बुधबार २८ साउन, २०८२
Wednesday, August 13, 2025

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

काठमाडौँ- पूर्वसांसद तथा अभियन्ता ऋषिकेश तिवारीको ‘गाउँ घरलाई सम्झेर आऊ आजै’ बोलको गीत सार्वजनिक भएको छ । सामाजिक उद्यमशीलताका अभियन्ता तिवारीको परिकल्पना तथा शब्द रचनामा रहेको गीत बुधबार सार्वजनिक भएको हो । तिवारीलाई शब्द संयोजनमा धिरज नाथले साथ दिएका छन् ।

अहिले हरेक दिन नेपालका युवायुवतीहरु विदेशिने क्रम जारी रहेको समयमा तिवारीले गाउँ घरलाई सम्झेर आऊ आजै बोलको गीत सार्वजनिक गरेर गीतमार्फत केही आशा जगाउन खोजेका हुन् । गीतमा अञ्जान बाबु र सुस्मिता क्षेत्रीको स्वर रहेको छ । गीतमा अञ्जानकै संगीत रहेको छ ।

उद्यमशीलताबाट सामाजिक जनजीवनलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने जनसचेतनामूलक उद्यमशीलताको आभास दिने गीतको वाद्यवादनमा खड्ग बुढा, मनिष गन्धर्व, रत्न विक, सवीर कार्की, समिर जैरुको भूमिका रहेको छ । यस्तै समूह गायनतर्फ आरती विष्ट र सीता केसी रहेका छन् भने थेगो प्रह्लाद सुवेदीको छ । 

संगीत संयोजनमा सबिर कार्की, ध्वनी सम्पादनमा गोविन्द सोनी, दृश्य सम्पादनमा ठाकुर सुवेदी रहेका छन् । यमन पौड्यालको निर्देशनमा तयार भएको गीत हुरी स्टुडियो कुपण्डोलमा रेकर्ड भएको हो । यो गीत पालिका अनलाइन डटकम समाचार पोर्टल तथा पालिका अनलाइन युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।  

पर्वत सामुदायिक विकास संस्थाले गीतमार्फत प्रस्तुत गरिएको सामाजिक उद्यमशीलताको नमुनाका रुपमा सामुदायिक खाद्य प्रशोधन उद्योग सञ्चालन गरी उद्देश्यलाई सार्थकता दिएको सञ्चालक थानेश्वर भुसालको भनाइ छ । 
अभियन्ता तिवारी ४ दशक अघिदेखि राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

तिवारीले सामाजिक उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पुरस्कार समेत प्राप्त गरिसकेका छन् । गीतमा कृषिलाई उद्योग र किसानलाई उद्यमी बनाइ गाउँमा बस्ने, कमाउने र रमाउने वातावरण कसरी जस्ता महत्वपूर्ण सूत्रहरुको बारेमा जानकारी समेत दिन खोजिएको छ । तिवारीले लेखेको ‘सामाजिक उद्यमशीलता’ नामक पुस्तकमा गाउँघरका साथै मुलुक कसरी समृद्धि बन्न सक्छ भन्ने विषयमा केन्द्रित रहेको छ ।