शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएको उल्लेख गर्दै कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्ने बताएकी छन् ।

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग बिहीबार भएको टेलिफोन कुराकानीलाई धम्की भनी नागरिक पत्रिकामा आएको समाचारको खण्डन गर्दै उनले स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने आफ्नो बुझाइ भएको उल्लेख गरेकी छन् । यसैका आधारमा राखिएका कतिपय धारणालाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद् भएको उनको भनाइ छ । 

“नागरिक दैनिकमा आफ्नो विषयमा समाचार  प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु”, उनले भनेकी छन्, “हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासयसहित  सामाजिक सञ्जालमा आएको तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उहाँसँग कुराकानी भएको हो ।”

नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन नमिल्ने समेत उनले स्मरण गरेकी छन् ।