटाउन निर्देशन दियो । विभागको पत्रमा लेखिएको थियो, ‘यो पत्र पाएको तीन दिनभित्र उक्त बोर्ड हटाउनू ।’ तर सात महिना बितिसक्दा पनि उक्त बोर्डलाई कोषले हटाएको छैन ।
यी त केही उदाहरणहरू मात्रै भए, अन्य विश्व सम्पदा भित्रका थुप्रै सम्पदाहरूको अवस्था यस्तै छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ढालेका केही सम्पदा उठे, केही उठ्दैछन् । कतिपय सम्पदा त उठेकै छैनन् । पशुपतिको विश्वरुप मन्दिर अझै पनि पाताल मै मिसिएको छ ।
भक्तपुरको लालबैठक, राष्ट्रिय कला संग्रहालय, वसन्तपुर दरबार, कुमारी घर, साथैसँगै रहेको नेपाल संस्कृत विश्व विद्यालयलगायत थुप्रै संरचना टेको भरमा उभिएका छन् । यी मात्रै होइनन्, विश्व सम्पदा क्षेत्र वरपरका निजी घरहरूको अवस्था पनि उस्तै छ ।
कहिलेसम्म यी सम्पदाहरू पुनः निर्माण भइसक्छन्, यसै यकिन भन्न सक्ने अवस्था छैन । तर, सम्पदाहरूको यो लथालिंग अवस्थाले भने नेपाललाई खतराको सूचीतर्फ धकेलिरहेको जानकारहरू बताउँछन् ।
अधिवक्ता सञ्जय अधिकारी कतिपय सम्पदाहरू सिधै ‘डिलिट’ हुन सक्नेसमेत बताउँछन् । ‘२०७२ को भूकम्पले सम्पदाहरूमा क्षति पुगेदेखि नै खतराको सूचीमा पर्नसक्ने सम्भावना बढेका थियो,’ उनले भने, ‘विश्व सम्पदा क्षेत्रमा पुनःनिर्माणको नाममा नवनिर्माण भइरहेका छन् । त्यसैको कारणले पनि खतराको सूचीमा पर्ने सम्भावना छ । तर, कतिपय अवस्थामा सम्पदाहरू सिधै ‘डिलिट’ पनि हुन सक्छ ।’
‘थर्ड पार्टी इन्टरभेन्सन’को प्रयोग गरेर सञ्जयले नै पनि थुप्रै पटक विश्व सम्पदा क्षेत्रमा भएका बदमासीहरूबारे विश्व सम्पदालाई सुचीत गराएका छन् । सोही सूचनाको आधारमा युनेस्कोले पुरातत्व विभाग, मन्त्रालयलाई पत्र लेखिरहेको छ । उनी भन्छन्, ‘युनेस्कोले मोनिटरिङ गर्ने हो । यसले ‘यसो गर, उसो गर’ भनेर निर्देशन दिन सक्दैन । युनेस्कोका नेपाल प्रतिनिधिहरूले यहाँ भएका कामकारबाहीका रिपोर्ट भने पेरिस पठाउँछ । त्यहाँबाट सबै निर्णय हुन्छ ।’
विश्व सम्पदा समितिले नै अवस्थाको जानकारी लिएर अगाडिको काम कारबाही अघि बढाउँछ । यसअघि पनि यो काठमाडौँ उपत्यका खतराको सूचीमा परिसकेको छ । सम्पदा क्षेत्रलाई असर पर्ने खालका कामहरूले निरन्तरता पाएपछि सन् १९९३देखि लामो समय यो विषयमा छलफल चल्यो । त्यसपछि सन् २००३ मा युनेस्कोले काठमाडौँ उपत्यकालाई खतराको सूचीमा राखेको थियो ।
