कागती बिक्री नहुँदा किसान समस्यामा

घोराही (दाङ)- यहाँका किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए । उनले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आएका छन् ।
भारतीय कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।” पछिल्लो समय एक क्विन्टल कागती बारीमै कुहिएर खेर गएको उनको भनाइ छ । उमेरले २५ वर्ष पुगेका किसान अधिकारीको बारीमा एक सय ५० कागतीका बोट छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा बिक्रीमा समस्या भनेर राखेपछि काठमाडौँबाट माग आएकाले चार सय ९७ केजी उधारोमा पठाएको उनको भनाइ छ । रु ८० का दरले पठाएको उनी बताउँछन् ।
आफ्नै गाउँठाउँमा व्यावसायिक रूपमा कागतीखेती गर्दै आएका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो व्यवसायमा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।”
उनले एक बिघा जग्गामा व्यावसायिक रूपमा कागतीको खेती गर्दै आएका छन् । किसान अधिकारीले यसबाट वार्षिक रूपमा रु दुई लाख ५० हजार बढी आम्दानी गर्दै आएका छन् । उनले कागतीसँगै आँप, लिच्ची, अमलालगायतको पनि खेती गर्दै आएक छन् ।
सुरुमा उनका तीन दाजुभाइ मिलेर कागतीखेती गरेका थिए । दाजु विक्रम अधिकारी भने हाल वैदेशिक रोजगारमा छन् भने भाइ जीवनले उनलाई सहयोग गर्दै आएका छन् । यसका कारण व्यावसायिक रूपमा कागतीखेतीलाई निरन्तरता दिन केही सहज भएको उनको भनाइ छ ।

पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध

शीतभण्डार प्रयोगविहीन

२२ लाखभन्दा बढी नगद र लागूऔषधसहित युवक पक्राउ

माछा पोखरीमा डुबेर एकको मृत्यु

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

प्रतिक्रिया