मंगलबार २७ साउन, २०८२
Tuesday, August 12, 2025

आत्मनिर्भर र समृद्ध प्रदेश निर्माण गर्नु प्रदेश सरकारको परिकल्पना: मुख्यमन्त्री बानियाँ

बागमती- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समावेशी, दिगो, आत्मनिर्भर र समृद्ध प्रदेश निर्माण गर्नु वर्तमान सरकारको परिकल्पना रहेको बताएका छन् । 

प्रदेशसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले समावेशी, दिगो, आत्मनिर्भर र समृद्ध प्रदेश निर्माणका लागि सहमति, सहकार्य, एकता र आपसी सद्भावका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । 

सामाजिक अराजकता र नकारात्मक सोचलाई सकारात्मक सोचमा परिवर्तन गर्दै भ्रष्टाचारमुक्त, सुशासनयुक्त, पारदर्शी, जवाफदेही सरकार बनाउन प्रयत्नशील रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले उत्पादन र रोजगारी बढाउने कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताए ।  

जनताको प्राथमिकता नै सरकारको प्राथकिकता हुने भन्दै उहाँले जनतालाई हरेक क्षेत्रमा गुणात्मक परिवर्तनको अनुभूति गराउने गरी सरकारले काम गर्ने बताए । 

मुख्यमन्त्री बानियाँले सरकार भाषणबाट होइन कामबाट प्रमाणित गर्ने बताउँदै चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटसम्बन्धी सङ्कल्प प्रस्तावलाई सरकारले आत्मसात् गरी अघि बढ्ने बताउनुभयो ।

“प्रदेशको साक्षरतादर ९० प्रतिशतमा पु¥याउने र निरपेक्ष गरिबी सात प्रतिशतमा झार्ने प्रदेश सरकारको लक्ष्य रहेको छ । उद्यमशीलतामार्फत विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमा रोजगारी सिर्जना गर्ने र जनताको ढोका ढोकामा सेवा दिने सरकारको प्रयत्न रहने छ”, उनले भने । 

आज दिउँसो ५ बजेदेखि सुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले पेस गरेको विश्वासको मत प्राप्त गर्ने प्रस्तावमाथि विभिन्न दलका संसदीय दलका नेताहरुले धारणा राखिरहेका छन् ।  

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहनुभएका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि उनले आज विश्वासको मत लिन लागेका हुन् । 

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधार ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन् ।