२००७ मा नेपालले ‘इन्ट्रिगेटेड म्यानेजमेन्ट फ्रेमवर्क’ बनाएर सोही अनुरुप काम गर्ने प्रतिवद्धता जाहेर गरेपछि नेपालको काठमाडौँ उपत्यका खतराको सूचीबाट हटेको थियो । अधिवक्ता अधिकारीका अनुसार त्यसअनुरुप काम भने हुन सकेको छैन । २००३ मा काठमाडौँ उपत्यकालाई विश्व सम्पदाको खतराको सूचीमा राख्दा, विश्व सम्पदा समितिले नेपाललाई स्मारक क्षेत्रमा पर्याप्त ‘बफर जोन’ (संरक्षित क्षेत्र) निर्माण गर्न अनुरोध गरेको थियो । सोहीअनुसार, पुरातत्व विभागले स्थानीय तह र अधिकारीसँग छलफल गरेर बफर जोनको प्रस्ताव राखेको थियो । त्यतिबेला हनुमान ढोका, स्वयम्भू, पशुपतिनाथ, बौद्धनाथ, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरलाई ‘बफर–जोन’को रुपमा स्थापित गर्ने भनिएको थियो । चाँगुनारायणमा भने ‘बफर–जोन’ बनाउनुपर्ने आवश्यकता नदेखिएको उक्त ‘इन्ट्रिगेटेड म्यानेजमेन्ट फ्रेमवर्क’ मा उल्लेख गरिएको थियो ।
बफर जोन बनाएपछि त्यसले सम्पदा क्षेत्रलाई थप सुरक्षा प्रदान गर्छ । यहाँ स्मारक क्षेत्रको सार्वभौमिक मूल्यलाई नकारात्मक प्रभाव पर्ने खालका गतिविधि गर्न अनुमति पाइँदैन । यसमा सम्पदा र सम्पदा क्षेत्र वरपरका संरचनादेखि व्यवस्थापनका पक्षहरू समेटिएको थियो । त्यस्तै स्मारक क्षेत्रमा हुने दृष्टि प्रदुषण, ध्वनि प्रदुषण, वायु प्रदुषण लगायतले तिनको परम्परागत चरित्र बदलिन सक्ने हुँदा यस्तो प्रदुषणहरू हुन नदिने भनिएको थियो ।
नेपालको ‘बफर–जोन’को प्रस्तावमा पाटन र भक्तपुरलाई ऐतिहासिक सहरको क्षेत्रमा सामेल गर्ने भविष्यवाणीसमेत गरिएको थियो । त्यस्तै हनुमान ढोका दरबार स्क्वायर, स्वयम्भु, बौद्धनाथ र पशुपतिको बफर जोनलाई नयाँ परिभाषित स्मारक क्षेत्र सीमा र पछिल्लो राजपत्रको सीमाबीचको क्षेत्रको रूपमा परिभाषित गरिएको थियो । साथै यी स्मारकहरूको सांस्कृतिक, प्राकृतिक महत्व र स्थानीय मूल्यका आधारमा सम्पदालाई जीवन्त राखिरहनेसमेत प्रतिवद्धता उल्लेख थियो ।
त्यसैले त पुरातत्व विभागले पठाएको यो बफर जोनसहितको ‘इन्ट्रिगेटेड म्यानेजमेन्ट फ्रेमवर्क’ प्रपोजल विश्व सम्पदा कमिटीले २००६ को जुलाईमा भएको ३० औँ महाधिवेशनमा स्वीकृत गरेको थियो । त्यसपछि २००७ मा काठमाडौँ उपत्यका खतराको सूचीबाट हटेको थियो । तर, यस अनुसार काम भएको छैन । त्यसैले त सम्पदा मै कंक्रिट प्रयोग गर्नेदेखि ‘बफर–जोन’का घरहरू पनि जथाभावी निर्माण भएका छन् । यही क्रम चलेमा नेपालका सम्पदाहरू फेरि त्यस्तै खतराको सूचीमा आउन सक्ने थुप्रै कारणहरू बढ्दै गएको इतिहासविद् प्रा.डा.पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।
