आइतबार ०१ भदौ, २०८२
Sunday, August 17, 2025

एनआरएनए इजरायल अध्यक्षमा अली महम्मद मियाँको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलको अध्यक्षका लागि अली महम्मद मियाँले उम्मेदवारी घोषणा गरेका छन् । सन् २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि वर्तमान महासचिव समेत रहेका मियाँले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले इजरायलमा रहेका नेपाली समुदायको हकहितमा काम गर्ने प्रतिबद्धता सहित उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै मियाँले आफू पदका लागिमात्र नभई इजरायलमा रहेका नेपालीको सुखदुःख, पीडा र समस्या समन्वय गरी समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘संस्थाको विधान एवं लक्ष्य अनुसार, इमानदारीता, नैतिकता, एकता, पारदर्शिता, रूपान्तरण, सक्षम र सबल नेतृत्वको पहिचानमा म योग्य छु,’ उनले आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।

विगतमा संघको सचिव र महासचिवको भूमिका निर्वाह गरिसकेका मियाँले आफ्नो अनुभवलाई संस्था सुधारमा लगाउने वाचा गरेका छन् ।

‘मेरो कार्य अवधिमा संस्थाभित्र रहेका हरेक किसिमका विकृति, विसंगति र अनिमियता विरुद्ध अबको दिनमा नेतृत्वमा आएर सुधार्ने वाचा र कसम खाएको छु,’ उनले भने ।

मियाँले नेपाली दूतावास। इजरायलमा रहेका सम्पूर्ण संघसंस्था एवं नेपाली समुदायसँग सहकार्य र सम्मानपूर्ण व्यवहारलाई आफ्नो दायित्व सम्झने बताएका छन् । साथै, युरोप क्षेत्र एवं अन्तर्राष्ट्रिय समितिसँग सकारात्मक सम्बन्ध स्थापित गर्दै ‘अवलोकन भ्रमण’ तथा नेपालीको हितमा रचनात्मक अनलाइन कार्यक्रमहरू सञ्चालन गर्ने योजना अघि सारेका छन् ।

उनले जीटुजी, कृषि र होम केयर गिभर लगायत सबै नेपाली कामदारको पेसागत तथा कानुनी समस्या समाधानका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसका साथै समय–समयमा अवलोकन भ्रमण, खेलकुद, कला तथा सांस्कृतिक कार्यक्रम र चाडपर्व विशेष कार्यक्रम आयोजना गर्ने उनले बताए ।

उनी २०१९–२०२१ र २०२१–२०२३ मा सचिव तथा २०२३–२०२५ मा महासचिवका रूपमा काम गरेका थिए । अग्रजहरूको राम्रो कामलाई सम्मान गर्दै, उनीहरूको साथ, सुझाव र विश्वास लिएर एनआरएनए–इजरायललाई अझ प्रभावकारी, उत्तरदायी र सबै नेपालीको साझा संस्था बनाउने दृढ संकल्पसाथ अगाडि बढेको उनले बताए ।