तातिएको पृथ्वी, सुरुवाती संकट : विदेशमा मान्छे मर्दैछन्, नेपालका हिमाल झर्दैछन्

काठमाडौँ : इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसीमोड)का तत्कालीन निर्देशक डेभिड मोल्डेन नेपालमा वातावरणीय संकट नजिकै आइरहेको बताउँछन् । २०१९ मा उनको अन्तर्वार्ता नेपाली टाइम्समा छापिएको थियो । उक्त अन्तर्वार्तामा डेभिड भन्छन्,‘यदि हामीले विश्वको तापक्रम १.५ डिग्रीमा सीमित नगरे एकतिहाइ हिमनदी गुमाउन सक्छौँ, अहिलेकै अवस्थाले निरन्तरता पायो भने त दुई तिहाइ हिमनदी गुमाउनेछौँ, जुन एकदम डर लाग्दो छ ।’
विश्वको तापक्रम १.५ डिग्रीमा सीमित नगरे नेपालका हिमालहरू संकटमा पर्न सक्ने प्रष्टै बताउँछन् डेभिड। उनका अनुसार यो जलवायु परिवर्तनको शुद्ध संकेत हो, हिमाली क्षेत्रमा जलवायुको प्रभाव एकदम गम्भीर हुनसक्छ । इसीमोडका तत्कालीन निर्देशक डेभिडको आँकलनलाई मान्ने हो भने नेपालमा संकट भित्रिसकेको छ । किनकि विश्वको तापक्रमले एक वर्ष अगाडि नै १ डिग्री पार गरिसकेको छ ।
वातावरणविद् भुषण तुलाधरका अनुसार गतवर्ष बढेको भनिएको १ डिग्री सय वर्षमा बढेको तापक्रमको औसत हो । थुप्रैलाई सय वर्षमा १ डिग्री बढ्दा के नै हुन्छ र भन्ने लाग्न सक्छ । तर, यो धेरै हो । यसले नेपालमा व्यापक असर गर्छ । गर्मी मौसममा मात्रै होइन, अन्य मौसमको पनि औसत तापक्रम बढिरहेको छ ।
‘नेपाल कृषिप्रधान मुलुक हो । मनसुनको महत्व धेरै छ । विद्युतको लागि खोलाको पानीमा भर पर्नुपर्छ । घाँस दाउराको लागि जंगलमा निर्भर हुनुपर्छ । हामी प्रकृतिमा भर पर्छाैँ,’ उनी भन्छन्, ‘तर यो प्रकृति खल्बलिँदा हाम्रो मानव जीवनका साथसाथै अन्य जीवजन्तुमा समेत असर गर्न थाल्छ ।’
त्यसैले हरितगृह ग्यासको उत्सर्जन घटाउनुपर्छ । अहिले वातावरणमा कार्बनडाइअक्साइडको मात्रा ४ सय पीपीएम भन्दा बढी भइसकेको छ । यो कम्तीमा पनि सय वर्ष वातावरणमा रहन्छ । त्यसैले कार्बनडाइअक्साइडको उत्सर्जन जति सक्दो कम उत्सर्जन गर्ने कोशिस गर्नुपर्छ । नत्र अमेरिका र क्यानडामा उत्तर पश्चिमबाट आएको गर्मीले जुन अवस्था निम्त्यायो, त्यस्ता घटनाहरू विश्वमा व्यापक रूपमा बढ्न थाल्छन् ।
अमेरिका र क्यानडाका राज्यहरूमा गर्मी बढ्ने मौसम पूर्वानुमान नगरेको होइन, गरिएको थियो । तर पनि उनीहरूले सोचे भन्दा बढी असर पुर्यायो । यसले गर्दा मौसम पूर्वानुमान गर्न गाह्रो हुन्छ । अतिवृष्टि हुने, अनावृष्टि हुने लगायत समस्या आइपर्छन् । उनी भन्छन्, ‘बदलिँदो परिवेश र अवस्थामा वायुमण्डल र पृथ्वीले कसरी रियाक्ट गर्छ भन्ने कुरा अनुमान नै लगाउन सकिन्न ।’
२०२१ जुलाईको पहिलो हप्तादेखि क्यानडा र अमेरिकाका केही ठाउँमा भयानक गर्मी भयो । सयौँ मानिसले ज्यान गुमाए । अझै थप मानिसको ज्यान जाने आशंका गरिएको छ । गत हप्ता ब्रिटिस कोलिम्बियाले ४ सय ८६ जनाको मृत्यु भएको खबर पाएको थियो ।
