शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्यो प्रश्न

काठमाडौँ- सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा कृष्णप्रसाद सापकोटा 'देशबन्धु' २०७९ सालमा निर्वाचित भए । निर्वाचित लगत्तै स्वागत कार्यक्रम राखियो वडानम्बर ३ स्थित किटिनेमा । उक्त स्वागत कार्यक्रममा किटिनेकै एक महिलाले सापकोटालाई प्रश्न गरिन्- 'तपाईं आउँदा पनि त्यहि बाटो भएर आउनु भयो । बाटोको हालत पनि देख्नुभयो होला ! पुल नभएको त झनै भन्नै पर्दैन् होला ! तपाईंको दाइ (अग्निप्रसाद सापकोटा)ले पनि जितेर जानु भयो । अब तपाईं के गर्नुहुन्छ ?'

ति महिलाको प्रश्न वास्तविकता तर गम्भीर र मनछुने पनि थियो । भर्खरै मेयरमा निर्वाचित सापकोटाले पुल बनाइदिन्छु भन्ने अवस्था पनि थिएन्, बनाउन सक्दिनँ भन्ने अवस्था पनि थिएन् । उनले स्वागत कार्यक्रमै भनेका थिए- 'केहि दिनपछि खबर दिनेछु ।'

'बढो सकरात्मक ढंगले मनछुने गरी उहाँले भन्नुभयो' मेयर सापकोटाले ति महिलाको भनाई उदृत गर्दै भने 'उक्त कुरा मेरो मनमा गढ्‌यो ।' स्वागत कार्यक्रम सकेर चौतारा आउँदासम्म उनले सोचिसकेका थिए अब हेटौंडा जान्छु । र, केही समयपछि उनी बागमती प्रदेश हेटौंडा गए ।

बजेट बिनियोजन गर्ने समय थियो त्यतिबेला । मुख्यमन्त्री थिए- शालिकराम जम्कट्टेल । मुख्यमन्त्री जम्कट्टेललाई मेयर सापकोटाले भने- म बरू अरू योजना माग्दिनँ, एउटा पुल चाहिँ जसरी पनि चाहियो । मुख्यमन्त्री जम्कट्टेल पनि माओवादी मेयर सापकोटा पनि माओवादी ट्‌युनिङ नमिल्ने कुरै भएन्, हुन्छ पुल हाल्दिन्छु भने । त्यसपछि मेयर सापकोटा फर्किए । पुलको लागि बजेट परेछ एक करोड । एक करोड मात्रै बजेटले पुल बन्न नसक्ने भन्दै ति महिलाको कुरा मनमा खेलाउँदै फेरि मेयर सापकोटा मुख्यमन्त्री जम्कट्टेललाई भेट्‌न हेटौंडा गए । जम्कट्टेललाई सापकोटाले सोधे- के गर्‍या यस्तो ? एक करोडले नि पुल बन्छ ? जम्कट्टेलले बचन दिए- 'चिन्तै नगर्नु न । स्रोत सुनिश्चित गरिदिन्छु । बहुबर्षीय योजनामा हालेको छु । त्यो पुल पुरै बनाउने जिम्मा मेरो भयो ।'

नभन्दै स्रोत सुनिश्चित पनि भयो । मेयर सापकोटा ढुक्क भए अब पुल बन्ने पक्का भयो । त्यसको केहि समयमै पुलको टेण्डर पनि खुल्यो । निर्माण कार्य हुन थाल्यो ।  'ठेकेदार पनि राम्रो पर्‍यो तोकिएको समयसम्म पनि लागेन पुल बन्नलाई' मेयर सापकोटाले भने । 

गतवर्षदेखि सञ्चालनमा आयो, ३१ मिटर लम्बाईको कुविण्डे खोला पुल । २०८१ वैशाख १० गतेदेखि सञ्चालनमा आएको पुल उद्‌घाटन गर्न पुगेका थिए बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल ।

मेयर सापकोटाका अनुसार ६ करोड लागतमा पुल बनेपछि वडानम्बर २ र ३ का स्थानियलाई सहज भएको छ । ' पुल अति आधुनिक छ । बिमभित्र पनि लठ्ठा छ । रड पनि राम्रै खालको छ' सापकोटाले भने 'अहिले त क्यू को बस पनि सञ्चालन हुन्छ । ढुवानीको लागि पनि सहज भएको छ ।'

भुस्लुङका नारायण थापालाई अचेल वर्षा याममा पनि घर जान समस्या छैन । गतवर्षदेखि चौतारा साँगाचोकगढी नगरपालिका-३ स्थित कुविण्डे खोलामा मोटरेवल पुल बनेपछि उनलाई के हिउँद के बर्खा सधैँ मोटरसाइकलमा ओहोरदोहोर गर्न सहज भएको छ ।

