बुधबार २८ साउन, २०८२
Wednesday, August 13, 2025

भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी

चितवन- नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् ।  भरतपुर आँखा अस्पताल ठोरीका इञ्चार्ज अङ्कीत श्रीवास्तवका अनुसार गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा १६ हजार २८४ जनाले आँखाको उपचार गरेकामध्ये १४ हजार १८ जना भारतीय नागरिक थिए । गत वर्ष ८३९ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा १५ हजार जनाले सेवा लिएका थिए । 

 अस्पतालमा विशेष गरी भारतको पश्चिमी चम्पारणबाट बिरामी आउने गरेको उनले जानकारी दिए । सो क्षेत्रका बिरामीले नजिक, सहज र सस्तो उपचार ठोरीमा पाउने गरेका छन् । भरतपुर आँखा अस्पताल सञ्चालक समितिका कार्यवहाक अध्यक्ष तेजेन्द्र खड्काले बहिरङ्ग (ओपिडी) सेवा लिनेले रु ८० को टिकटमा परीक्षण गर्न पाएको बताए ।

 भारतीय क्षेत्रका बिरामी अधिकांश मोतियाबिन्दु र आँखाको नानीको चोटपटकको समस्या लिएर आउने गर्दछन् । ती बिरामीको आवश्यकताअनुसार शल्यक्रिया गर्नुपर्दा कम शुल्कमा उच्चस्तरको उपचार हुने भएकाले भारतीय बिरामीसमेत बढ्दो क्रममा रहेको उनको भनाइ छ । भारतीय क्षेत्रका ती बिरामीले नेपालको ठोरीमा उपचार नपाउँदा गोरखपुर पुग्नुपर्ने हुन्छ । भरतपुर आँखा अस्पतालले दाताहरुकोसमेत सहयोग पाउने हुँदा कम शुल्कमा उपचार सेवा दिन सकेको खड्काले बताए । 

 कतिपय बिरामीलाई थप सेवा दिनुपर्दा भरतपुर आँखा अस्पताल ल्याएर उपचार गर्ने गरिएको छ । कतिपय समयमा भरतपुरबाट विभिन्न विषयका विज्ञ चिकित्सक गएर ठोरीमा नै पनि उपचार गर्ने गरिएको छ । भरतपुर आँखा अस्पतालले विभिन्न जिल्लाका २५ ठाउँबाट सेवा दिँदै आएको छ ।