सम्पदा पुन:निर्माणमा मात्रै नभई ‘बफर–जोन’का पृष्ठभूमि पनि झनै बिग्रँदै गएको उनले महसुस गरेका छन् । उनले मात्रै होइन, केही समयअघि नेपाल आएका उनका दुई बेलायती साथीले पनि उस्तै महसुस भएको सुनाएका थिए । ती दुवै साथीहरू मानवशास्त्रीहरू हुन् । श्रेष्ठले दुवै जनालाई विश्व सम्पदा क्षेत्रहरुमा लगे । भक्तपुरको पाँच तले मन्दिर देखेर एक साथी त रोए पनि । तर उनीहरु फर्किने बेलामा श्रेष्ठलाई एउटा सुझाव दिँदै भने,‘यहाँको सम्पदा हेर्दा निकै अमूल्य लाग्छ । आनन्द मिल्छ । तर यसको पृष्ठभूमिमा हेर्दा भने भिजुअल पोलुसन (दृश्य प्रदुषण) अत्याधिक छ । सम्पदा क्षेत्रभित्रको यो प्रदुषण हटाउने सल्लाह तिम्रो सरकारलाई देऊ हैँ ।’
ती प्रा.डा.श्रेष्ठ र ती दुई बेलायती मानवशास्त्रीलाई मात्रै होइन, नेपालको अधिकांश सम्पदा स्थल चाहर्ने हो भने जो कोहीलाई यस्तै अनुभूति हुन्छ । अस्तव्यस्त सडक, तारैतारले जेलिएका खम्बा, अनेक होर्डिङ बोर्ड, अव्यवस्थित सहरीकरण, आँखामा बिझाउँछन् । इतिहासविद् श्रेष्ठ पनि विश्व सम्पदास्थलको आत्मा अनुसार शरीर हुनुपर्ने बताउँछन् । ‘विश्व सम्पदा क्षेत्रको वातावरण पनि अतितसँग मिल्दोजुल्दो हुनुपर्छ, हामीकहाँ अमिल्दो देखिन्छ,’ उनले भने,‘हाम्रा सम्पदा क्षेत्रमा दृश्य प्रदुषण, ध्वनि प्रदुषण बढी छ । विश्व सम्पदा क्षेत्रमा यस्तो हुनुहुन्न । विश्व सम्पदाको आत्मा अनुसार शरीर हुनुपर्छ ।’
तर यो ‘इन्ट्रिगे्रडेट म्यानेजमेन्ट फ्रेमवर्क’ मा गरेका बफर जोन बनाउने, सम्पदाको अवस्था सुधार गर्ने जस्ता प्रतिवद्धताहरू लागू गर्न नेपाल असफल भएको युनेस्कोकोसमेत ठहर छ । २०१९ मा नेपालमा विश्व सम्पदा कमिटीको रियाक्टिभ मोनिटरिङ मिसन आएको थियो । उक्त रिपोर्टको ५.४ मा ‘विश्व सम्पदाको खतराको सूचीमा समावेश’ भन्ने शीर्षक छ ।
त्यसभित्र २०१५ मा गएको प्रकोपले काठमाडौँ उपत्यकाको विश्व सम्पदाहरूमा मात्रै नभई सामुदायिक जीवन, संस्कृति, आवास, जीविकोपार्जन, शहरी पूर्वाधार, अर्थव्यवस्था र दैनिक जीवनलाई प्रभाव पारेकोदेखि नेपालले पुरानै अवस्थामा फर्काउन गरेको अथक प्रयासलाई युनेस्कोले पनि कदर गरेको प्रसंग उल्लेख छ । हालसम्म नेपालले पुनर्निर्माणका लागि गरेको प्रतिबद्धताहरूकै कारण विश्व सम्पदा समितिले काठमाडौँ उपत्यकालाई खतराको सूचीमा राखेको छैन ।