गतवर्षदेखि पुल सञ्चालनमा आएपछि खालेका निमा तामाङलाई पनि सदरमुकाम चौताराबाट घरायसी सामान र खेतबारीमा हाल्ने रासायनिक मल लैजान सहज भएको छ । खेत रोपाईं गरेर सधैं मल कसरी लैजाने भन्ने चिन्तामा हुने त्यस भेगका थापा र तामाङ मात्रै होइन् करिब एक हजार बढी घरधुरी अचेल वर्षायाममा पनि ढुक्कले आवतजावत गर्न पाउँछन् । पुल बनेपछि विरामीलाई अस्पताल लैजान सहज भएको छ भने वृद्धवृद्धालाई सदरमुकाम ओहोरदोहोर गर्न सहज भएको छ । 

'पहिला पुल नबन्दा त साह्रै समस्या थियो । गाउँमा विरामी पर्दा पनि लैजान सक्ने स्थिति थिएन् । खोलामा बाढी ठूलो आउँथ्यो, बगाउला कि पनि पीर छँदै थियो । गाउँसम्म जाने बाटो ब्लक थियो' तामाङले भने 'अहिले हाम्रो लागि वरदान बनेको छ कुविण्डे खोलाको पुल ।'

पुल बनेपछि बतासे, गैह्रिगाउँ, कामीगाउँ, भोटेफुल्पिङ, खाले, किटिने, भुस्लुङ, भलायखर्कलगायतका स्थानीयलाई सहज भएको छ । सदरमुकाम चौताराको नगरपालिका भएपनि खाले, किटिने, भुस्लुङ, भलायखर्क अलि बिकट नै छ । सडक नै बन्दा पनि आवतजावत गर्न कठिन मानिने दुर्गम बस्तीमा जान स्थानीयले बेहोर्नु परेको पीडाको सम्बोधन गर्न पाउँदा मेयर सापकोटा निकै खुसी छन् ।

'बर्खामा ओहोरदोहोर गर्न समस्या थियो । कुविण्डे खोलामा पुल बनेपछि दुर्गम भेगका नगरवासी पनि बाह्रै महिना ओहोरदोहोर गर्न सकेपछि को खुसी हुँदैन् होला र' मेयर सापकोटाले भने ' एम्बुलेन्स र बसको त कुरै छाडिदिउँ मान्छे पैदल यात्रा गर्न पनि सक्ने स्थिति थिएन । म अझै त्यो पुलमा पुग्दा किटिनेमा ति महिलाले गरेको त्यो प्रश्न सम्झिन्छु ।'

हुन त मेयर सापकोटाको मनसाय कहिल्यै पनि अनुत्पादक क्षेत्रमा केन्द्रित भएन । जनताको सुख दु:खलाई आफ्नै सुख दु:ख ठान्दै उनले स्वास्थ्य, शिक्षा, आयआर्जन र जनजिविकालाई आफ्नो मूलमन्त्रको रुपमा अंगिकार गर्दै सोही अनुसारका कार्यक्रम सञ्चालनमा तिव्रता दिए । यो पुल निर्माण पनि उनको ऐतिहासिक र सहासिक कदम हो । उनले आफूले चाहेको भए आफू क्षणभरमा नै भाइरल हुने अनुपात्दक क्षेत्रमा काम गर्न पनि सक्थे । तर अनुपात्दकसँगको अनैतिक सम्बन्ध गाँसेर भाइरल हुनुभन्दा जनताको गाँसबास र कपाससँगको सुमधुर सम्बन्ध गाँस्दै ओझलमा पर्नु नै उनले उत्तम ठाने ।

भलै त्यसको देखिने अनुभूति कसैले नगरोस् उनलाई बाल मतलब भएन । अनि यो पुल कथाले विपक्षहरूलाई मुखभरि जवाफ दिन पनि उनी सफल भए । किनकि माओवादीको पकड भएको क्षेत्रमा मात्र विकासे योजनाहरू उनले केन्द्रित गरे भन्ने आरोप उनीमाथि लाग्ने गरेको छ । तर स्मरणीय के छ भने वडा न ३ एमालेको पकड क्षेत्र मानिन्छ । त्यहाँ माओवादीको खासै प्रभाव छैन । न त वडा ३ को  लाइफलाइनको रुपमा निर्माण भएको यो पुलकै कारण कोही माओवादी बन्ने छाँट नै छ, फेरि पनि मेयर सापकोटा दलको दलदलबाट बच्दै आफूलाई आम नगरबासीको नगरपिताको रुपमा स्थापित हुन र विपक्षको मुखमा बुझो कोच्न सफल भए । यो मेरो सफलता भन्दा पनि जनताको सफलता हो उनी खुशी हुँदै भन्छन् ।

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।