बुधबार २८ साउन, २०८२
Wednesday, August 13, 2025

भारतमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७० पुग्ने सम्भावना: अधिकारीहरू

नयाँदिल्ली- गत मङ्गलबार भारतमा आएको बाढीको कारण चार जनाको मृत्यु भएको तथा कम्तीमा ६८ जना एक हप्तादेखि बेपत्ता भएको भारतीय अधिकारीहरूले बताएका छन् । 

निरन्तरको खोजी कार्य पश्चात पनि केही निकास नआएपछि वेपत्ताहरू सबैको मृत्यु भएको आशङ्का गर्दै अगस्ट ५ को प्रकोपको कारण मृत्यु हनेको सङ्ख्या ७० जनाभन्दा बढी पुग्ने अधिकारीहरुले बताएका छन् । 

घटनाबारे सार्वजनिक गरिएको भिडियोहरूमा माटो मिसिएको पानीले ठूलाठूला अपार्टमेन्टहरू बगाउँदै लगेको डरलाग्दो दृश्य देखाइएको छ । 

विपद् व्यवस्थापनका अधिकारीहरूले मङ्गलबार पनि उत्तराखण्ड स्थित धरालीको भग्नावशेषमा शवहरू खोजिरहेको जनाइएको छ ।  

राष्ट्रिय विपद् व्यवस्थापनका अधिकारी गम्भीर सिंह चौहानले तालिम प्राप्त कुकुरहरूले शव भएको सङ्केत गर्ने धेरै ठाउँहरू पहिचान गरेको तर उत्खनन गर्दा पानी बाहिर निस्किएकाले उद्धरामा कठिन भएको बताएका छन् । उनले खोजीमा ग्राउन्ड पेनिट्रेटिङ राडार पनि प्रयोग गरिरहेको बताए । 

स्थानीय सरकारले अहिले ४४ जना भारतीय र २२ जना नेपालीसहित ६८ जनालाई बेपत्ताको सूचीमा राखेको छ । सूचीमा नौ जना सैनिक छन् ।

विज्ञहरूले खराब योजनाबद्ध विकाससँगै जलवायु परिवर्तनले प्राकृतिक जोखिम बढाइरहेको बताएका छन् । हालसम्म बाढीको कुनै आधिकारिक कारण पत्ता लागेको  छैन तर वैज्ञानिकहरूले भारी वर्षाले द्रुत गतिमा पग्लिरहेको हिमनदीबाट बाढी आएको हुनसक्ने बताएका छन् । (एएफपी)