विश्व सम्पदा समितिले हरेक वर्ष गर्ने अधिवेसनमा नेपालको सम्पदाहरूबारे छलफल हुँदै आएको छ । तिनीहरूलाई पुरानै अवस्थामा फर्काउन वर्षैपिच्छे सुझावहरू पनि दिँदै आएको छ । काठमाडौँ उपत्यकाको सम्पदाहरूको अवस्था सुधार गर्न ४१ औँ अधिवेशनको निर्णय नम्बर ७ बी.९५मा, ४२ औँ अधिवेसनको ७ बी १२मा र ४३ औँ अधिवेशनको ७ बी.७० मा संरक्षणका लागि निर्धारित गरिएको उपायहरू सुझाएको थियो ।
साथै ४३ औं अधिवेशनमा भएको निर्णयको ८ नम्बर बुँदामा २०२१ को अन्त्यसम्म सबै कामहरू सम्पन्न गरी विश्व सम्पदा कमिटीमा रिपोर्ट पेस गर्न आदेश दिएको थियो । तर, लामो समय वितिसक्दा पनि समितिले दिएका सुझावहरू नेपालले पालना गर्न नसकेको रिपोर्टमा उल्लेख गरेको छ ।
‘यहाँका सम्पदा अत्यधिक कमजोर र जोखिममा छन् । काठमाडौँ उपत्यकाका विश्व सम्पदा ऐतिहासिक सहरी क्षेत्रहरू र पुरातन बस्तीहरूमा परम्परागत आवासको क्षति उल्लेखनीय छ । यहाँका सम्पदाको ‘आउटस्ट्यान्डिङ युनिभर्सल भ्याल्यु’, अखण्डता र प्रामाणिकतामा असर पारेको छ,’ उक्त रिपोर्टमा लेखिएको छ, ‘काठमाडौँ उपत्यकाभित्र रहेका सम्पदाको ‘इन्ट्रिगे्रडेट म्यानेजमेन्ट फ्रेमवर्क’लाई अपडेट गर्न र सात स्मारक क्षेत्रहरूको अवस्था सुधारको ‘मास्टर प्लान’ विकास र कार्यान्वयन गर्न नेपाल असफल भएको छ ।
काठमाडौँ उपत्यकाको सम्भावित र निश्चित खतराहरू विचारणीय छ । काठमाडौँ उपत्यकाले झेलिरहेको समस्या विश्व सम्पदा समितिले २०१९ मा बनाएको सञ्चालनका दिशानिर्देशको धारा १७९ (ए) मा उल्लेखित खतराहरूसँग मिल्न गएको उल्लेख गरको छ । यस धारा १७९ को ‘ए’ र ‘बी’ दुवैमा विश्वका सांस्कृतिक सम्पदाहरूमा देखिएका खतराहरूबारे उल्लेख गरेको छ । र सोही अवस्था लामो समयसम्म जारी रहेको खण्डमा विश्व सम्पदा समितिले सम्पदाहरूलाई खतराको सूचीमा राख्ने र त्यो अवस्थामा सुधार नआए पूर्णरूपमा हटाउने गर्छ ।
(विश्व सम्पदा समितिको ४४ औँ सभा जुलाई १६ देखि ३१ तारिखसम्म चीनको सहर फुजौमा हुन लागेको छ । यही सन्दर्भमा समितिले ‘यहाँका सम्पदालाई कसरी नियालिरहेको छ ?’ भनेर हामीले हेर्ने प्रयास गरेका छौँ । यसको दोस्रो भाग क्रमशः प्रकाशित हुनेछ ।)

गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

गोहीको गुँडबाट अण्डा संकलन थालियो

आजको मौसमः चार प्रदेशमा बर्षा र हिमालमा हिमपात हुने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

सगरमाथा चढन तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीको बिदाई

पत्रकार कार्की माथी हमला गर्ने माथी कारबाही गर्न प्रेस चौतारीको माग

बानेश्वरको झडपमा पत्रकारसहित ५० बढी शिक्षक घाइते

प्रतिक्रिया