मौसम बैज्ञानिकहरूका अनुसार उत्तर पश्चिमी प्रशान्त क्षेत्रमा तापक्रम बढ्नाले क्यानडा र अमेरिकाको ओरेगन र वासिङ्गटन राज्यमा गर्मी बढेको हो । तर, यो गर्मीलाई ज्यानको दुश्मन भने जलवायु परिवर्तनले बनाएको उनीहरूको दावी छ । बैज्ञानिकहरूका अनुसार भविष्यमा यस्ता घटना थप देख्न पाइन्छ ।
अमेरिकाको सिएटल, क्यानडाको भ्यानकुभर र ब्रिटिश कोलम्बियाको अधिकांश घरहरूमा एअर कन्डिसन छैन । भ्याकुभरका प्रहरी सर्जेन्ट स्टीभ एडिसनले भने,‘भ्यान्कुभरले पहिले यस्तो गर्मी कहिल्यै देखेको थिएन । दर्जनौँ मानिस यही कारण मरिरहेका छन् ।’
ब्रेकथ्रु इन्स्टिट्युटका मौसम विशेषज्ञ जेके हाउसफादरका अनुसार जलवायु परिवर्तन नभएको भएपनि उत्तर पश्चिमको प्रशान्त क्षेत्रमा गर्मी त हुन्थ्यो, तर यति भयानक भने हुँदैनथ्यो । ‘जलवायु परिवर्तनको कारण जुन नोक्सान भइसकेको छ, त्यसको भरपाइ हुन मुस्किल छ,’ उनी भन्छन्, ‘दुर्भाग्यवस, यदि हामीले कुनै जादुको छडी भेट्यौँ र कार्बन उत्सर्जनको मात्रालाई ‘जिरो’मा झा¥यौँ भने पनि पृथ्वी फेरी चिसो हुँदैन ।’ अब क्यानडा र अमेरिकी नागरिकले यस्तो गर्मी झेल्नुपर्ने तर्क उनले गरेका थिए । त्यसैले यस्तो मौसमको बानी पार्नु नै ठिक रहेको उनले सुझाव समेत दिए ।
क्यानडा र अमेरिकामा मात्रै होइन, गर्मीको मात्रा त कराँचीमा समेत हरेक वर्ष बढ्दै गइरहेको छ । कराँचीकी तलैहा चुगताईले गार्जियनसँग भनिन्,‘मलाई कराँचीमा बस्नै मन छैन ।’
त्यहाँको गर्मीले उनलाई समेत दुःख दिएको छ । केही नगरी बसिरहँदा पनि पसिनाले निथ्रुक्क भिज्छन् उनी । गर्मी कै कारण सास फेर्न पनि समस्या भएको छ उनलाई । फेरि उनले कराँचीको हावामा भएको अचेल धुलो मिसिएको छ । जसले हरेक सास प्रदुषित बनाइरहेको छ । उनी भन्छन्,‘काममा दिमाग लगाउनुपर्छ । तर गर्मीको कारण दिमागले काम नै गर्दैन । हरेक २५ मिनेटमा हावामा गएर बस्न मन लाग्छ ।’
उनलाई प्राय यस्तो भइरहन्छ । कामबाट घर आइपुग्दा उनलाई आफ्नो शरीरले काम नगरेको जस्तो महशुस हुन्छ । घर बाहिर जान सक्दैनन्, काम गर्न सक्दैनन् । उनलाई बेचैनी हुन्छ । जब तापक्रम ४४ डिग्री सेल्सियसभन्दा बढी भयो भने मर्छु कि भन्ने डर हुन्छ ।
उनी यही सहरमा हुर्केका हुन् । यो सहर पहिले यति गर्मी नभएको उनको अनुभव छ । उनी भन्छन्, ‘पहिलेको गर्मी अहिलेको भन्दा फरक थियो । सूर्यको प्रकाशको कारण गर्मी हुन्थ्यो । तर अहिले त दिउँसै तातो समुद्री हावा चल्छ । हाम्रो घरले त्यस्तो हावा छेक्न सक्दैन । खाना खान मन लाग्दैन ।’
सन् १९३१ देखि २०१५ कराँचीको मौसमको रेकर्ड हेर्ने हो भने ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम हुनु नयाँ कुरा होइन । तर २०१५ देखि गर्मीको कारण भारी संख्यामा मानिसहरूको ज्यान नै जान थालेको थियो । कराँची, क्यानडा, अमेरिकामा मात्रै होइन, पछिल्लो समय पृथ्वीको तापक्रम दु्रत गतिमा परिवर्तन हुँदै छ । मानवीय क्रियाकलापहरूको पृथ्वीको तापक्रममा असर पर्दै गएको देखिन्छ ।
