बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

श्रावणको चुरा र हजुरबुवाको माया

श्रावण महिनाको आगमनसँगै प्रकृतिले हरियो च्यादर ओढेझैं लाग्छ। आकाश बादलले ढाकिन्छ, धर्ती रसिलो हुन्छ र नेपाली नारीहरूको एउटा पर्व सुरु हुन्छ । रंगीचङ्गी पहिरन, हातका चुरा र मेहेन्दी सबै कुराले एक महिनासँग हरियालीले श्रावणलाई भरिपूर्ण र उत्सवको रुपमा लिइन्छ । यो केवल धार्मिक परम्पराको विषय होइन, आस्था, प्रेम र सौभाग्यको प्रतीक हो।

श्रावण महिना भगवान शिवलाई समर्पित छ। हरियो रङलाई जीवन, उर्वरता र शुभताको संकेत मानिन्छ। विवाहित महिलाहरू श्रीमानको दीर्घायुको कामना गर्दै श्रावण सोमबारको व्रत बस्छन्, अविवाहित युवतीहरू सुयोग्य वरको कामनासहित हरिया चुरा, मेहेन्दी लगाउँछन् र एक महिनासम्म भगवान शिवको व्रत बस्ने प्रचलन छ। तर, मेरा लागि यी चुरा र श्रावणसँगको सम्बन्ध अलिक फरक छ, कारण हजुरबुवासँग जोडिएको प्रेम।

बालापनको हरियो सम्झना 
श्रावण लाग्नेबित्तिकै हाम्रो घरको वातावरण नै बेग्लै हुन्थ्यो। हजुरआमा सोमबारको व्रतको तयारीमा व्यस्त रहनुहुन्थ्यो । घरमा चोखो–नितो, पूजापाठ र गन्धक बत्तीको सुवासले सुगन्धित हुन्थ्यो ।  म भने आँगनको डिलमा बसेर पानीका थोपाहरूसँग खेल्थेँ।

त्यही बेला काँधमा बाँसको ढक्की बोकेर एउटी दिदी आउने गर्थिन् —चुरा... पोते.... मेहेन्दी....। 

गाउँको शान्त वातावरणमा टाढैबाट हाम्रा कानमा पर्ने त्यो आवाज सुन्नासाथ मेरो मन उत्साहित हुन्थ्यो। हजुरबुवा घरमै घाम ताप्दै पत्रिका पढिरहनुहुन्थ्यो । उहाँको दैनिकीमा पत्रिका पढ्ने सँगै घडी, चस्मा र एयरफोन कहिल्यै टुट्दैन थियो । कान अलिक कम सुन्नुहुन्थ्यो हजुरबुवा तर चुरा वालीको आवाज उहाँको कानमा सधैं प्रस्ट परिहाल्थ्यो । 

त्यो आवाज कानमा पर्नासाथ उहाँ हल्का मुस्कानसहित मलाई भन्नुहुन्थ्यो ‘ए नातिनी, बाहिर चुरा वाली आकी छे, हिँड् तँलाई पनि किनिदिन्छु श्रावणको चुरा।’

चुरामा मिसिएको माया
हजुरबुवाको त्यो बोलाइमा कस्तो जादु हुन्थ्यो, म चङ्गा जस्तै उड्दै उहाँको पछिपछि दौडिन्थेँ। चुरावालीले आँगनमा आएर ढक्की खोल्दै गर्दा लाग्थ्यो, मेरो अगाडि कुनै खजानाको ढोका खोलिएको छ। रङ्गीबिरङ्गी चुराहरू रातो, नीलो, पहेँलो—कयौँ रङका चुराहरू मेरा आखा अघि टलक्क चम्किन्थे। 
कयौँ रङहरूमध्ये हजुरबुवाको मन सधैं गाढा हरियोतिरै जान्थ्यो। उहाँ चुरा छान्नुहुन्थ्यो मेरो र हजुरआमाको लागि अनि चुरावाली दिदीले मेरो हातमा लगाइदिनुहुन्थ्यो। हजुरबुवा त्यही छेउमा बसेर, त्यो दृश्य हेरेर मन्द मन्द मुस्कुराउनुहुन्थ्यो। 

जब चुरा लगाइसकेर म उहाँतिर हेर्थे  उहाँ मेरो शिरमा हात राख्दै भन्नुहुन्थ्यो, ‘नानी यी चुरा जस्तै तेरो जीवन पनि सधैं हरियालीले भरिएको होस्, दुःखले छुन नपाओस्।’ 

त्यो क्षणको मिठास, चुराको खच्याक–खुचुक आवाज, हजुरबुवाको आशिष र त्यो न्यानो मुस्कान—आज पनि मनको कुनामा अमिट छन्।

आजको श्रावण, बिना हजुरबुवा
समयले सबै कुरो विस्तारै परिवर्तन गरिरह्यो । हजुरबुवाको सानी नातिनी म पनि हुर्किए ... ।  यो यात्रामा बाल्यअवस्थामा विताएको ती पल र हजुरबुवाले भरिदिएको त्यो माया अझै उस्तै गाढा छ। 

आज म संसारको जुनसुकै महँगो पसलबाट चुरा किन्न सक्छु, तर त्यो ढक्कीवालीले ल्याउने चुरालाई हजुरबुवाको हातले अब छान्न सक्दैनन् । उहाँको प्रेमले भरिएको चुरा—त्यसको मूल्यसँग कुनै पनि कुराको तुलना हुन सक्दैन।

उहाँको माया जस्तै गहिरो र न्यानो प्रेम आजसम्म मेरो जीवनमा कसैले दिन सकेन।
आज जब म एक्लै श्रावणमा हरिया चुरा लगाउँछु, मेरा हात काँप्छ ।  हरेक चुराको आवाजसँगै कानमा गुञ्जिन्छ, ‘ए नातिनी ....।’ आँखामा आँसु आउँछ, हृदय भक्कानिन्छ, तर त्यो सम्झनाले एकछिनलाई भए पनि म फेरि सानी नातिनी बन्छु—जो चुरा लगाउँदै हजुरबुवाको काखमा खुशी हुँदै हाँसिरहेकी हुन्छु।

सम्झनाको हरियो रङ
हो, हजुरबुवाले लगाइदिनुभएको ती चुरा बाल्यकालमै फुट्थे तर उहाँको माया, आशिष र सम्झनाको हरियो रङ मेरो आत्मामा ताजै गरी गहिरोसँग अंकित छ। हरेक श्रावण, यी हरिया चुराहरूले मलाई फेरि एकपल्ट उहाँसँग बाल्यकालमा विताएको समयमा पुर्याइदिन्छ । यद्यपि यादकै गल्लीमा भए पनि मलाई आनन्द लाग्छन् .. । 

हजुरको धेरै सम्झना आउँछ बाबा
हरेक श्रावण जब आउँछ, म फेरि हजुरकै एउटी सानी नातिनी बन्छु। हातमा हरिया चुरा लगाउँछु, तर आँखामा आँसु मिसिन्छ। मुटुमा भने फेरि गुञ्जिन्छ तपाईंकै स्वर ‘ए नातिनी, हिँड् चुरा किन्न जाने...।’ र म फेरि उहाँको पछिपछि दौडिन्छु वर्तमानमा ऐसास बोकेर । त्यो बालापनको रंगले मेरो मनमा सधै श्रावणप्रति श्रद्दा र यादहरुलाई ताजा गरिदिन्छन् । शायद यही होला साँचो मायाको रङ.. ।