सन् १८००को मध्यदेखि विश्वमा औद्योगिकरणको युग सुरु भएको थियो । त्यस बेलादेखि विश्वभरी नै तापिय उर्जाहरूको अत्याधिक मात्रामा बाल्न थालिएको थियो । जसले गर्दा पृथ्वीको वातावरण परिवर्तन हुन थाल्यो । ग्रिन हाउस ग्याँसहरूलाई असर गर्न थाल्यो । पृथ्वीको तापक्रम बढ्ने, समुन्द्री सतह बढ्ने लगायत इकोसिस्टममा अवरोध पुर्याउन थाल्यो ।
बैज्ञानिकहरूका अनुसार यदि पूर्वऔद्योगिक युगको स्तरमा विश्वको तापमान २ डिग्री सेल्सियको स्तरभन्दा पार हुन्छ भने यसको प्रभाव नराम्रो हुन्छ । दुनियाँभरका अरबौँ मानिसहरूका लागि यो खतरनाक हुन्छ । त्यसकारण विश्वका थुप्रै मुलुकले सन् २०१५ मा पेरिस सम्झौतामा हस्ताक्षर गरेका छन् । जसमा पृथ्वीको तापक्रम २ डिग्री सेल्सियस भन्दा बढी हुन नदिन र १.५ डिग्री सेल्सियस भन्दा कम नै राख्ने महत्वाकांक्षा सहित सहमति भएको थियो ।
तर, दिनानुदिन विश्वको तापक्रम बढ्दै गइरहेको छ । नासाको तथ्यांकहरुले पनि यसको पुष्टि गर्छ । समयसँगै विश्वको तापक्रम बढ्दै गएको छ । सन् १८८० देखि २०२० सम्मको तथ्यांक हेर्ने हो भने यो प्रष्ट हुन्छ ।
मानिसले सास फेर्दा कार्बनडाइअक्साइड फाल्छ । तर मानिसका अन्य गलत क्रियाकलापबाट पनि अत्याधिक मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुने गरेको छ । यसरी उत्सर्जन भएका कार्बनडाइअक्साड हरिगृहमा गई बस्छ । जंगल फडानी, तापिय उर्जा बाल्ने, ज्वालामुखी विस्फोटन लगायतले पनि कार्बनडाइअक्साइड उत्सर्जन गर्छ । मौना लोवा अब्जरभेटरीले हालैको दिनमा वातावरणमा कार्बनडाइअक्साइडको मात्राको ग्राफ हो ।
औद्योगिक युग सुरु हुनु भन्दा अघि कार्बनडाइअक्साइडको उत्सर्जनको मात्रा र अहिलेको उत्सर्जनको मात्रा तुलना गर्दा ४८ प्रतिशतले बढेको देखिन्छ । सन् १८५० देखि १७१ वर्ष पछि मानवीय क्रियाकलापको कारण उत्सर्जन भएका कार्बनडाइअक्साइडले मानिसलाई नै हानी गरिरहेको छ ।
आर्कटिक समुन्द्री आइस प्रत्येक सेप्टेम्बरमा न्युनतम स्तरमा पुग्छ । १९८१ देखि २०१० सम्ममा प्रतिदशक १३.१ प्रतिशतको औसतमा यो आइस घटिरहेको छ । स्याटलाइटको माध्यमबाट यसको निरिक्षण भइरहेको छ । १९७९ पछि प्रत्येक सेप्टेम्बरमा औसत मासिक आर्कटिक समुन्द्री आइसको सीमालाई दर्शाउँछ ।
९० प्रतिशत समुन्द्रमा जलवायु परिवर्तन भइरहेको छ । जसले गर्दा समुन्द्रको पानीमा तापक्रम बढ्दै गएको छ । १९५५ देखि आधुनिक रेकर्ड राख्न सुरु भएको थियो । समुन्द्रमा जमेको तापको कारण यसको पानी विस्तार हुन थाल्छ ।
जसले गर्दा समुन्द्रको स्तर एक तिहाइदेखि डेढ गुणा बृद्धि हुन जान्छ । अधिकांश अतिरिक्त ताप सतहमा शून्यदेखि ७०० मिटरको गहिराइमा जमेको हुन्छ । पछिल्लो १० वर्षमा समुन्द्रमा बढी गर्मी बढेको छ । २०२० मा महासागरमा सबैभन्दा बढी गर्मी भएको तथ्यांक पाइएको थियो । (अन्तर्राष्ट्रिय संस्था र संचार माध्यमका प्रकाशनको सहयोगमा)

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया